मलविनै देशभर ४५ प्रतिशत रोपाइँ

शनिबार, २७ असार, २०८३
डिजिटल संस्करण
  • रोपाइँलाई दुई लाख टन मल आवश्यक, तर गोदाममा ९५ हजार टन मात्रै, त्यो पनि किसानले पाएनन्

रासायनिक मलको अभावबिच किसानले देशभर ४५.८१ प्रतिशत रोपाइँ सकेका छन् । समयमै अकासे पानी नपर्दा रोपाइँका लागि जमिन ठिक्क पारेर बसेका किसान मल अभावमा थप पीडित बनेका छन् । कृषि विभागका अनुसार बागमती, लुम्बिनी र सुदूरपश्चिममा रोपाइँ हुने आधा क्षेत्रफलमा धान रोपिसकेका छन् । सबैभन्दा बढी धान फल्ने मधेश र कोशीमा भने तुलनात्मक रूपमा कम रोपाइँ भएको छ । विभागका अनुसार कोशीमा ३१.५ प्रतिशत, मधेशमा ३२.८ प्रतिशत, बागमतीमा ५७.१ प्रतिशत, गण्डकीमा ६५.९ प्रतिशत, लुम्बिनीमा ५९.६ प्रतिशत, कर्णालीमा ४०.५ प्रतिशत र सुदूरपश्चिममा ५७.९ प्रतिशत रोपाइँ सकिएको छ । 

यो वर्ष १७ लाख ७० हजार ६२ हेक्टरमा रोपाइँ हुने अनुमान गरेकोमा हालसम्म ६ लाख २७ हजार पाँच सय ६६ हेक्टरमा रोपाइँ सकिएको छ । कोशीमा दुई लाख ७६ हजार तीन सय ८७ हेक्टर रोपाइँ हुने अनुगमन गरेकोमा ८७ हजार ३३ हेक्टर, मधेशमा तीन लाख ८५ हजार नौ सय ३३ हेक्टर रोपाइँ हुने अनुमान गरेकोमा एक लाख २६ हजार चार सय ३९ हेक्टर, बागमतीमा एक लाख १४ हजार पाँच सय २४ हेक्टर रोपाइँ हुने अनुमान गरेकोमा ६५ हजार चार सय ४६ हेक्टर र गण्डकीमा ९३ हजार ६ सय ६ हेक्टर रोपाइँ हुने अनुमान रहेकोमा ६१ हजार सात सय २७ हेक्टर रोपाइँ भइसकेको छ । 

त्यस्तै, लुम्बिनीमा तीन लाख एक हजार तीन सय ७२ हेक्टर रोपाइँ हुने अनुमान रहेकोमा एक लाख ७९ हजार ६ सय ३१ हेक्टर, कर्णालीमा ४३ हजार दुई सय ९० हेक्टर रोपाइँ हुने अनुमान रहेकोमा १७ हजार पाँच सय ४९ हेक्टर र सुदूरपश्चिममा एक लाख ५४ हजार नौ सय ५० हेक्टर रोपाइँ हुने अनुमान रहेकोमा ८९ हजार सात सय ४२ हेक्टरमा रोपाइँ सकिएको विभागको तथ्यांक छ । गत वर्ष भने यही अवधिमा ५९.२८ प्रतिशत रोपाइँ भएको थियो । 

किसानले रोपाइँका वेला मलको चरम अभाव खेपिरहे पनि कृषिमन्त्री गीता चौधरीले सरकारका तर्फबाट आपूर्ति बढाउन सक्दो प्रयास गरेको दाबी गरेकी छिन् । उनले बिहीबार पत्रकार सम्मेलन गरेर रासायनिक मल आपूर्ति, वितरण प्रणाली, किसानका गुनासा तथा देशभरबाट प्राप्त सूचनाको प्रत्यक्ष निगरानी भइरहेको बताइन् । ‘मलको कृत्रिम अभाव, कालोबजारी र बिचौलियाको चलखेल रोक्न छड्के अनुगमन अघि बढाएका छौँ,’ उनले भनिन्, ‘किसानका गुनासा तत्काल सुन्ने, सम्बन्धित निकायलाई निर्देशन दिने र समस्या शीघ्र समाधान गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेका छौँ ।’

