अर्लिङ हाल्यान्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले विश्वकपमा ऐतिहासिक प्रदर्शन गरिरहेको छ । नर्वेले प्रिक्वार्टरफाइनलमा पाँचपटकको विजेता ब्राजिललाई २–१ ले स्तब्ध बनाउँदै पहिलोपटक क्वाार्टरफाइनलमा स्थान बनाएको हो । २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले अब सेमिफाइनल प्रवेश खेलमा इंग्ल्यान्डविरुद्ध हार्ड रक मैदानमा खेल्दै छ । वरीयतामा इंग्ल्यान्ड चौथो र नर्वे ३१औँ स्थानमा छन् । स्टल सोल्बाकेनको प्रशिक्षणमा रहेको नर्वे विश्वकपकै अनुभवी इंग्ल्यान्डविरुद्ध अप्रत्याशित नतिजा निकाल्ने योजनामा छ ।
नर्वेको प्रदर्शनमा इंग्ल्यान्ड हच्किएको छ । थोमस टुचेलको प्रशिक्षणले पनि विश्वकपमा उपाधि दाबेदारका रूपमा उभ्याएको छ । इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले उत्कृष्ट प्रदर्शन गरी ६ गोल गरेका छन् । इंग्ल्यान्ड सन् १९९६ को च्याम्पियन हो । इंग्ल्यान्डको अभियान दोस्रोपटक उपाधि उचाल्ने हो । सन् २०१८ मा चौथो र सन् २०२२ को संस्करणमा इंग्ल्यान्ड क्वार्टरफाइनलबाट बाहिरिएको थियो । इंग्ल्यान्ड विशेष गरी आक्रामक र तीव्र गतिमा दगुर्ने हाल्यान्डलाई रोक्ने योजनामा रहनेछ । हाल्यान्डलाई खुला छाड्दा इंग्ल्यान्डले नराम्रो नतिजा व्यहोर्नुपर्नेछ ।
प्रशिक्षक थोमसले हाल्यान्डलाई रोक्न आफ्नो बलियो रक्षापंक्ति सुधार्नुपर्नेछ । इंग्ल्यान्डलाई कप्तान केनसँगै चार गोल गरेका जुड वेलिंघम, एन्थोनी गोर्डन, बुकायो साका, डिक्लेन राइस, इलिओट एन्डरसनजस्ता खेलाडीको साथ रहेको छ । नर्वेमा हाल्यान्डसँगै कप्तान मार्टिन ओडेगार्ड, २१ वर्षीय एन्टोनिओ नुसा, एलेक्सान्डर सार्लोथ, प्याट्रिक बेर्ग, सन्डर बर्गको साथ रहनेछ ।
हाल्यान्ड र केनको प्रतिस्पर्धा
नर्वे र इंग्ल्यान्डबिचको खेलमा हाल्यान्ड र केन मुख्य केन्द्रविन्दु हुनेछन् । आफ्नो डेब्यु विश्वकपमै हाल्यान्डले सात गोल गरिसकेका छन् । म्यानचेस्टर सिटीका हाल्यान्डले महत्वपूर्ण खेलमा निर्णायक गोल गरेका छन् । उनले ब्राजिल, सेनेगल र इराकविरुद्ध दुई गोल गरेका थिए । उनले आइभोरीकोस्टविरुद्ध एक गोल गरेका हुन् । बायर्न म्युनिखमा आबद्ध केनले आफ्नो लयलाई विश्वकपमा पनि निरन्तरता दिँदै ६ गोल गरेका छन् । केनले कंगो र क्रोएसियाविरुद्ध समान दुई तथा मेक्सिको र पानाविरुद्ध समान एक गोल गरे । दुई टिमबिच १२ खेल हुँदा इंग्ल्यान्डले सात र नर्वेले दुई खेलमा जित निकालेको छ । उनीहरूले तीन खेल बराबरी खेले । सन् २०१४ मा भएको अन्तर्राष्ट्रिय भेटमा इंग्ल्यान्डले नर्वेलाई १–० ले हराएको थियो ।