नवीकरणीय ऊर्जाविना सम्भव छैन अमेरिकाको आर्थिक वृद्धि

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण
  • नवीकरणीय ऊर्जालाई बेवास्ता गर्ने ट्रम्पको नीति महँगो मात्र होइन, यसले अमेरिकाको दीर्घकालीन आर्थिक वृद्धिलाई पनि खतरामा पार्छ

सेप्टेम्बर ११ को आतंकवादी हमलापछि, तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले आमनागरिकलाई किनमेलमा निस्कन आह्वान गरेका थिए । त्यस समयमा केही मानिसको दाबीअनुसार बुसले गैरजिम्मेवार खर्चलाई प्रोत्साहन गरिरहेका थिए (सन् २००८ को विश्वव्यापी वित्तीय संकटपछि यस्तो आलोचना गर्नेले थप बल पाए ।) खासमा भने उपभोगले लामो समयदेखि अमेरिकी अर्थतन्त्रलाई सबल बनाएको वास्तविकतातर्फ बुसको संकेत थियो त्यो । 

विगत २० वर्षको अवधिमा घरायसी उपभोगले औसतमा संयुक्त राज्य अमेरिकाको वार्षिक कुल गार्हस्थ उत्पादन(जिडिपी) वृद्धिको लगभग ५६ प्रतिशत हिस्सा ओगटेको छ, जसले एक असामान्य आर्थिक संरचनालाई प्रतिबिम्बित गर्छ । यो अवस्था डलर प्रभुत्वको अनपेक्षित परिणामका साथै नियतवश अपनाइएको आर्थिक वृद्धि रणनीतिको परिणाम हो । 

विश्वको आरक्षित मुद्राको रूपमा डलरको वर्तमान स्थितिले नजानेरै अमेरिकी उपभोक्ताका लागि एक आदर्श अवस्था सिर्जना गरेको छ । बाँकी विश्वलाई डलर प्रदान गरेकाले अमेरिका अनिश्चित कालसम्म चालू खाता घाटा कायम राख्न सक्षम छ । यसबाहेक, डलरमा निर्धारण गरिएको सम्पत्तिको उच्च मागले यस मुद्राको विनिमय दरलाई उच्च राखिरहन्छ । यसले गर्दा अमेरिकी निर्यात तुलनात्मक रूपमा महँगो हुन्छ, आयात बढ्छ । परिणामस्वरूप यसले अमेरिकी उत्पादनको गिरावटमा योगदान पुर्याउँछ । 

तर, दशकौँदेखि अमेरिकी नीति–निर्माताले घरायसी उपभोगलाई वृद्धि गर्न विभिन्न नीति अवलम्बन गर्दै आएका छन् । उदाहरणका लागि आवाससँग सम्बन्धित भएर अमेरिकी सरकारले लामो समयदेखि धितो–ऋण राहत, कर ‘क्रेडिट’ र अनुदान अवलम्बन गरेको छ । यसले घरधनीलाई थप ऋण लिनका लागि आफ्नो सम्पत्तिलाई धितोको रूपमा प्रयोग गर्न सहज बनाउँछ । त्यस्तै, सरकारले वित्तीय क्षेत्रलाई ऋण दिने कुरालाई सकेसम्म सहज बनाउन भनेर ‘लोन ब्याकड्रप’ र तरलताको सहायता लिने गरेको छ । समग्रमा अमेरिकी नीति–निर्माताले देशमा एक प्रकारको ‘वित्त संस्कृति’ तयार बनाएका छन्, जसले उपभोक्तालाई आफूसँग भएकोभन्दा बढी रकम खर्चन सक्ने अवस्था निर्माण गरेको छ ।

अमेरिकी सरकारले ऊर्जा नीतिमार्फत घरायसी उपभोगलाई कसरी खर्च बढाउन प्रेरित गर्छ भन्ने विषय भने प्रायः बेवास्तामा पर्छ । तर, यो पनि निकै महत्वपूर्ण छ । उच्च ऊर्जा खपत अमेरिकी जीवनशैलीको केन्द्रबिन्दु हो । अमेरिकी घरहरूमा ताप र चिसो कायम राख्न बढी ऊर्जा चाहिन्छ । विश्वका धेरैजसो भागको तुलनामा अमेरिकीहरूले धेरै (र ठूला) कार खरिद गर्छन्, जुन लामो दूरीको यात्राका लागि प्रयोग गरिन्छ । त्यस्तै, अमेरिकीहरू तुलनात्मक रूपमा बढी मासु र अन्य कार्बन–गहन सामान उपभोग गर्छन् ।