भारतबाट ५० हजार टन आयात प्रक्रियामा 
कृषि मन्त्रालयका अनुसार रोपाइँका लागि कम्तीमा एक लाख २० हजार टन युरिया र ८० हजार टन डिएपी खपत हुन्छ । तर, देशभरका गोदाममा हाल ९५ हजार पाँच सय ९२ टन मात्रै मौज्दात छ । यसमध्ये युरिया ४९ हजार एक सय चार टन, डिएपी २४ हजार १२ टन तथा पोटास १९ हजार चार सय ७५ टन मौज्दात रहेको कृषि मन्त्रालयले जनाएको छ । मौज्दात परिमाण मागको तुलनामा न्यून हो ।

चालू आर्थिक वर्ष ०८२/८३ को हालसम्म पाँच लाख १८ हजार दुई सय ७८ टन मल बिक्री भइसकेको मन्त्रालयको तथ्यांक छ । यसमध्ये तीन लाख सात हजार १६ टन र डिएपी एक लाख ९२ हजार नौ सय ३१ टन बिक्री भइसकेको मन्त्रालयको तथ्यांक छ । त्यस्तै, पोटास १८ हजार तीन सय ३० टन बिक्री भएको छ । जिटुजी प्रक्रियामार्फत भारतबाट ५० हजार टन मल आयातको प्रक्रियामा छ । रोपाइँका वेला मलको अभाव खेपेका किसानले भदौमा हुर्केको ‘रोपो’मा युरिया हाल्नसमेत सास्ती खेप्नुपर्ने जोखिम बढेको छ । ‘टप ग्रेसिङ’का लागि करिब एक लाख टन युरिया खपत हुने अनुमान भए पनि त्यसका लागि भदौभर आपूर्ति व्यवस्थाको सुनिश्चितता भइसकेको छैन ।

उत्पादन घट्ने चिन्तामा किसान
कञ्चनपुरको बेलौरी नगरपालिका– ८, कलकत्ताका किसान चन्द्रमान राना यसपालि धानको उत्पादन घट्ने चिन्तामा छन् । रोपाइँको समयमा रासायनिक मल नपाएपछि तीन बिघा खेतमा मलविनै यो वर्ष उनले धान रोपेको बताए । ‘मैले मात्र होइन, गाउँमा सबैजसो किसान मलविनै रोपाइँ गरिरहेका छन्,’ रानाले भने, ‘मल कहीँ पनि पाइएन ।’ स्थानीय रिमझिम कृषि सहकारी संस्थाका व्यवस्थापकसमेत रहेका राना मलका लागि बुधबार धनगढीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय आएका थिए ।

सहकारीले यो सिजनमा रोपाइँका लागि ३२ क्विन्टल युरिया र चार क्विन्टल डिएपी मात्र पाएको रानाले बताए । ‘सहकारीले थोरै मल पाएको थियो, व्यवस्थापक भएर आफैँ लग्यो भन्लान् भनेर मैले मल लिइनँ,’ उनले भने, ‘गाउँमा १२ सय घरधुरी छन् । त्यति थोरै मल एकैछिनमा सकियो ।’ गाउँमा रहेको अर्को सहकारीमा पनि मल नरहेको उनले बताए । रासायनिक मलको प्रयोगले माटो बिग्रिसकेकाले मल नहाल्दा उत्पादन नहुने उनको भनाइ छ । रानाका अनुसार गत वर्ष पनि रोपाइँका वेला रासायनिक मलको अभाव भएको थियो ।

