नर्वेलाई २८ वर्षपछि फिफा विश्वकपमा कमब्याक गराउन स्ट्राइकर एर्लिङ हाल्यान्डले महत्वपूर्ण योगदान दिएका थिए । विश्वकपमा स्थान बनाएपछि पनि हाल्यान्डको लय उस्तै रह्यो । पहिलोपटक विश्वकप खेलिरहेका उनले पाँच खेल खेल्दा सात गोल गरे । ब्राजिलविरुद्ध अविस्मरणीय दुई गोल गर्दै टिमलाई पहिलोपटक क्वार्टरफाइनलमा पुर्याउन पनि सफल भए ।
प्रतियोगिताभर उनको प्रदर्शन तारिफयोग्य रह्यो । नर्वेलाई पहिलोपटक क्वार्टरफाइनलसम्म पुर्याएका स्ट्राइकर हाल्यान्डले फिफा विश्वकपले आफूमाथि परिवर्तन आएको प्रतिक्रिया दिएका छन् । इंग्ल्यान्डसँग अतिरिक्त समयमा २–१ ले पराजित भएपछि नर्वेको यात्रा समाप्त भएको थियो । खेलपछि उनी पत्रकारमाझ आएका थिए । माइक्रोफोन लिएर उनी मुस्कुराउँदै आफ्नो पहिलो विश्वकपको अनुभव सुनाउन थाले । ‘विश्वकप निकै फरक रहेछ । यसले मलाई परिवर्तन नै गर्यो ।
विश्वकपले मेरो फ्रोफाइल बढायो,’ २५ वर्षीय खेलाडीले भने, ‘यसअघि मैले यस विश्वकपबारे सोच्न पनि सक्दैनँ थिएँ । अहिले विश्वकपको अनुभव लिएको छु । मलाई गौराञ्वित बनाएको छ ।’ हाल्यान्डले डेब्यु विश्वकपमै इराकविरुद्ध ४–१ को जितमा दुई गोल गरेका थिए । दोस्रो सेनेगलविरुद्ध ३–२ को जितमा पनि दुई गोल गरे । दुई खेलमै चार गोल गरेपछि टिम पनि नकआउटमा पुग्यो । तेस्रो खेलमा फ्रान्सविरुद्ध उनलाई विश्राम दिइयो । टिम ४–१ ले पराजित भयो ।
नकआउट खेलमा आइभरी कोस्टविरुद्ध २–१ को जितमा पनि एक गोल गरे । यसपछि टिमको भेट ब्राजिलसँग भएको थियो । यो खेलमा पनि हाल्यान्ड नै चम्किए । उनले दुई गोल गरेपछि पाँचपटकको च्याम्पियन प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको थियो । यसपछि भने नर्वेको चुनौती समाप्त भएको छ । विश्वकप चलिरहँदा हाल्यान्डलाई रोक्न कठिन थियो । उनलाई रोक्न विपक्षीका लागि टाउको दुखाइको विषय बन्यो । उनलाई शारीरिक रूपमा रोक्न नै चुनौती थियो ।