अमेरिकी सरकारले कर संहितामा अमूर्त ‘ड्रिलिंग’ लागतको नाममा झन्डै सय वर्षभन्दा लामो समयदेखि तेल र ग्यास उद्योगलाई अनुदान दिँदै आएको छ । अमेरिकासँग विशाल पेट्रोलियम पदार्थको भण्डारण भएकाले यसले मागभन्दा बढी उत्पादन गर्न प्रोत्साहित गर्छ, जसले गर्दा जीवाश्म इन्धनको मूल्य व्यवस्थित रूपमा कम राखिन्छ ।

तर, अमेरिकाको ऊर्जा परिदृश्य परिवर्तन हुँदै छ । अमेरिकी घरपरिवारका लागि ऊर्जा मूल्य बढ्दै गएको छ । यसमा मुख्यतः नवीकरणीय ऊर्जामाथिको घट्दो लागत मुख्य जिम्मेवार छ । समस्या के हो भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सस्तो ऊर्जामार्फत अमेरिकाको उपभोगमुखी आर्थिक वृद्धि मोडेललाई समर्थन त गरेका छन्, तर सस्तो ऊर्जालाई जीवाश्म इन्धनमार्फत मात्र हासिल हुने नीति लिएका छन् ।

अन्य देशले यही समयमा जीवाश्म इन्धनलाई चरणबद्ध रूपमा घटाउने योजना लिएको समयमा ट्रम्पले ‘ड्रिल, बेबी, ड्रिल (थप पेट्रोल उत्खनन गर)’ नारामार्फत तेल र ग्यास उत्पादन बढाउन खोजेको छ । त्यस्तै, ट्रम्प सरकारको ‘वन बिग ब्युटिफुल बिल एक्ट’मार्फत तेल र ग्यास उद्योगले पाउँदै आएको अनुदान बढाएको छ । अघिल्लो बाइडेन सरकारले ‘इन्फ्लेसन रिडक्सन एक्ट  (आइआरए)’मार्फत स्वच्छ ऊर्जाको प्रयोगलाई तीव्र बनाउन लागू गरेका लगभग सबै कर अनुदान खारेज गरिएको छ ।

अझ इरान युद्ध र ‘एआई’ डेटा–सेन्टरको संख्यामा भएको उलेख्य वृद्धिका कारण उत्पन्न आपूर्ति झट्काले ऊर्जा मूल्य थप बढेको छ । गत वर्ष डेटा सेन्टरहरूले नयाँ अमेरिकी बिजुली मागको लगभग आधा हिस्सा ओगटेका थिए । बिजुलीको माग र त्यहीअनुसार यसको मूल्यमा भएको तीव्र वृद्धिले सम्भावित रूपमा सन् २०३० सम्ममा केही क्षेत्रका उपभोक्ताको बिजुली शुल्क २५ प्रतिशतसम्म बढाउने सम्भावना छ ।

यसैबिच, नवीकरणीय ऊर्जाको मूल्य भने निरन्तर झर्दै गएको छ । सन् २०२४ मा हावाबाट उत्पन्न हुने ऊर्जा र सौर्य ऊर्जा जीवाश्म इन्धनभन्दा क्रमशः ५३ प्रतिशत र ४१ प्रतिशत सस्तो थिए । स्ट्रेट अफ हर्मुजको महिनौँ लामो नाकाबन्दीले विश्वव्यापी तेल र ग्यास प्रवाहलाई गम्भीर रूपमा बाधा पुर्याउँदा विश्वभरका देशलाई नवीकरणीय ऊजा अँगाल्ने प्रवृत्ति बढेको छ ।  नवीकरणीय स्वच्छ ऊर्जालाई बेवास्ता गर्ने ट्रम्प प्रशासनको दृढ संकल्प महँगो मात्र होइन, यसले अमेरिकाको दीर्घकालीन आर्थिक वृद्धिलाई पनि खतरामा पार्छ । जीवाश्म इन्धनको मूल्य निरन्तर बढ्दै जाँदा नवीकरणीय ऊर्जातर्फको विकास दबाउनुले सस्तो ऊर्जामा आधारित वृद्धि मोडेललाई गम्भीर असर गर्नेछ । 

ड्रिस्कोल भर्जिनिया विश्वविद्यालयका सहप्राध्यापक हुन् । उनको ‘ह्वाई कार्बन ट्याक्सेस फेल्ड’ पुस्तक प्रकाशित छ
प्रोजेक्ट सिन्डिकेटबाट

सुझावित समाचार