वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण गर्दै नेपाल राष्ट्र बैंक

आइतबार, २८ असार, २०८३
डिजिटल संस्करण

नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३ सुरु गर्ने भएको छ । वित्तीय ग्राहकको सन्तुष्टिको स्तर मापन गर्ने उद्देश्यका साथ ७७ वटै जिल्लाका स्थानीय तह समेटी सर्वेक्षण गर्न लागेको केन्द्रीय बैंकले जानकारी दिएको छ । र्यान्डम स्याम्प्लिङ विधिबाट वडा छनोट गरी जम्मा १० हजार चार सय पाँचवटा नमुना संकलन गर्ने केन्द्रीय बैंकले जानकारी दिएको छ ।

यो सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवासम्बन्धी वित्तीय ग्राहकको धारणा र अनुभव संकलन गरिनेछ । सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक संरक्षण तथा वित्तीय सेवाका गुणस्तर अभिवृद्धिसम्बन्धी नीति, कार्यक्रम तथा नियामकीय व्यवस्थामा सुधार गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

सर्वेक्षणलाई प्रभावकारी र विश्वसनीय बनाउन सम्बन्धित सबैमा यथार्थ तथा निष्पक्ष जानकारी उपलब्ध गराई तथ्यांक संकलनको कार्यमा केन्द्रीय बैंकले सरोकारवालासँग सहयोग माग गरेको छ । सर्वेक्षणमा सहभागिता स्वैच्छिक हुनेछ र सहभागीले आफूलाई असहज लागेका प्रश्नहरूको उत्तर दिन अस्वीकार गर्न सक्नेछन् । सर्वेक्षणमा संकलित विवरण तथा जानकारी तथ्यांक ऐन, २०७९ अनुसार गोप्य राखिनेछ र केवल सामूहिक रूपमा तथ्यांकीय प्रयोजनका लागि मात्र प्रयोग गरिने उल्लेख छ ।

सुझावित समाचार