मलको अभाव खेप्दै असारसम्म ६१% रोपाइँ

सबैभन्दा बढी सुदूरपश्चिममा ८८ प्रतिशत र कम कोशीमा ५४ प्रतिशत रोपाइँ सम्पन्न

शनिबार, २ साउन, २०८३
डिजिटल संस्करण

विगतमा जस्तै यो वर्ष पनि सरकारले मागअनुसार रासायनिक मलको सहज आपूर्ति गर्न सकेको छैन । तर, मनसुसन सक्रिय भएपछि देशभरका किसानले मल अभावबिच असार मसान्तसम्म ६१.६२ प्रतिशत रोपाइँ सकाएका छन् ।

पछिल्लो समय भइरहेको नियमित मनसुनका कारण सबैभन्दा बढी धान उत्पादन हुने मधेश प्रदेशमा रोपाइँको उल्लेख्य प्रगति भएको छ । मधेशमा बिहीबारसम्म करिब ६० प्रतिशत रोपाइँ सकिएको कृषि विभागले जनाएको छ । विभागका अनुसार असार मसान्तसम्म देशभर ६१.६२ प्रतिशत रोपाइँ सकिएको छ । 

सबैभन्दा धेरै धान उत्पादन हुने भएकाले मधेशमा हुने रोपाइँको प्रगतिले विशेष महŒव राख्छ । यो वर्ष मधेशमा तीन लाख ८२ हजार चार सय ३३ हेक्टरमा रोपाइँ हुने अनुमान गरेकोमा हालसम्म दुई लाख २१ हजार पाँच सय ४७ हेक्टरमा रोपाइँ सकिएको छ । त्यस्तै, मधेशपछि धेरै धान फल्ने कोशीमा समेत ५४.४ प्रतिशत रोपाइँ सकिएको छ ।

कोशीमा यो वर्ष दुई लाख ७६ हजार तीन सय ८७ हेक्टरमा रोपाइँ हुने अनुमान रहेकोमा एक लाख ५१ हजार ६ सय १९ हेक्टरमा रोपाइँ सकिएको छ । त्यस्तै, बागमतीमा ५७.१ प्रतिशत रोपाइँ सकिएको छ । बागमतीमा यो वर्ष एक लाख १४ हजार पाँच सय २४ हेक्टरमा रोपाइँ हुने अनुमान रहेकोमा ६५ हजार चार सय ४६ हेक्टरमा रोपाइँ सकिएको छ ।

त्यस्तै, गण्डकीमा ६५.९ प्रतिशत रोपाइँ सकिएको छ । गण्डकीमा यो वर्ष ९३ हजार ६ सय ६ हेक्टरमा रोपाइँ हुने अनुमान रहेकोमा ६१ हजार सात सय २७ हेक्टरमा रोपाइँ सकिएको छ । लुम्बिनीमा ५९.६ प्रतिशत रोपाइँ सकिएको छ । लुम्बिनीमा यो वर्ष तीन लाख एक हजार तीन सय ७२ हेक्टरमा रोपाइँ हुने अनुमान रहेकोमा एक लाख ७९ हजार ६ सय ३१ हेक्टरमा रोपाइँ सकिएको छ ।

सबैभन्दा कम धान रोपाइँ हुने कर्णालीमा ६०.२ प्रतिशत रोपाइँ सकिएको छ । कर्णालीमा ४३ हजार दुई सय ९० हेक्टरमा रोपाइँ हुने अनुमान रहेकोमा २६ हजार ६७ हेक्टरमा रोपाइँ सकिएको छ । सुदूरपश्चिममा भने मैझारो हुन लागेको छ । एक लाख ५४ हजार नौ सय ५० हेक्टरमा रोपाइँको अनुमान रहेको सुदूरपश्चिममा बिहीबारसम्म ८७.८ प्रतिशत (१ लाख ३६ हजार ३२ हेक्टर) रोपाइँ सकिएको कृषि विभागले जनाएको छ । सुदूरपश्चिममा सबैभन्दा पहिला जेठ दोस्रो साताबाटै रोपाइँ सुरु हुने भएकाले चाँडै सकिने गर्छ । त्यस क्षेत्रमा अगुवा धान रोपिने भएकाले दसैँअगाडि नै धान काट्ने गरिन्छ । यो वर्ष कुल १३ लाख ६६ हजार पाँच सय ६२ हेक्टरमा रोपाइँ हुने अनुमान रहेकोमा हालसम्म आठ लाख ४२ हजार ६८ हेक्टरमा रोपाइँ सकिएको कृषि विभागले जनाएको छ । गत वर्ष यही समयमा ७२.१४ प्रतिशत रोपाइँ सकिएको थियो । 

साउन र भदौलाई एक लाख ३७ हजार टन रासायनिक मल आउँदै
साउन र भदौसम्म थप एक लाख ३७ हजार टन रासायनिक मल आपूर्तिको सुनिश्चितता भएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ । यसमध्ये ३० हजार टन डिएपी भारतको विशाखापट्टनम बन्दरगाहमा र २७ हजार टन डिएपी कोलकाता बन्दरगाहमा आइपुगेको मन्त्रालयले जनाएको छ । ‘दुवै बन्दरगाहमा हाल मल प्याकिङ भइरहेको र विशाखापट्टनम पोर्टबाट मल रेलमा लोड भई हिँडिसकेको छ । कोलकाताबाट पनि छिट्टै मल लोड हुने क्रममा रहेको छ,’ मन्त्रालयले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘जिटुजी प्रक्रियामार्फत भारतले उपलब्ध गराउने तय भएको डिएपी मल ३ साउनमा कोलकाता बन्दरगाहमा आइपुग्ने तालिका रहेको छ ।’ जिटुजीमार्फत २० हजार टन डिएपी खरिदको सम्झौतामा छ ।

त्यस्तै, ३०–३० हजार टन युरिया लोड भएका जहाजहरू १ साउनमा कोलकाता बन्दरगाहमा आइपुग्ने तालिका छ । कोलकाता बन्दरगाह आइपुगेको मल अनलोड, प्याकिङ र रेलमा लोड गरी नेपालका नाकासम्म आइपुग्ग करिब तीन साता लाग्ने गरेको छ । त्यसपछि पनि २५ सय टनका दरले प्रत्येक सातामा एकपटक मल ढुवानी हुने गरेको छ । मौज्दातमा रहेको रासायनिक मल बिक्री–वितरणलाई पारदर्शी बनाइएको मन्त्रालयको दाबी छ ।

See More On

सुझावित समाचार