२३औँ फिफा विश्वकपको क्वार्टरफाइनलमा आइतबार बिहान इंग्ल्यान्डसँग हुने क्वार्टरफाइनल खेलअघि नर्वेको राष्ट्रिय फुटबल टोलीको जर्सी युरोपभर सोल्ड आउट भएको छ । नर्वेली फुटबल महासंघले जर्सीको मागलाई निकै कम आँकेको स्वीकार गरेको छ ।
फुटबल महासंघले गत मार्चमा नाइकी र अन्य आधिकारिक विक्रेताबाट जर्सी बिक्री गरेको थियो । नर्वे र हाल्यान्डको यात्रा क्वार्टरफाइनलसम्म पुग्ने कसैलाई विश्वास थिएन । तर, नर्वेले एकपछि अर्को ऐतिहासिक प्रदर्शन गर्दा उनीहरूको जर्सीको माग बढी रह्यो । जसका कारण नकआउट चरणसम्म पुग्दा नर्वेको जर्सीको स्टक सकिएको अवस्थामा रहेको महासंघले जनाएको छ ।
विशेषगरी म्यानचेस्टर सिटीका हाल्यान्डको लोकप्रियता र विश्वकपमा ब्राजिलमाथि ऐतिहासिक जितले जर्सीको माग अप्रत्याशित रूपमा बढेको हो । नयाँ जर्सी बजारमा आउनेबित्तिकै पसलहरूमा ग्राहकको भिड लाग्ने गरेको छ । यतिसम्म कि जर्सी किन्न समर्थकहरू रातभर पसलबाहिर पालो कुरिरहेका बिबिसीले जनाएको छ । नर्वेली फुटबल महासंघका व्यावसायिक निर्देशक रुनार पाहरले समर्थकको माग अनुमानभन्दा निकै बढी रहेको जनाए ।
उनले यस वर्ष जर्सीको अर्डरले नयाँ कीर्तिमान दाबी गरे । यस वर्ष खुद्रा विक्रेताले दुई लाख ५० हजार जर्सी अर्डर गरेको महासंघको भनाइ छ । गत वर्ष यसै अवधिमा ५० हजार मात्रै थियो । जर्सी किन्न लागेको लाइन करिब ६ सय मिटर लामो छ । केही समर्थक १२ घण्टासम्म पालो कुर्न कुर्सी नै बोकेर पुगेका छन् ।