नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेका निष्क्रिय खाताको संख्या घटाउन ठोस कार्ययोजना बनाएर २०८३ पुस मसान्तभित्र कार्यान्वयन गर्न निर्देशन दिएको छ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले शुक्रबार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै निष्क्रिय खाता न्यूनीकरणका लागि आवश्यक व्यवस्था लागू गर्न भनेको हो।
संशोधित निर्देशनअनुसार कुनै सक्रिय खाता निष्क्रिय हुनुअघि सम्बन्धित ग्राहकलाई फोन, एसएमएस, इमेललगायतका माध्यमबाट नियमित रूपमा जानकारी गराउनुपर्नेछ। साथै, निष्क्रिय भइसकेका खातालाई पुनः सक्रिय गराउन कम्तीमा प्रत्येक ६ महिनामा ग्राहकलाई सम्पर्क गरी अनुरोध गर्नुपर्ने र त्यसको अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले ग्राहकलाई आफ्ना खाताहरू देशभरका जुनसुकै शाखाबाट वा मोबाइल तथा वेब एप्लिकेसनमार्फत सहज रूपमा बन्द गर्न सक्ने सुविधा उपलब्ध गराउन पनि निर्देशन दिएको छ। ग्राहकले खाता बन्द गर्न अनुरोध गरेमा खातामा रहेको मौज्दात ग्राहककै अर्को बैंक तथा वित्तीय संस्थामा रहेको खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, ग्राहक पहिचानपछि देशभरका जुनसुकै शाखाबाट निष्क्रिय खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था मिलाउन पनि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको छ।