वातावरण र जैविक विविधताका क्षेत्रमा दुई दशक बिताएका छन्, संरक्षणकर्मी तिलक ढकालले । उनी विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ) मा कार्यरत थिए । त्यस दौरान उनी नेपालका थुप्रै गाउँ पुगे । गाउँघरका वन तथा जैविक विविधताको विषयमा खोज–अनुसन्धान गरे । पछिल्लो दुई दशकयता उनी गाउँका रैथाने बाली संरक्षण अभियानमा पनि सक्रिय छन् । रैथाने बालीको पहिचान गर्ने, उत्पादन, विस्तार तथा सम्भावनाका लागि अध्ययन र परामर्श दिन गाउँगाउँमा पुगिरहने ढकालसँग पवन बराइलीले कुराकानी गरेका छन् :
गाउँमा के छ ?
गाउँ र सहरबिचको भिन्नता केवल सडक, भवन वा पूर्वाधारको होइन, हाम्रो सोच र विकासको परिभाषासँग जोडिएको विषय हो । हामीले सहरलाई चौँडा सडक, पक्की घर र बिजुलीको आधारमा परिभाषित गर्यौँ । त्यसैको विपरीत गाउँलाई अविकसित भनेर हेर्न थाल्यौँ । तर, गाउँ भनेको केवल एउटा भूगोल वा नाम मात्र होइन । त्यो आफ्नै कला, संस्कृति, मूल्य–मान्यता, जीवनशैली र सभ्यताको परिचय हो ।
गाउँमा सामूहिकता थियो । मानिसहरू मिलेर बाँचेका थिए । एक–अर्काको आवश्यकता पूरा गर्न साटासाटको संस्कृति थियो । कसैसँग कागुनोको बिउ हुन्थ्यो, कसैसँग फर्सीको । आवश्यक पर्दा किनबेचभन्दा पनि आदान–प्रदान गर्ने चलन हुन्थ्यो । पैसा कम चल्थ्यो, श्रमको मूल्य बढी थियो । मेला–पर्मको चलन थियो । मेसिन नभएकाले काम श्रमबाटै हुन्थ्यो, त्यो श्रमले मानिसलाई एकआपसमा जोड्थ्यो । तर, यो चलन हराउँदै गयो ।
हामीले टुकी बालेर पनि उज्यालो पाएका थियौँ, बिजुलीले पनि उज्यालो दिन्छ । तर, बिजुलीलाई मात्र विकास मानियो र टुकीलाई अविकासको प्रतीक बनाइयो । त्यहीँबाट समस्या सुरु भयो । खरको छानोभन्दा जस्ताको छानो उन्नत ठहरियो । माटोको घरभन्दा सिमेन्टको घर आधुनिक भनियो । विकासको भाष्य निर्माण गर्दा हामीले पूर्वाधारलाई मात्रै केन्द्रमा राख्यौँ ।
माटोले लिपेको घर गर्मीमा शीतल र जाडोमा न्यानो हुन्थ्यो । त्यस्ता घर दशकौँसम्म टिक्थे । तर, विकासको नयाँ परिभाषाले तिनलाई पछाडि धकेल्यो । परिणामस्वरूप सबैको चाहना पक्की घर, सिमेन्ट र सडकतिर केन्द्रित हुन पुग्यो । शिक्षा, सूचना र सामाजिक सोचले पनि यही धारणा बलियो बनायो ।
यो विचारले सबैभन्दा ठुलो क्षति हाम्रो मौलिकतामा पुग्यो । हामीले खरको छानो, हलो, जाँतो, ढिकी, टुकी, पानी घट्ट, मानापाथीलाई विकासको परिभाषाभित्र राखेनौँ । हिजो घट्ट केवल अन्न पिस्ने साधन थिएन, त्यो स्थानीय विज्ञान, सिप र स्रोत–साधनको प्रयोगबाट बनेको मौलिक प्रविधि थियो । त्यसलाई बनाउन आवश्यक ज्ञान पनि हामीसँग थियो, स्रोत पनि हामीसँगै थियो । तर, विकासका नाममा त्यस्ता प्रविधि ओझेलमा परे । बजारमुखी सोच बढ्दै जाँदा हाम्रो सिप, कला र प्रविधि पनि हराउँदै गए ।
