अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष ०८३/८४ को बजेट कार्यान्वयन गर्न ३७ बुँदे मार्गदर्शन जारी गर्दै खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्न सबै मन्त्रालय र निकायलाई आग्रह गरेको छ । अर्थसचिव डा. घनश्याम उपाध्यायले सोमबार बजेट कार्यान्वयनको मार्गदर्शन पठाउँदै स्रोतको अधिकतम उपायोग गर्दै खर्चमा मितव्ययिता, दक्षता र प्रभावकारिता कायम गर्न आग्रह गरेका हुन् । अर्थ मन्त्रालयले ठुला पूर्वाधार एवं आयोजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गरी पुँजीगत खर्चमा उल्लेखनीय सुधारको प्रयास गर्न आग्रह गरेको छ ।
मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रमका लागि विनियोजित बजेट फागुन मसान्तसम्म खर्च नभए १५ चैतभित्र बजेट समर्पण गर्नसमेत आग्रह गरेको छ । ‘वार्षिक स्वीकृत कार्यक्रमका लागि विनियोजित बजेट फागुन मसान्तसम्म खर्च नभएमा वा बाँकी अवधिमा खर्च हुन नसक्ने भएमा त्यस्तो रकम संवत् ०८३ चैत १५ गतेभित्र अर्थ मन्त्रालयमा समर्पण गर्नुहुनेछ,’ मार्गदर्शनमा उल्लेख छ । त्यस्तै, उस्तै आयोजना तथा कार्यक्रम बजेट सूचना प्रणालीमा दोहोरो प्रविष्ट भएको देखिएमा एउटा मात्रै कार्यान्वयन गरी अन्य रोक्का राखी बजेट समर्पण गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ ।
योजनासहित बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शतप्रतिशत पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन दिएका छन् । सोमबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष ०८३/८४ को बजेट कार्यान्वयन योजनासम्बन्धी सबै मन्त्रालयका सचिवहरू सम्मिलित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । कार्यान्वयनमा आएको नयाँ बजेट पाँच वर्षको सरकारको आर्थिक मार्गचित्रअन्तर्गतको पहिलो किस्ताको सुरुवात भएको भन्दै उनले विगतको पुँजीगत खर्चको निराशा र राजस्व संकलनका कमजोरी सच्याउन सचिवहरूलाई निर्देशन दिएका हुन् । ‘गएको आर्थिक वर्ष पुँजीगत खर्च निराशाजनक रह्यो । जम्मा ४९ प्रतिशत हाराहारी मात्रै । राजस्व पनि साढे १२ खर्ब हाराहारीभन्दा उठेन,’ उनले भने ।