२१ फागुनको चुनावमा भारी जनमतसहित राष्ट्रिय स्वतन्त्र पार्टीको एकल बहुमतमा १३ चैतमा प्रधानमन्त्री नियुक्त भएका बालेन्द्र शाहले पहिलोपटक निजी क्षेत्रका उद्योगी–व्यवसायीसँग छलफल गरेका छन् । उनले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँग छलफल गरेका हुन् । सरकार गठन भएको तीन महिनामा भएको भेटघाटलाई रास्वपा सांसदसमेत रहेकी व्यवसायी विदुषी राणाले मध्यस्थकर्ता गरेकी थिइन् ।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा. घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राको सहभागिता रहेको थियो । यो छलफल झन्डै डेढ घण्टा चलेको थियो ।
लामो समयदेखि अर्थतन्त्र शिथिल अवस्थामा रहेको अवस्थामा प्रधानमन्त्रीले उद्योगी–व्यवसायीसँग वार्ता गर्नुलाई सकारात्मक रूपमा लिइएको छ । यस उच्चस्तरीय छलफलबाट मुलुकको उद्योग व्यवसाय प्रवर्द्धन, लगानीका लागि वातावरण सुधार, सरकार र निजी क्षेत्रबिचको सहकार्यसहित निजी क्षेत्रमैत्री नीति–निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा छलफल भएको सहभागी एक व्यवसायीले बताए । छलफलमा मुलुकको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार भएको बताए । उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको पनि प्रधानमन्त्री शाहको भनाइ छ ।
प्रधानमन्त्री शाहले उद्योग तथा निजी क्षेत्रमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।
छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवाप्रवाहमा सरलता तथा सरकार निजी क्षेत्रबिच नियमित र परिणाममुखी संवादको आवश्यकताबारे सुझाव दिएका थिए । प्रधानमन्त्री शाहले प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायमार्फत आवश्यक सहजीकरण तथा सुधारका कार्य अघि बढाइने बताए । उनले आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने स्पष्ट पारे ।
चेम्बरका अध्यक्ष कमलेश अग्रवालले प्रधानमन्त्रीसँगको भेटवार्तापछि निजी क्षेत्रमा आशा जागेको बताए । ‘यो प्रधानमन्त्रीसँगको निजी क्षेत्रको फहिलो अन्तर्त्रिया हो । अर्थतन्त्र पहिलेदेखि नै शिथिल अवस्थामा थियो । अहिले पनि शिथिल अवस्थामै छ । निजी क्षेत्रको मनोबल पनि खस्किएको अवस्था हो,’ उनले भने, ‘त्यस अवस्थामा बुधबार प्रधानमन्त्रीसँग भएको भेटवार्ता र त्यसमा भएको छलफलले निजी क्षेत्रलाई आशा जगाएको छ ।’ सरकारलाई विज्ञले जसरी सैद्धान्तिकभन्दा पनि उद्यमीको रूपमा व्यावहारिक सुझाव दिएको उनको भनाइ छ ।
अग्रवालका अनुसार प्रधानमन्त्रीले निजी क्षेत्रको भनाइलाई सकारात्मक रूपमा लिएका छन् । ‘छलफलमा हामीले राखेको कुरालाई प्रधानमन्त्रीज्यूले सकारात्मक रूपमा लिँदै निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ उनले भने । छलफलमा प्रधानमन्त्री शाहले अर्थतन्त्रमा देखिएका समस्याका समाधान के–के हुन्छन् भनेर सुझावसमेत मागेका थिए । यस्तै, पछिल्लो समय व्यवसायीमाथि भएको धरपकड, मर्यादित व्यावसायिक वातावरण, भौतिक सुरक्षाको प्रत्याभूति र सम्पत्ति शुद्धीकरणको विषयमा पनि छलफल भएको थियो । सम्पत्ति शुद्धीकरण ऐन, २०६४ आउनुभन्दा अघिको हकमा पुर्ख्यौली सम्पत्तिको प्रमाण छैन । त्यस समस्यालाई समाधान गर्ने विषयमा पनि छलफल भएको थियो ।
यस्तै, आर्थिक नीतिको प्रारम्भिक मस्यौदा विज्ञहरूबाट तयार गर्न सुझाव दिएको पनि अध्यक्ष अग्रवालले बताए । ‘कोरोनापछि सरकारले ल्याएको संकुचित नीतिले निजी क्षेत्रले ठुलो क्षति व्यहोर्नुपर्यो । तसर्थ, अब आर्थिक नीति ल्याउँदा पहिला त्यसको प्रभावबारे पनि मूल्यांकन गर्नुपर्छ भनेका छौँ । त्यसको प्रारम्भिक मस्यौदा विज्ञहरूबाट बनाउन भनिएको छ,’ उनले भने, ‘यसैगरी, पुँजीगत खर्च बढाउने संरचनागत सुधार गर्न भनेका छौँ । सरकारले गर्ने पुँजीगत खर्चले चार गुणा बढी अर्थतन्त्र चलायमान बनाउँछ, तसर्थ यसमा जोड दिन भनेका छौँ ।’
भेटवार्तापछि निजी क्षेत्र उत्साहित छ : कमलेश अग्रवाल,अध्यक्ष, चेम्बर अफ कमर्श
प्रधानमन्त्रीसँगको निजी क्षेत्रको फहिलो अन्तर्त्रिया हो । अर्थतन्त्र पहिलेदेखि नै शिथिल अवस्थामा थियो । अहिले पनि शिथिल अवस्थामै छ । निजी क्षेत्रको मनोबल पनि खस्किएको अवस्था हो । त्यस अवस्थामा बुधबार प्रधानमन्त्रीसँग भएको भेटवार्ता र त्यसमा भएको छलफलले निजी क्षेत्रलाई आशा जगाएको छ । छलफलमा हामीले राखेको कुरालाई प्रधानमन्त्रीज्यूले सकारात्मक रूपमा लिँदै निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसले निजी क्षेत्र उत्साहित छ ।