विकासले गाउँलाई खोट मात्र लगाएन, चोट पनि पुर्यायो । किनकि, विकासको एउटै परिभाषा बनाइयो र त्यसले हाम्रो बुझाइ नै परिवर्तन गरिदियो । परिणामस्वरूप हामीले आफ्नै मौलिक सम्पत्ति, संस्कृति, कला र ज्ञान प्रणालीको मूल्य बुझ्न छाड्यौँ । गाउँका परम्परागत सिप र प्रविधिलाई महत्व दिन छाड्यौँ ।
गाउँ गरिब होइन, हाम्रो दृष्टिकोण गरिब
गाउँ र सहरको बहस भूगोलको भन्दा पनि सोचको हो । गाउँसँग सिप थियो । ती सिपभित्र रोजगारी थियो, समृद्धिको सम्भावना थियो । गाउँका मानिस केवल उत्पादन गर्ने होइन, सिर्जना पनि गर्थे । तर, हामीले ती सिपलाई आधुनिक विकासको परिभाषाभित्र राखेनौँ । त्यसपछि ती ज्ञान र सिप हराउँदै गए ।
हाम्रो जीवनशैली पनि प्रकृतिसँग जोडिएको थियो । गोबरले घर लिप्ने चलन थियो । गोबरले घर सफा मात्रै बनाउँदैनथ्यो, त्यसमा प्राकृतिक रूपमा कीटाणु नियन्त्रण गर्ने गुण पनि थियो । तर, यस्ता अभ्यासलाई हामीले पिछडिएको भनेर छोड्यौँ । बिस्तारै हाम्रो जीवनपद्धति बदलिँदै गयो ।
संसार साँघुरिँदै गयो, सूचना र प्रविधिले विश्वलाई एउटा गाउँमा परिणत गरिदियो । शिक्षा प्रणाली, सञ्चार माध्यम र बाह्य प्रभावले हाम्रो सोच बदल्दै लग्यो । हामीले आफ्ना पुराना अभ्यास सुधारेर अगाडि बढाउन सक्थ्यौँ, तर त्याग्दै आयौँ । घट्टले मिलले जति उत्पादन गर्न सक्दैन होला । डोको–डालोले आजका सबै आवश्यकता पूरा गर्न नसक्ला । तर, त्यसको अर्थ ती बेकार हुन् भन्ने होइन । प्रश्न उपयोगिताको मात्रै होइन, पहिचानको पनि हो । हामीले आफ्ना मौलिक साधन र प्रविधिलाई कसरी नयाँ समयसँग जोड्ने भन्ने सोच्नुपर्छ ।
कतिपय गाउँ अझै बाँचेका छन् । कतिपय गाउँ संघर्ष गरिरहेका छन् । गाउँ भनेको एउटा भावना हो, समुदायको आत्मा हो । तर, त्यो आत्मालाई कमजोर बनाउने काममा हाम्रो शिक्षा प्रणालीले पनि भूमिका खेलेको छ । सानैदेखि हामीलाई सहरको चित्र देखाइयो–चौडा सडक, अग्ला भवन, बिजुलीका पोल । गाउँको चित्र भने साँघुरो बाटो र साना घर मात्रै देखाइयो । आज गाउँमा पनि सडक, बिजुली, मोबाइल, विद्यालय पुगेका छन् । भौतिक हिसाबले गाउँ धेरै परिवर्तन भइसकेको छ । तर, परिवर्तनको त्यो यात्रामा हामीले आफ्नोपन भने गुमाउँदै गयौँ ।
म गाउँलाई गरिब मान्दिनँ । गाउँ सहरभन्दा धनी छ । सहरलाई कसले पालिरहेको छ ? गाउँले नै हो । गाउँको अन्न, तरकारी, फलफूल, दूध र श्रमले सहर चलिरहेको छ । उत्पादन गर्ने गाउँलाई गरिब र उपभोग गर्ने सहरलाई धनी भन्ने दृष्टिकोण नै गलत छ । अझै पनि गाउँमा प्रचुर सम्भावना छन् । मेला–पर्मको संस्कृति बाँकी छ । कला र परम्परामा आधारित जीवनशैली बाँकी छ । गाउँमा अझै पनि बिउ बैंक राख्ने चलन थियो/छ । बिउ संरक्षणमा गाउँ आत्मनिर्भर थियौँ ।
