चालू विश्वकप फुटबल प्रतियोगितामा सहभागी नर्वेका खेलाडीहरू नौलो चिनो लिएर फर्केका छन् । २८ वर्षपछि विश्वकपमा उत्कृष्ट पुनरागमन गरेको नर्वेले ऐतिहासिक रूपमा क्वार्टरफाइनलमा स्थान बनाएको थियो । इंग्ल्यान्डसँग २–१ ले पराजित हुँदै क्वार्टरफाइनलबाट बाहिरिएको थियो । विश्वकपबाट बाहिरिँदा पनि नर्वेका खेलाडी तथा समर्थक दंग छन् ।
उनीहरूले विश्वकपमा आफूहरूले नसोचेको प्रदर्शन गरेको जनाएका छन् । अमेरिकाबाट स्वदेश फर्कने क्रममा नर्वेका खेलाडीले समर्थक र मिडियालाई त्यतिकै अचम्म पारेका छन् । कुनै न कुनै खेलाडी अमेरिकाबाट नौलो मायाको चिनो बोकेका देखिन्छन् । यसमध्ये सबैभन्दा चर्चामा रहेका प्रमुख स्ट्राइकर अर्लिङ हाल्यान्ड हुन् । हाल्यान्ड चालू विश्वकपकै एक स्टार खेलाडी हुन् । उनले डेब्यु विश्वकपमै पाँच खेलमा सात गोल गरेका थिए ।
त्यसमा पनि पाँचपटकको विजेता ब्राजिलमाथि २–१ को जित निकाल्दा उनले नै दुई गोल ठोकेका थिए । यसै प्रदर्शनपछि उनको इन्स्टाग्राममा २ करोड २० लाख फलोअर्स थपिएका छन् । नर्वेको टोली राजधानी ओस्लो झर्दा इंग्लिस क्लब म्यानचेस्टर सिटीका २५ वर्षीय स्ट्राइकर हालान्डले चार्टर्ड गरेको विमानबाट ओर्लंदा हातमा अन्य खेलाडीले भन्दा फरक चिनो बोकेका थिए ।
उनको दाहिने काँधमा दुईवटा झोला थिए । देब्रे हातमा एउटा र्याकुनको छाला भरेर सजाइएको गुडिया थियो । उनले त्यो र्याकुन टेक्सासको डलासस्थित ५० वर्ष पुरानो वाइल्ड विल्स वेस्टर्न स्टोरबाट किनेका थिए । र्याकुनको हातमा ग्रिनल्स वाइल्ड बेरी जिनको खाली बोतल थियो ।
५० वर्ष पुरानो स्टारमा सपिङ
हालान्डले र्याकुनका साथै आफ्नै नाम र जर्सी नम्बर ९ अंकित काउब्वाई ह्याट (टोपी) र सर्पको छालाबाट बनेको जुत्ता (बुट्स) किनेका छन् । र्याकुनको मूल्य ७५० अमेरिकी डलर पर्छ । हाल्यान्डले र्याकुन गिफ्टका रूपमा किनेको प्रचार भएपछि अहिले टेक्सासमा यसको स्टक सकिएको बिबिसीले जनाएको छ । वाइल्ड विल्स वेस्टर्नकी मालिक जुलीले हालान्डले कसैले नसोचेको सपिङ गरेको बताइन् ।
‘हामीलाई कसैले फोन गरेर टोलीको कोही सदस्य आउँदै छ भनेर खबर गरियो । सुरक्षाको कारणले को आउँदै छ भन्ने खुलाइएको थिएन,’ जुरीले भनिन्, ‘हालान्ड आफ्ना साथीहरूसँग आए ।
विश्वकपका हिरो आएपछि उनलाई नचिन्ने को होलान् ? त्यसपछि तस्बिर खिच्न भिड बढ्यो ।’ हाल्यान्डकै कारण स्टोरका सबै ढोका बन्द गरिएको उनले बताए । हाल्यान्डले स्टोरको ढोका बन्द गरेर डेढ घण्टासम्म किनमेल गरे । उनले फरक किसिमको गिफ्टको सपिङ गरेको जुलीले सुनाइन् । ‘हाल्यान्डका कारण मेरो पसल रातारात चर्चित भएको छ ।
उनले किनेका सामग्रीको स्टक सकिएको छ,’ जुलीले भनिन्, ‘अहिलेसम्म दुई हजारभन्दा बढी अनलाइन अर्डरमा ३० प्रतिशत अन्तर्राष्ट्रिय छन् ।’ हालान्डले पनि र्याकुनको भिडियो राख्दै त्यसलाई अमेरिकाबाट ‘आफैँ पछ्याउँदै घर आएको’ बताएका छन् ।