महालक्ष्मी विकास बैंकले काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले कफी लाउन्जसहितको डिजिटल हब रहेको कार्यालय भवनको उद्घाटन गरे ।
डिजिटल बैंकिङ सेवालाई आधुनिकीकरण, सुरक्षित, प्रविधि तथा ग्राहकमैत्री बनाउँदै लैजाने बैंकको नीतिलाई निरन्तरता दिँदै बैंकिङ सेवामा नवीनतम अवधारणाको प्रयोगका रूपमा कफी लाउन्जको सुविधासमेत थप गरिएको बैंकले जनाएको छ । जसअन्तर्गत ग्राहकले आरामदायी वातावरणमा बसेर नगद रकम जम्मा गर्ने, चेक क्लियरिङ गर्ने, नगद झिक्ने तथा अन्य विद्युतीय कारोबारको अनुभव लिन सक्नेछन् । नेपालको बैंकिङ क्षेत्रमा यस प्रकारको सेवा प्रदान गर्नेमा महालक्ष्मी विकास बैंक सम्भवतः पहिलो रहेको बैंकको दाबी छ ।
डिजिटल प्रविधिको प्रयोगमा युवालाई आकर्षित गर्न तथा ग्राहकमाझ पहुँच विस्तार गर्न सञ्चालनमा ल्याइएको यस कफी लाउन्जसहितको डिजिटल हबमार्फत डिजिटल बैंकिङ सेवासम्वन्धी परामर्शसमेत प्रदान गरिने भएकाले ग्राहकका लागि सिकाइ र अनुभवको केन्द्र बन्ने अपेक्षा बैंकले लिएको छ । हब उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृतलगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारी र बैंक कर्मचारीको उपस्थिति
रहेको थियो ।