गाउँमा एक्लै बाँच्ने होइन, मिलेर बाँच्ने चलन थियो । विवाहमा सबै गाउँ जुट्थ्यो । मलामी जाँदा सबै सँगै जान्थे । पूजाआजा र सामाजिक काममा सबैको सहभागिता हुन्थ्यो । त्यसले एकता, विश्वास र मानवताको भावना बलियो बनाएको थियो । आज पनि त्यो भावना पूर्ण रूपमा मरेको छैन । संघर्षरत छ, केही गाउँमा बाँचेको छ ।
डोल्पामा बिताएका वर्ष सम्झनामा आउँछन् । करिब तीन वर्ष अपर डोल्पाका विभिन्न गाउँमा बस्ने अवसर पाएँ । त्यहाँ एउटा अद्भूत विश्वासको संस्कृति देखेँ । मानिसले बाटोमा आफ्ना सामान ढुंगाले थिचेर राख्थे । त्यो कसैले छुँदैनथ्यो । त्यो कसैको हो भन्ने थाहा भएपछि त्यसलाई सुरक्षित राख्ने सामाजिक चेतना थियो । आज पनि धेरै ठाउँमा त्यो संस्कार जीवित छ । डोल्पामा शिक्षा पुगेको छ । मानिस पढेका छन्, राम्रो जागिरमा छन् । तर, त्यहाँका केही मौलिक अभ्यास अझै बाँचेका छन् । ओखलीको प्रयोग छ, घट्टको प्रयोग छ । उनीहरूले ती परम्परागत प्रविधिलाई पर्यटनसँग जोड्न थालेका छन् ।
समुदायको पहिचान नै पुँजी
घट्ट, ढिकी, ओखली, नाम्लो, डोको मौलिक संस्कृति मात्र होइनन्, ती हाम्रा पहिचान हुन् । विकास भनेको तिनलाई भत्काउने होइन, नयाँ सम्भावनासँग जोड्ने प्रक्रिया हो । यदि हामीले गाउँको आत्मा, मौलिकता र सामूहिकताको भावना जोगाउँदै पर्यटन, अर्थतन्त्र र आधुनिक अवसरसँग जोड्न सक्यौँ भने गाउँको भविष्य अझ उज्यालो बन्न सक्छ । गाउँको समृद्धि त्यहीँ लुकेको छ ।
गाउँ र सहरको बहस विकासको भन्दा पनि मौलिकता र पहिचानको बहस हो । हामीले विकासलाई सिमेन्ट, सडक र पक्की घरमा सीमित गरिदियौँ । त्यसका कारण हाम्रा मौलिक सिप, प्रविधि, संस्कृति र जीवनशैली क्रमशः ओझेलमा परे । तर, अहिले संसारले फेरि त्यही मौलिकतालाई खोज्न थालेको छ । सहरमा हुर्किएको वा घट्ट कहिल्यै नदेखेको मान्छे गाउँमा गएर घट्ट घुमिरहेको देख्दा अचम्मित हुन्छ । उसका लागि त्यो एउटा अनौठो अनुभव हुन्छ । हामीलाई सामान्य लाग्ने वस्तु र प्रविधि अरूका लागि आकर्षणको विषय बन्न सक्छन् । त्यसैले, हाम्रा मौलिक सिपमा आधारित वस्तु, प्रविधि र संस्कृतिलाई संरक्षण मात्र होइन, पर्यटनसँग पनि जोड्नुपर्छ ।
जब पर्यटक परम्परागत घरमा बस्छन् र स्थानीय परिकार खान्छन्, त्यसले एउटा सन्देश दिन्छ– हामीले सामान्य ठानेका कुरा वास्तवमा मूल्यवान रहेछन् । त्यहाँबाट आम्दानी पनि हुँदो रहेछ । त्यसैले विकासको मापन केवल सिमेन्ट र फलामले होइन, कुनै वस्तुको गुण, उपयोगिता र त्यसले दिने सेवाबाट पनि हुनुपर्छ ।
