बाढीले बाँध बगाएपछि लिखु १ बाट विद्युत् उत्पादन बन्द

सोमबार, २९ असार, २०८३
डिजिटल संस्करण

अविरल वर्षाका कारण लिखु नदीमा आएको बाढीले उमाकुण्ड गाउँपालिका– १, गुम्देलस्थित लिखु नदीमा सञ्चालित लिखु १ जलविद्युत् आयोजनाको बाँध बाढीले बगाएको छ।

बाढीले बाँध बगाएपछि ७७ मेगावाट विद्युत् उत्पादन गर्दै आएको आयोजना गएरातिदेखि नै बन्द भएको छ। बाढीले केही मोटरेबल पुल र सो क्षेत्रमा रहेको एउटा होटेलसमेत बगाएको छ।

बाढीले पुल बगाएपछि रामेछापको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका– १, गुम्देलको लाह्छेवर गाउँ जाने सडकसँगकाे सम्पर्क टुटेको छ। उक्त क्षेत्र छिमेकी जिल्ला दोलखा र सोलुखुम्बु नजिक पर्दछ। उक्त गाउँमा ४५ घरपरिवार बसोबास गर्दै आएका छन्।

लिखु नदीमा आएको बाढीका कारण गुम्देलको उमातीर्थनजिकै रहेको भिजन जलविद्युत् आयोजनासम्म जाने मोटरेबल पुलसमेत बगाएको छ। बाढीका कारण विद्युत् आयोजना र नेपाल सरकारले निर्माण गरेका लिखु नदीका तीनवटा मोटरेबल पुल बगेको स्थानीयहरूबाट जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी उपरीक्षक राजनप्रसाद तिम्सिनाले जानकारी  दिए।

उनले भने, ‘बाढीले धेरै ठुलो मात्रामा भौतिक पूर्वाधारको क्षति पुगेको छ। उक्त क्षेत्रमा के–कति बाढीले क्षति पुर्यायो भन्ने यकिन तथ्यांक संकलन गर्न सकिएको छैन।’ अहिले उक्त क्षेत्रमा गुम्देल र प्रहरी चौकी वाम्तीबाट प्रहरी परिचालन गरिएको छ। निरन्तर वर्षा भइरहेकाले विवरण संकलन गर्न कठिनाइ भएको तिम्सिनाले बताए।

सुझावित समाचार