अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अंकारामा चलिरहेको नेटो शिखर सम्मेलनबाट इरानसँगको युद्धविराम अन्त्य भएको घोषणा गरेका छन् । नेटो महासचिव मार्क रुटसँगै बसेर पत्रकारसँग सवालजवाफका क्रममा अमेरिकी राष्ट्रपतिले इरानको नेतृत्वलाई ‘फोहोरी’ र ‘बिरामी’को संज्ञा पनि दिए ।
मंगलबार स्ट्रेट अफ हर्मुजमा तीन व्यावसायिक जहाजमाथि इरानले आक्रमण गरेपछि अमेरिकाले रातारात हर्मुजवरपरका ८० भन्दा बढी इरानी लक्ष्यमा हमला गरेको थियो । त्यस्तै, अमेरिकाले इरानी तेल निर्यातमा प्रदान गरेको अस्थायी प्रतिबन्ध छुट पनि खारेज गरिदिएको छ ।
पत्रकारले आक्रमणबिच इरानसँगको युद्धविराम अझै पनि कायम छ कि भनेर सोध्दा, ट्रम्पले भने– ‘मलाई लाग्छ यो (युद्धविराम) अन्त्य भएको छ । म अब तिनीहरूसँग व्यवहार गर्न चाहन्न । तिनीहरूलाई फोहोरसँग तुलना गर्न सकिन्छ । तपाईंलाई थाहा छ फोहोर भनेको के हो ? तिनीहरू त्यही फोहोर हुन् । र, तिनीहरू बिरामी मानिस हुन्, जो क्रूर, हिंसात्मक छन् । यदि उनीहरूले आणविक हतियार हात पारे भने त्यसलाई प्रयोग गर्थे । त्यसैले, जहाँसम्म मलाई लाग्छ, युद्धविराम अब सकियो ।’ यद्यपि, ट्रम्पले पछि अमेरिकी वार्ताकारले इरानी फक्षसँग अन्तर्त्रियालाई निरन्तरता दिन चाहेको दोहोर्याए ।