- जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डिजिटलाइजेसन र पर्यटकीय सडक पूर्वाधारमा सहकार्य गर्ने
- एडिबीले नेपालको सबैभन्दा ठुलो विकास साझेदारका रूपमा आफ्नो सहयोग अझ विस्तार गर्दै सन् २०२९ सम्म थप २.४ अर्ब डलर सहयोग उपलब्ध गराउने
प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटपछि एसियाली विकास बैंक (एडिबी)का अध्यक्ष मासातो कान्डाले नेपाललाई अतिरिक्त दुई अर्ब ४० करोड डलर सहयोग प्रदान गर्ने घोषणा गरेका छन् । मंगलबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्तालगत्तै अध्यक्ष कान्डाले सामाजिक सञ्जाल ‘एक्स’मार्फत नेपाललाई थप दुई अर्ब ४० करोड डलर सहयोग प्रदान गर्ने घोषणा गरेका हुन् । जुन मंगलबारको विनिमय दर प्रतिडलर १५२.९४ अनुसार तीन खर्ब ६७ अर्ब पाँच करोड ६० लाख हुन आउँछ ।
एडिबी नेपालको दोस्रो ठुलो विदेशी विकास साझेदार निकाय हो । एडिबीले वार्षिक एक अर्ब डलरहाराहारीमा नेपाललाई ऋण तथा अनुदान दिँदै आएको छ । सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडिबीका अध्यक्ष कान्डाकै उपस्थितिमा २५ अर्ब रुपैयाँबराबरको सहुलियत ऋण सम्झौता भएको छ । त्यसमा नेपालको तर्फबाट अर्थसचिव डा. घनश्याम उपाध्याय र एडिबीको तर्फबाट आवासीय नियोगका देशीय निर्देशक आनो कुस्वाले हस्ताक्षर गरेका छन् । योलगायत एडिबीले यसअघि नेपालसँग गरेको सहमति तथा सम्झौताअन्तर्गत बाहेक अतिरिक्त दुई अर्ब ४० करोड डलर सहयोग घोषणा भएको हो । यद्यपि, यसमा कति ऋण र कति अनुदान भने छुट्याइएको छैन ।
सन् २०२९ सम्म नेपाललाई यो सहयोग उपलब्ध गराउने अध्यक्ष कान्डाले जानकारी गराएका छन् । बालेन्द्र सरकारले ल्याएको योजनालाई सफल बनाउन थप वित्तीय सहयोग गर्न लागेको अध्यक्ष कान्डाले सामाजिक सञ्जालमा लेखेका छन् । नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना तथा लगानी प्रवर्द्धनका लागि प्रधानमन्त्री बालेन्द्र शाहले अघि सारेका महत्वाकांक्षी सुधार कार्यक्रमहरूमा एडिबीको दृढ समर्थन हुने अध्यक्ष कान्डाले बताए ।
‘एडिबीले नेपालका सबैभन्दा ठुलो विकास साझेदारका रूपमा आफ्नो सहयोग अझ विस्तार गर्दै सन् २०२९ सम्म थप २.४ अर्ब डलर सहयोग उपलब्ध गराउनेछ । यसले प्रधानमन्त्रीको विकास योजनालाई व्यावहारिक उपलब्धिमा रूपान्तरण गर्न सहयोग पुर्याउनेछ,’ अध्यक्ष कान्डाले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले बालेन्द्र सरकारसँग नजिक भएर सहकार्य गर्ने इच्छा पनि प्रकट गरेका छन् । ‘विगत ६० वर्षदेखि नेपाल र एडिबीले कठिन समय, पुनर्निर्माण र विकासका विभिन्न चरणमा सहकार्य गर्दै सुरक्षित विद्यालय, स्वच्छ ऊर्जा, सुदृढ पूर्वाधार तथा नागरिकका लागि थप अवसर सिर्जना गर्न महत्वपूर्ण योगदान दिएका छन्,’ उनले भनेका छन्, ‘नेपालका जनताका लागि ठोस र दीर्घकालीन उपलब्धि हासिल गर्न प्रधानमन्त्री तथा उहाँको सरकारसँग नजिकबाट सहकार्य गर्दै काम गर्न म उत्साहित छु ।’
नेपाल सरकार र एडिबीबिचको ६ दशक लामो विकास साझेदारीलाई अझ सुदृढ बनाउने सन्दर्भमा प्रधानमन्त्री शाह र एडिबीका अध्यक्ष कान्डाबिच भएको यस शिष्टाचार भेटमा दुवै पक्षले पारस्परिक सहकार्यप्रति प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार उक्त भेटवार्ता आधा घण्टा चलेको थियो । त्यसमा प्रधानमन्त्री शाहले आगामी दिनमा सुशासन र पारदर्शितामार्फत नेपालको विकासको नयाँ फड्को मार्ने बताएका थिए ।
जलविद्युत् र पर्यटनलाई नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डिजिटलाइजेसन र पर्यटकीय सडक पूर्वाधारमा सहकार्य गर्ने विषयमा दुवै पक्षबिच सकारात्मक छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । भेटका क्रममा अध्यक्ष कान्डाले नेपालमा विकास सहयोग अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालको आर्थिक विकास र समृद्धिका लागि एडिबी दीर्घकालीन साझेदारका रूपमा निरन्तर क्रियाशील रहने बताए ।
उनले नेपालको आर्थिक क्षेत्रमा रहेको ठुलो सम्भावना, बलियो जनादेश र युवा नेतृत्वको प्रशंसा गर्दै नेपालको सफलतामा एडिबी सधैँ साथ रहने प्रतिबद्धता गरे । हाल नेपाल भ्रमणमा रहेका एडिबी अध्यक्षले उच्चस्तरीय भेटवार्ता गरिरहेका छन् ।