बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते

सोमबार, ४ साउन, २०८३
डिजिटल संस्करण

बाजुराको हिमाली गाउँपालिका–५ अन्तर्गत क्युडीदेखि कोटी गाउँतर्फ जाने सडकखण्डमा सोमबार जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

सु.प्र.प्र. ०१–००१ ज १८७८ नम्बरको जिप माथिल्लो घुम्तीबाट अनियन्त्रित भई १० मिटर तल रहेको अर्को घुम्तीमा खसेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा चालक बाजुराको हिमाली गाउँपालिका- २, नातिखोलाका २५ वर्षीय जनवीर बुढा, ४० वर्षीय धर्मलाल बुढा र ३१ वर्षीया मिजरा बुढा छन्। यसैगरी, हुम्लाको ताजाकोट गाउँपालिका–५ का ४० वर्षीय अम्मरसिंह बुढा, २० वर्षीया अस्मिता थापा, २८ वर्षीय जंगसिंह बुढा, २० वर्षीय गोरख रोकाया, २७ वर्षीय लोकेन्द्र बुढा र ९ वर्षीया सुस्मा बुढा पनि घाइते भएका छन्।

घाइतेमध्ये ४ जनाको अवस्था मध्यम र ५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि अस्पताल पठाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नरेश शाहीले जानकारी दिए।

सुझावित समाचार