ढुंगामाटोका घरलाई हामीले अविकासको प्रतीक बनायौँ । तर, गुणस्तरको हिसाबले हेर्दा ती घर धेरै अवस्थामा आधुनिक घरभन्दा उपयुक्त थिए । गर्मीमा शीतल र जाडोमा न्यानो । कम आय भएका मानिसका लागि सहज र वातावरणमैत्री । तर, विकासको नयाँ भाष्यले सबै विस्थापित गर्यो । माटो, काठ र प्रकृतिसँग जोडिएको हाम्रो जीवन बिस्तारै ती सबैबाट टाढिँदै गयो । अर्को महत्वपूर्ण कुरा पहिचानको हो । पहिले टाढैबाट हेर्दा नै कुन बस्ती थारूको हो, कुन गुरुङको हो, कुन तामाङको, कुन राईको हो भनेर छुट्याउन सकिन्थ्यो । घरको बनावट, बस्तीको स्वरूप र जीवनशैलीले समुदायको परिचय दिन्थ्यो । तर, अहिले एउटै ढाँचाका ‘बक्स’ शैलीका घर बन्न थाले । यसले समुदायको पहिचान पनि मेटिँदै गयो ।
पहिचान हराउनु भनेको केवल वास्तुकला हराउनु होइन, एउटा सभ्यता हराउनु हो । नेपाली मौलिकताको आधार कमजोर हुनु हो । त्यसैले, मौलिकता संरक्षणको महत्व बुझाइनुपर्छ । यसको राम्रो उदाहरण भक्तपुर हो । सहर भएर पनि भक्तपुरले आफ्नो परम्परागत स्वरूप धेरै हदसम्म जोगाएको छ । त्यसैले, देश–विदेशका पर्यटक त्यहाँ पुग्छन् । विदेशीहरू सिमेन्टका अग्ला भवन हेर्न होइन, इतिहास र संस्कृतिको जीवन्त रूप हेर्न जान्छन् ।
मैले केही समयअघि कास्कीको ताङटिङ गाउँ घुम्ने अवसर पाएको थिएँ । त्यहाँ सडक छ, बिजुली छ, खानेपानी छ, आवश्यक पूर्वाधार सबै छन् । सँगै गाउँलेले आफ्नो मौलिकता पनि जोगाएका छन् । परम्परागत घर, बस्तीको स्वरूप र सांस्कृतिक पहिचान सुरक्षित राखेका छन् । त्यही मौलिकताले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेको छ । मानिसहरू त्यहाँ घर हेर्न जान्छन् । त्यसले मलाई एउटा कुरा सिकायो, पहिचानभित्र पनि समृद्धि लुकेको रहेछ । हामीलाई लाग्छ, ढुंगा–माटोको घर भनेको केवल पुरानो शैली हो । तर त्यो घरभित्र अर्थतन्त्र पनि रहेछ, पर्यटन पनि रहेछ, समुदायको गौरव पनि रहेछ ।
मलाई लाग्छ, गाउँ आफैँमा एउटा खुला संग्रहालय हो, जहाँ संस्कृति, सिप, प्रविधि र इतिहास जीवित अवस्थामा भेटिन्छन् । पूर्वी रुकुमको तकसेरा गाउँमा स्थानीय सरकारले नै मौलिकता संरक्षणलाई नीतिगत रूपमा अघि बढाएको छ । परम्परागत घर भत्काएर जस्तापाताको छाना हाल्न नपाइने व्यवस्था गरिएको छ । पुरानो शैलीमा घर निर्माण गर्न प्रोत्साहनसमेत दिइएको छ ।
समृद्धिको आधार गाउँ
गाउँमा नेपालीपन अझै जीवित छ । घरमा पाहुना पुग्दा ‘बस्नुस्, पानी, चिया पिउनुस्’ भन्ने संस्कार अझै बाँकी छ । आगन्तुकलाई राडी ओछ्याएर बस्न दिने, पानीको गिलास अघि सार्ने, आफ्नै मान्छेझैँ व्यवहार गर्ने परम्परा अझै हराएको छैन । सहरमा बिस्तारै हराउँदै गएको यही आत्मीयता गाउँको सबैभन्दा ठुलो सम्पत्ति हो । मानिसलाई गाउँतिर तान्ने कुरा केवल दृश्य वा प्रकृति होइन, त्यहाँको मन हो । त्यहाँको व्यवहार हो ।
