मोरङको कटहरी गाउँपालिका– ६ का रामनारायण साह यसपालि पनि समयमा मल नपाउँदा निराश छन् । मनसुन सक्रिय भएकाले वेलैमा धान रोपिसकेका उनले स्थानीय सहकारीबाट पाउनुपर्ने जति मल पाएनन् । सक्षम किसान भनेर चिनिएका उनी मल नपाए कसरी खेती गर्ने भन्नेमा चिन्तामा छन् ।
स्थानीय शालिग्राम कृषि सहकारीले वितरण गर्न ल्याएको १७२ बोरा मलमा पनि अनियमितता भएको उनको गुनासो छ । ‘सहकारीले कृषि कम्पनी र साल्ट ट्रेडिङबाट ल्याएको मल पनि लुकाएर आफन्तलाई बिक्री गर्ने गर्छन्, हामी किसानका लागि भनेर सिंगो वडामा १३ बोरा डिएपी मात्र पाएको छ, त्यति मलले अब कसलाई कति दिने ?’ प्रश्न गर्दै उनले भने ।
मोरङ कटहरीकै ७७ वर्षीय भीम भट्टराईले समयमै पानी परेकाले खेतको हिलो तयार पारेर बिउ पनि हुर्काइसकेका छन् । तर, मलकै अभावमा उनले साढे १३ बिघा जमिनमा खेती गर्न पाएका छैनन् । भन्छन्, ‘खेत र बिउ तयार छ, तर मल नपाउँदा खेत बाँझै रहने अवस्था आयो । सहकारीले दिएको मल त हात्तीको मुखमा जीराझैँ भयो ।’
मोरङ बुढीगंगा गाउँपालिका– १ करैयाका उमालाल माझी १० बिघा जमिन ठेक्कामा रोप्छन् । उनका अनुसार यसपालि खेत रोप्नुभन्दा अगाडि आवश्यक पर्ने डिएपी मल पाउन महाभारत नै छ । वडा कार्यालयबाट टोकन प्राप्त भएपछि बल्ल प्रत्येक किसानले २५ किलो डिएपी र २५ किलो युरिया मल मात्रै पाउँदै आएका छन्, त्यो पनि दिनभरि लाइन लागेर मात्र ।
सुनसरीको बर्जु गाउँपालिका– ३ का ओमप्रकाश मण्डल पनि आफ्नो मेकानिकल काम छाडेर मलको खोजीमा विराटगरसम्म भौँतारिरहेका छन् । मलको अभावमा उनको उनले यसपालि धान मात्र होइन, उखुखेती पनि लगाउन पाएकै छैनन् ।
अनुसार यसपालि डिएपी मलको चरम अभाव भएको छ । सयममा मल आइनपुगेको र मौज्दात पनि नभएकाले गर्दा कम्पनीले विभिन्न जिल्लामा बफर स्टकबाट मल न्यून परिमाणमा पठाएको छ । ‘मोरङमा धान सिजनमा मात्र ६ हजार मेट्रिक टन डिएपी मल आवश्यक पर्छ । तर, हामीले यो सिजनमा तीन सय मेट्रिकटन मात्र वितरण गर्न सकेका छौँ, त्यो पनि बफर स्टकबाट मात्र । यसैले हाहाकार त हुने नै भयो,’ कृषि कम्पनी प्रदेश कार्यालय विराटनगरका प्रवक्ता दीपराज पौडेलले भने । मलको हाहाकार भएपछि सीमाक्षेत्रका मात्र नभएर तराईका जिल्लाका कृषकहरू भारतबाट अवैध रूपमा ल्याइने कम गुणस्तरीय मल महँगोमा खरिद गर्न बाध्य छन् । तर, त्यो पनि सहजै नपाउँदा किसानहरू निराश छन् । किसानहरूका अनुसार नेपालमा अनुदानमा २२ सय रुपैयाँमा पाइने डिएपी मल भारतबाट ल्याउँदा प्रतिबोरा करिब ३६ सय रुपैयाँसम्म पर्छ ।
विराटनगरस्थित साल्ट ट्रेडिङ डिपो प्रमुख राधेश्याम चौधरीका अनुसार केन्द्रीयस्तरकै आपूर्ति समस्याले कोशी प्रदेशमा पनि मलको अभाव चरम भएको हो । मलको अभाव पूर्ति गर्नकै लागि साल्ट ट्रेडिङ विराटनगरले पनि बफर स्टकबाट जेनतेन माग टार्दै आएको छ । मोरङका सहकारीहरूले मलको हाहाकार भएको फाइदा उठाउँदै प्रतिबोरा ७५० रुपैयाँमा उपलब्ध गराएको युरिया मल नौ सय रुपैयाँसम्म र २२ सय रुपैयाँमा उपलब्ध हुने डिएपी मल २३ सय ५० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको स्थानीयको गुनासो छ ।
मोरङको कटहरी– ६ का स्थानीयले १९ असारमा मलको चरम अभाव भएको वेला सहकारीहरूले नै कालोबजारी गरेको भन्दै विराटनगरमा पत्रकार सम्मेलन नै आयोजना गरेका थिए । कृषि सहकारीले कोटामा पाएको मल लुकाएर थोरै मात्र वितरण गरेको उनीहरूको आरोप थियो ।