कोलकाता–विराटनगर रेल कार्गो सेवा सुरु, २४ घण्टामै कोलकाताबाट विराटनगर आइपुग्ने

शनिबार, २ साउन, २०८३
डिजिटल संस्करण
कोलकाता–विराटनगर रेल कार्गो सेवा सुरु, २४ घण्टामै कोलकाताबाट विराटनगर आइपुग्ने

रेल आउने विराटनगर भेडियारीको स्टेसन ।

भारतको कोलकाता बन्दरगाहबाट विराटनगरसम्म पहिलोपटक औपचारिक रूपमा रेल कार्गो सेवा सुरु भएको छ । नेपाल–भारत पारवहन सहमतिअन्तर्गत नेपाली महावाणिज्य दूतावास, कोलकाताको पहलमा कोलकाता बन्दरगाहबाट विराटनगर भन्सारसम्म ढुवानी रेलवे शुक्रबारबाट औपचारिक रूपमा सुरु भएको हो । 

विराटनगर भन्सार कार्यालयका प्रमुख उमेशकुमार श्रेष्ठले पहिलोपटक औपचारिक रूपमा कार्गो रेल कोलकातादेखि विराटनगरको भेडियारीसम्मका लागि हिँडिसकेको र आइतबारसम्म आइपुग्ने जानकारी भएको बताए । उनका अनुसार पहिलोपटक उद्योगको कच्चा पदार्थ बोकेर आइरहेको रेल विराटनगरको संयुक्त भन्सार जाँचचौकीनजिकै रहेको भेडियारी स्टेसनसम्म आउनेछ । त्यसपछि कन्टेनरहरू अनलोड भएर भन्सार यार्डभित्र ल्याएर जाँचपास गरिनेछ । जाँचपासपछि भने उद्योगहरूले कन्टेनरहरू ट्रकमार्फत उद्योगसम्म ढुवानी गरेर लैजानेछन् ।

पहिलो रेल कार्गोमार्फत भारतीय कन्टेनर निगम लिमिटेडले ४० वटा ४० फिट क्षमताका कन्टेनर पठाएको छ । ती कन्टेनरमा नेपालको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको क्यानोला ग्रेन रहेका छन् । सबै कन्टेनरमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली जडान गरिएको छ । 

भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले ४ नोभेम्बर २०२५ मा जारी गरेको सूचनामार्फत इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणालीसम्बन्धी व्यवस्थामा संशोधन गर्दै कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट विराटनगरसम्म रेलमार्फत कार्गो ढुवानी गर्न सकिने व्यवस्था गरेको थियो । 

सोही निर्णय कार्यान्वयनका लागि नेपाली महावाणिज्य दूतावासको पहलपछि कोलकाता भन्सारले सन् २६ फेब्रुअरी २०२६ मा सार्वजनिक सूचना जारी गर्दै विराटनगरसम्म रेलमार्फत ढुवानीको बाटो खुला गरेको हो । त्यसपछि कोलकाता भन्सार, बन्दरगाह, सिपिङ लाइन तथा सम्बन्धित निकायबिच समन्वय गरी साउन १ गतेदेखि औपचारिक रूपमा सेवा सुरु गरिएको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । 

कोलकाता र विशाखापट्टनममार्फत विराटनगरसम्म रेल सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि एकैपटक ४५ वटासम्म ४० फिटका कन्टेनर रेलमार्फत सिधै विराटनगर ढुवानी गर्न सकिन्छ । यसअघि यस्तो सुविधा वीरगन्जमा मात्र उपलब्ध थियो । 

रेलमार्फत ढुवानी हुँदा सडक यातायातको तुलनामा सामान सुरक्षित, भरपर्दो तथा कम लागतमा करिब २४ घण्टाभित्र कोलकाताबाट विराटनगर आइपुग्ने अपेक्षा छ । साथै, बन्दरगाहमा लाग्ने डिमरेज, कन्टेनर डिटेन्सन शुल्क तथा सडक ढुवानीको अतिरिक्त खर्च पनि घट्नेछ । जसले तेस्रो मुलुकबाट औद्योगिक मालवस्तुहरू कोलकाता र विशाखापट्टनम बन्दरगाहबाट ल्याउन र लान सहज हुनेछ । 

विराटनगरका उद्योगी–व्यापारीहरूको लामो प्रयासपछि भारत विहार राज्यको अररिया जिल्लाको बथनाह चौकदेखि नेपालको कटहरीसम्म आइपुग्नुपर्ने ब्रोडगेज रेलमार्ग निर्माण कार्य सुरु भएको थियो । तत्काल भारतको बथनाहदेखि विराटनगर– १८ स्थित बुधनगर (भेडियारी)सम्म पाँच किलोमिटर निर्माण सम्पन्न भएर ०७९ पुसमा नमुना रेल सेवा पनि उद्घाटन गरिएको थियो । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका नरेन्द्रकुमार मोदीले संयुक्त रूपमा उद्घाटन गरेका थिए । 

तर, भारत र नेपाल सरकारको सञ्चालन नीति अभावले बन्दरगाहाबाट सोझै विराटनगरसम्म कार्गो रेलसेवा सुचारु हुन सकेको थिएन । कोशीका उद्योगी–व्यापारीले सबै सरकारसँग कार्गो रेलसेवा औपचारिक रूपमा चाँडो सञ्चालन गराउन माग गर्दै आएका थिए । 

पहिलोपटक भारतको कोलकाता बन्दरगाहदेखि विराटनगरको भेडियारी स्टेसनसम्म कार्गो रेल आइपुगे पनि कटहरीसम्म आउन भने पाउनेछैन । अझै मुआब्जा विवादकै कारण नेपालतर्फको कटहरीसम्मको १३ किलोमिटर दूरीको निर्माणकार्य सम्पन्न भइसकेको छैन । जग्गाको मुआब्जा विवाद समाधानमा ढिलाइ हुँदा अझै कटहरी गाउँपालिकाको महेशपुरमा रेलवे प्लाटफर्म र गोदाम घर निर्माण गर्न र रेलवे ट्र्याक बिछ्याउन अझै बाँकी नै छ । 

रेल सेवाका लागि भारत र नेपाल सरकारबिच भएको सम्झौताअनुसार सन् २००९ जनवरीदेखि निर्माणकार्य दुवैतर्फ सुरु गरेर सन् २०१४ भित्र सम्पन्न गर्नुपर्ने थियो । 

See More On

सुझावित समाचार