- फुटबलमा इंग्ल्यान्डका समर्थकलाई उग्र मानिन्छ, तर चालू विश्वकपमा उनीहरूले उपद्रो व्यवहार देखाएका छैनन्
२३औँ संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता क्लाइमेक्सतर्फ अग्रसर भइरहेको छ । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको विश्वकपमा क्वार्टरफाइनलमा पुगेका राष्ट्रका समर्थकहरू बाँकी छन् । यसबाहेक लगभग ४० राष्ट्रका समर्थकहरू घर फर्किएका छन् । केही राष्ट्रका समर्थक भने अमेरिका घुमघामै व्यस्त छन् ।
इंग्ल्यान्ड समर्थकका कारण आयोजक अमेरिकाको प्रत्येक नाइट क्लब, रेस्टुरेन्ट र डिस्कोले भरिएका छन् । इंग्ल्यान्डबाट अमेरिका पुगेका र त्यहीँ बसोवास गरिरहेका समर्थकहरू प्रत्येक दिन नाइट क्लबमा गएर पार्टी मनाउने गरेको डेलीमेलले जनाएको छ । जसका कारण आयोजकसँगै नाइट क्लबका मालिकहरूको आम्दानी बढेको छ । इंग्ल्यान्ड लगातार क्वार्टरफाइनलमा पुग्दा उसका समर्थकले जितको खुसी रातभरि नै मनाए ।
रंगशाला पुग्न नसकेका इंग्लिस समर्थक होटेल वा नाइट क्लबमै आफ्नो राष्ट्रको खेल हेर्ने गरेका छन् । सबैभन्दा रमाइलो पक्ष योपटक इंग्ल्यान्डका समर्थक शान्त र शालीन रूपमा देखिएका छन् । इंग्ल्यान्डले बराबरी नतिजा वा मुख्य खेलाडीले गोल मिस गर्दा समर्थकले उग्रता देखाएका छैनन् । फुटबल इतिहासमा इंग्ल्यान्ड, जर्मनी तथा रसियाका समर्थकलाई उग्र भन्ने गर्छन् । हार वा बराबरी नतिजा आउँदा उसका समर्थकले होहल्ला र उत्पात मच्चाउँथे । सडकदेखि नाइट क्लबसम्म उग्र हुन्थ्यो । यस्तो अवस्था आउँदा सुरक्षा निकायलाई स्थिति नियन्त्रण लिन हम्मेहम्मे पर्थ्यो । अमेरिकामा मात्र नभएर इंग्ल्यान्डमा समेत उनीहरूका समर्थक शालीन हुँदै फुटबल खेल हेरिरहेका छन् । प्रिक्वार्टरफाइनलमा मेक्सिकोविरुद्ध ३–२ को जित निकाल्दा इंग्लिस समर्थकको खुसी हेर्नलायक थियो । इंग्ल्यान्डको खेल हुँदा उनीहरूका प्रशासनले स्कुल बिदा दिएको छ । लन्डनमा रहेको बिम्बली रंगशालामा इंग्ल्यान्डको खेल ठुलो स्किनमा देखाइएको छ । यहाँ पनि हजारौँ दर्शकले कुनै अप्रिय घटना गरेका छैनन् ।
‘यसपटक हामीहरू इंग्ल्यान्डको खेल हेरेर रमाइरहेका छौँ,’ २२ वर्षीय लोर्कान फिनले भने, ‘हामीहरू पार्टीसँगै खेल हेरिरहेका छौँ ।’ पेसाले इन्जिनियर फिनले खेलको नतिजासँग रिसाउन नहुने र स्वविवेक प्रयोग गर्नुपर्ने बताए । ‘मेरो विचारमा मूर्खता काम गर्नुहुँदैन,’ उनले भने, ‘खेलमा जे पनि हुन सक्छ । त्यसलाई आत्मसात् गर्न सक्नुपर्छ ।’ यसैगरी, २७ वर्षीय ह्यारी बेक्सले इंग्ल्यान्डको खेलमा अफिस बंक गरेको बताए । ‘राष्ट्रले विश्वकपमा खेलिरहेको वेलामा एक दिन छुट्टी लिने गरेको छ,’ उनले भने, ‘म मात्र नभएर अन्य साथीहरूले पनि छुट्टी लिएका छन् ।