सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छ : उपाध्यक्ष भट्ट

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले सरकार ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने गतिमा अगाडि बढिरहेको बताएका छन्। साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २५औँ वार्षिकोत्सव कार्यक्रममा उपाध्यक्ष भट्टले सरकार निजी र सहकारी क्षेत्रलाई सँगसँगै लिएर आर्थिक सबलीकरणका कार्यक्रमलाई बढाव दिँदै जाने कुरामा सकारात्मक रहेको बताए।

नेपालको गरिबी निवारण र ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउने विषयमा साना किसान विकास लघुवित्त वित्तीय संस्था एक अग्रणी संस्था भएको उनको भनाइ थियो। उनले साना किसानको काम र यसको प्रभावलाई हेरेर अब साना किसान विकास लघुवित्तलाई विशिष्टीकृत संस्थाका रूपमा विकास गर्न आवश्यक रहेको बताए।

वास्तविक किसानको बिचमा पुगेर सफल र सकारात्मक रूपान्तरणका लागि काम गर्ने संस्था साना किसान भएको भन्दै भट्टले यसलाई विशिष्टीकृत संस्थाका रूपमा विकास गर्न सके यसको प्रभाव अझै बढाउँदै लैजान सकिने प्रस्ट पारे।

कार्यक्रममा साना किसान विकास लघुवित्तका अध्यक्ष खेमबहादुर पाठकले सरकारले अगाडि बढाएका हरेक काम र कार्यक्रममा साना किसान अभियान सँगसँगै अगाडि बढेको बताउँदै किसानको उत्पादनलाई बजारसँग जोड्ने कार्यक्रममा पनि साथ दिन अनुरोध गरे। किसानले उत्पादन मात्र गरेर आर्थिक सम्पन्नता हासिल नुहुने भन्दै उनले किसानको आफ्नै बजारका लागि सरकारले विशेष रूपमा सोच्नुपर्ने स्पष्ट पारे।
 
 

सुझावित समाचार