भजनी– ३, काँडाका किसान घनश्याम चौधरीले पनि यसपालि रासायनिक मल नहालेरै रोपाइँ सकेका छन् । स्थानीय समाजप्रति ग्रामीण सहकारीका अध्यक्ष रहेका उनले पानी नपरे पनि बोरिङ र पम्पसेटबाट गाउँमा अधिकांश किसानले मलविनै रोपाइँ सकेको बताए । यसपालि सहकारीले डिएपी मल पाँच बोरा र युरिया ७६ बोरा मात्र पाएको उनले जानकारी दिए । धान उत्पादनको पकेट क्षेत्रका रूपमा रहेको कैलाली र कञ्चनपुरमा रासायनिक मलको चरम अभाव छ । सरकारी अनुदानको मल बिक्री गर्दै आएको कृषि सामग्री र साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडले आवश्यकताअनुसार मल वितरण गर्न सकेका छैनन् भने ती निकायमा मलको मौजदात पनि निकै कम छ ।

कृषि सामग्रीले गत वर्ष रोपाइँका वेला करिब एक हजार आठ सय टन डिएपी मल वितरण गर्दा पनि मलको अभाव थियो । यो सिजनमा भने एक सय ७७ टन मात्र बिक्री गरिएको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका सूचना अधिकारी वरिष्ठ सहायक गणेशदत्त जोशीले जानकारी दिए । मौजदात रहेको ९५.५ टन निर्धारित कोटाका आधारमा बिक्री भइरहेको उनले बताए । कृषिले सबैभन्दा बढी कैलालीमा एक सय २७.५ टन डिएपी बिक्री गरेको छ ।

गत सिजनमा रोपाइँका लागि करिब साढे तीन हजार टन युरिया वितरण गरेकोमा यसपालि हालसम्म एक हजार दुई सय टन मात्र बिक्री भएको कार्यालयको तथ्यांक छ ।

मल अभावको सास्ती खेप्दै किसान 

रोपाइँका लागि बर्सातले साथ दिए पनि यो वर्ष सरकारी अनुदानको मल नपाउँदा अप्ठ्यारोमा परेको किसानले गुनासो गरेका छन् । सिराहाको सुखीपुर नगरपालिका– ५, लडकन्हाका किसान दिनेश यादवले करिब पाँच बिघा धानखेतीका लागि एक किलो मलसमेत नपाएको गुनासो गरे । लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडसम्म आएका उनले भने, ‘गाउँमा मल बाँड्ने लाइसेन्स लिएका दुई कृषि सहकारी संस्था छन्, अहिलेसम्म मल नै बाँडेका छैनन् ।’

सिराहाको गोलबजार नगरपालिका– ४, निपनियाँ गाउँकी किसान गंगा क्याप्छाकीले भनिन्, ‘एक बिघा पाँच कट्ठामा धान रोपाइँका लागि गाउँको कृषि सहकारीमा मल नै पाइएन ।’ गाउँनजिकैको कृषि सहकारीमा पटक–पटक धाउँदा पनि नपाएपछि अर्को वडाको सहकारीबाट भनसुन गरी दुई बोरा डिएपी र एक बोरा युरिया ल्याएर काम चलाएको उनले बताइन् । कृषि सामग्री कम्पनी लिमिटेड लहानका शाखा प्रबन्धक चेबनकुमार खड्काले कतिपय पालिकाको कृषि शाखाले विक्रेता रहेका स्थानीय सहकारीलाई सिफारिस नदिने, सिफारिस पाएका सहकारीहरूले पनि कम्पनीले भनेको समयमा मल नउठाउने र किसानको आवश्यकताअनुसार वितरण नगर्दा समस्या भएको हुन सक्ने बताए । सीमावर्ती नवराजपुरका पाँचवटा सहकारीलाई पटक–पटक सूचना पठाउँदा पनि ५ असारको कोटाको मल बल्ल तीन दिनअघि मात्र लगेको उनले बताए । ‘कृषि सहकारीले पाएको कोटाअनुसारको मल वेलैमा उठाइदिँदा कम्पनी र किसान दुवैलाई सहज हुन्छ,’ उनले भने । 

आर्थिक वर्ष ०८२/८३ का लागि लहान शाखालाई प्राप्त कोटा आठ हजार दुई सय मेट्रिकटन युरियाको ९९ प्रतिशत र सात हजार तीन सय मेट्रिकटन डिएपीको ७४ प्रतिशत प्राप्त भइसकेको उनले बताए । 

See More On

सुझावित समाचार