हामीले बुझ्नुपर्ने कुरा के हो भने सबै कुरा प्रतिस्पर्धामा टिक्न सक्दैन । हाम्रो घट्टले आधुनिक मिलसँग प्रतिस्पर्धा गर्न सक्दैन, यो सत्य हो । चिउरा कुट्ने परम्परागत विधिले पनि ठुलो उद्योगसँग प्रतिस्पर्धा गर्न सक्दैन । तर, त्यसको अर्थ ती मूल्यहीन हुन् भन्ने होइन । समस्या ती परम्परागत साधानलाई समयसँग जोड्न नसक्नु हो । हामीले मौलिक साधनलाई अर्थतन्त्रसँग जोड्न सक्यौँ भने त्यसले ठुलो सम्भावनाको ढोका खोल्छ । पर्यटनसँग जोड्न सकिन्छ, स्थानीय उत्पादनसँग जोड्न सकिन्छ, र रोजगारी सिर्जना गर्न सकिन्छ । यही नै समृद्धिको बाटो हो ।
अहिले हाम्रो सबैभन्दा ठुलो समस्या दृष्टिकोण हो । हामीले गाउँलाई गरिब भनेर हेर्ने बानी बसाल्यौँ । तर, गाउँमा गरिबी होइन, सम्भावना छ । गाउँमा माया छ, आत्मीयता छ, र सबैभन्दा ठुलो कुरा गाउँमा आत्मा छ ।
गाउँ जोगाउने कसले ?
कैलालीको भादा गाउँमा २० वर्षअघि पुगेको अनुभव अहिले पनि ताजै छ । त्यो गाउँ चारैतिर जंगलले घेरिएको थियो र अधिकांश बासिन्दा थारू समुदायका थिए । त्यहाँका लामो र परम्परागत घरहरू, माटोले लिपिएका भित्ताहरू, काठका संरचनाहरू, आफ्नै भाषा, कला र जीवनशैलीले मलाई गहिरो प्रभाव पारेको थियो । थारू समुदायमा पहिले एउटै घरमा धेरै पुस्ता बस्ने चलन थियो । ६०–७० जनासम्म एउटै घरमा बस्ने परम्परा रहेछ । घरभित्र सामान राख्ने छुट्टाछुट्टै ठाउँ, माटोका संरचना र जीवनशैलीले उनीहरूको सामूहिक संस्कृतिलाई झल्काउँथ्यो ।
केही समयअघि फेरि त्यहाँ पुग्दा करिब ९० प्रतिशत मौलिकता अझै जोगिएको पाएँ । खेतीपातीमा ट्र्याक्टर भित्रिएका छन्, केही आधुनिकता पनि आएको छ, तर घरको स्वरूप, भाषा, कला र संस्कृति उस्तै छन् । माघीजस्ता पर्व अझै सामूहिक रूपमा मनाइन्छन् । त्यसले देखाउँछ कि विकास र मौलिकता सँगसँगै पनि अघि बढ्न सक्छन् ।
गाउँ जोगाउने सबैभन्दा ठुलो जिम्मेवारी अब स्थानीय सरकारको हो । स्थानीय सरकारले विकासको अर्थ केवल सिमेन्ट र भवन निर्माणमा सीमित राख्नुहुँदैन । रैथाने सिप, कला, स्थानीय कृषि प्रणाली, बिउबिजन, भाषा, संस्कृति र सामूहिक परम्परालाई पनि विकासकै हिस्सा मान्नुपर्छ । विद्यालयका स्थानीय पाठ्यक्रममा यस्ता विषय समेटिनुपर्छ । गाउँको मौलिकतालाई पर्यटन र आयआर्जनसँग जोड्न सकियो भने मानिसहरू आफैँ त्यसको संरक्षणमा लाग्छन् ।
