आयल निगमको कार्यकारी निर्देशक पदमा ११ को निवेदन

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि खुलाइएको विज्ञापनमा ११ जनाले आवेदन दिएका छन् । २१ दिनको म्याद दिएर १ असारमा खुलेको विज्ञापनको अन्तिम दिन सोमबारसम्म ११ जनाले आवेदन दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

सोमबार एकै दिन आठजना र त्यसअघि तीनजनाको आवेदन परेको थियो । आवेदन दिनेहरूमा निगमका निमित्त कार्यकारी प्रमुखबाट अवकाश लिएका नागेन्द्र साहसमेत छन् ।

विगतको तुलनामा यसपटक आवेदन दिनेहरूको संख्यासमेत घटेको छ । अढाई वर्षअघि खुला प्रतिस्पर्धा आह्वान गर्दा १४ जनाले आवेदन दिएका थिए । त्यसमध्ये डा. चण्डिकाप्रसाद भट्टले छनोट भएर काम गरेका थिए ।

त्यसअघि, ०७८ मा खुलाइएको विज्ञापनमा १७ जनाले आवेदन दिएकोमा उमेशप्रसाद थानी छनोट भएका थिए भने, ०७५ मा पहिलोपटक खुलाइएको विज्ञापनमा पनि १७ जनाको आवेदन परेकोमा सुरेन्द्र पौडेलले नियुक्ति पाएका थिए ।

यसपटक कार्यकारी निर्देशक नियुक्तिका लागि आवेदन दिएका साह गत २५ वैशाखमा मात्रै अवकाश पाएका हुन् । चार्टर्ड एकाउन्टेन्ट रहेका साहले निगमलाई नियमित रूपमा लेखा परीक्षण गर्न योगदान गरेका थिए । उनी पेट्रोलियम पदार्थको भण्डारणगृह निर्माण गरेर दिगो ऊर्जा रणनीति कार्यान्वयन गर्ने पक्षधर हुन् ।

सुझावित समाचार