- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडिबी अध्यक्ष मासातो कान्डाको उपस्थितिमा सरकार र एडिबीबिच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर
सरकारले एसियाली विकास बैंक (एडिबी)बाट थप २५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिने भएको छ । एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन र भन्सार तथा आपूर्ति सुधारका लागि यो ऋणको प्रयोग गरिनेछ ।
एडिबीका अध्यक्ष मासातो कान्डाको नेपाल भ्रमणका अवसरमा सोमबार सहुलियतपूर्ण ऋण सम्झौता भएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडिबी अध्यक्ष मासातोको उपस्थितिमा ऋण सम्झौतमा हस्ताक्षर भएको हो । सम्झौतामा नेपालका तर्फबाट अर्थ सचिव डा. घनश्याम उपाध्याय र एडिबीका आवासीय नियोगका देशीय निर्देशक आनो कुस्वाले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार नेपालको खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनका लागि एडिबीले एकसय १५ मिलियन डलर अर्थात् १७ अर्ब ४८ करोड ४६ लाख रुपैयाँ सहुलियतपूर्ण ऋण दिनेछ । यस आयोजनाअन्तर्गत प्राप्त सहायता स्थानीय तहको खानेपानी र ढल व्यवस्थापनको एकीकृत पूर्वाधार निर्माणमा परिचालन हुने मन्त्रालयले जनाएको छ ।
त्यस्तै, दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग तथा आपूर्ति सुधार कार्यक्रमअन्तर्गत एडिबीले ५० मिलियन अमेरिकी डलर अर्थात् सात अर्ब ६० करोड २० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण दिनेछ । यो ऋणको परिचालन भन्सार कार्यप्रक्रिया तथा लजिस्टिक्स सेवा आधुनिकीकरण गरिनुका सुधारबापतका बजेटरी सहायताका रूपमा परिचालन हुने मन्त्रालयले जनाएको छ ।
हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. वाग्लेले नेपालको विकासमा एसियाली विकास बैंकबाट प्राप्त सहायताको उच्च मूल्यांकन गर्दै आगामी दिनमा यो साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे । एसियाली विकास बैंकका अध्यक्ष कान्डाले नेपालसँगको ६ दशक लामो सहकार्यलाई निरन्तर र थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालको विद्यमान बाह्य तथा आन्तरिक चुनौतीको सामना गर्न बैंक सधैँ सहयोगी हुने र नेपालका विकास प्राथमिकतासँग बैंकको प्राथमिकताको मेल रहेको उल्लेख गरे ।
नेपालको विकासमा सहकार्य एडिबीको उच्च प्राथमिकतामा : अध्यक्ष कान्डा
सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता भएको छ । भेटमा अर्थमन्त्री एडिबीका अध्यक्ष कान्डाले नेपालको विकासका लागि सहकार्य गर्ने विषय आफूहरूको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।
नेपालमा बनेको नयाँ सरकारसँग सहकार्य गर्न आफू उत्साहित भएको पनि उनले बताए, ‘नयाँ सरकारलाई सहयोग गर्ने विषयमा हामी उत्साहित छौँ, नेपाललाई कसरी थप सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल सुरु गरिसकेका छौँ ।’ सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको विकासका लागि एसियाली विकास बैंकका तर्फबाट भएको सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्डालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह गरेका छन् । दुईदिने भ्रमणका लागि नेपाल आइपुगेका कान्डा सोमबार र मंगलबार नेपालमा रहनेछन् । मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग बिहान भेट गर्ने कार्यक्रम रहेको छ ।
दुई सबस्टेसन उद्घाटन
सोमबार एडिबी अध्यक्ष कान्डाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग संयुक्त रूपमा दुईवटा विद्युतीय सबस्टेसनको उद्घाटन गरेका छन् । उनीहरूले भर्चुअल रूपमा मार्कीचोक र मूलपानी सबस्टेसनको उद्घाटन गरेका हुन् । काठमाडौं उपत्यकासहित उच्च विद्युत् माग भएका प्रमुख क्षेत्रमा विद्युत् आपूर्ति थप भरपर्दो र गुणस्तरीय बनाउन यसले सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।