गाउँलाई दुर्गम क्षेत्रका रूपमा मात्र होइन, सांस्कृतिक सम्पदा र सामाजिक समृद्धिको केन्द्रका रूपमा हेर्न आवश्यक छ । विकासको नाममा गाउँलाई सहर बनाउने होइन, गाउँको मौलिकता बचाउँदै समृद्ध बनाउने सोच अब स्थानीय सरकार र समुदाय दुवैमा हुनुपर्छ । यसरी मात्रै हाम्रो ग्रामीण सभ्यता र पहिचानलाई दीर्घकालसम्म जोगाउन सक्छ ।
गाउँ जोगाउने कुरा केवल संरचना जोगाउने कुरा होइन, यो भावनाको कुरा हो । सबै कुरा बिग्रिसकेको पनि छैन । अझै धेरै ठाउँमा हाम्रो ग्रामीण जीवनका मूल्य, संस्कार र व्यवहार पुस्तान्तरण भइरहेका छन् । तर, हामीले समयमै ध्यान दिएनौँ भने धेरै कुरा हराउन सक्छन् । हामीले गाउँबारेको बुझाइ बदल्नुपर्छ । हाम्रो शिक्षाले गाउँलाई सधैँ दुर्गम, पिछडिएको र अभावग्रस्त ठाउँका रूपमा चित्रित गर्यो । यही सोच आज पनि समाजमा जीवित छ । यसलाई फेर्नुपर्छ । अब गाउँको नयाँ परिभाषा आवश्यक छ । गाउँलाई अभावको प्रतीक होइन, संस्कृति, प्रकृति, ज्ञान र सम्भावनाको केन्द्रका रूपमा बुझ्नुपर्छ । यो साझा बुझाइ निर्माण गर्ने जिम्मेवारी स्थानीय सरकारकै हो । विद्यालयदेखि सार्वजनिक नीति र विकास योजनासम्म गाउँको नयाँ परिभाषा स्थापित गर्नुपर्छ ।
गाउँका सम्भावनालाई आर्थिक अवसरसँग जोड्नुपर्छ । हरेक गाउँमा कुनै न कुनै विशेषता हुन्छ, कहीँ रैथाने कृषि, कहीँ संस्कृति, कहीँ पर्यटन, कहीँ हस्तकला । स्थानीय सरकारले ती विशेषतालाई पहिचान गरी आयआर्जनसँग जोड्नुपर्छ । जब मौलिकता जोगाउँदा आम्दानी हुन्छ भन्ने विश्वास बन्छ, तब समुदाय आफैँ संरक्षणमा सक्रिय हुन्छ । गाउँ जोगाउनु भनेको हाम्रो सामूहिक स्मृति, संस्कृति, प्रकृतिसँगको सम्बन्ध र पुस्तौँदेखि सञ्चित ज्ञानलाई जोगाउनु हो ।
अब बाटो, बिजुली र भवन निर्माणलाई मात्र विकास मान्ने सोचबाट बाहिर निस्कनुपर्छ । कला, संस्कृति, भाषा, वास्तुकला र पहिचान पनि समृद्धिका आधार हुन् भन्ने कुरा नीतिगत तहमा बुझ्न जरुरी छ । हाम्रो रैथाने बाली, स्थानीय बिउ र परम्परागत कृषि प्रणाली संकटमा छन् । अहिले हामी धेरै हदसम्म बहुराष्ट्रिय कम्पनीका बिउमा निर्भर हुँदै गएका छौँ । तर, नेपालको भौगोलिक विविधताले हामीलाई अपार कृषि विविधता दिएको छ । यही विविधता हाम्रो शक्ति हो । त्यसैले रैथाने कृषि संरक्षणलाई प्राथमिकता दिनुपर्छ । हेर्दा देखिने गुरुङ, थारू, मगर, तामाङहरूको गाउँ केवल गाउँ होइन, संस्कृति हो, सम्पदा हो । ती जीवित संग्रहालय हुन् । यस्ता गाउँलाई सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्नुपर्छ । त्यसका लागि अनुसन्धान, दस्ताबेजीकरण र दीर्घकालीन योजना आवश्यक छ । गाउँ जोगाउने कुरा केवल पुराना संरचना बचाउने विषय होइन । यो हाम्रो पहिचान, संस्कृति, ज्ञान, कृषि, प्रकृति र सामूहिक जीवनशैली जोगाउने विषय हो ।