आयल निगमको कार्यकारी निर्देशकमा ११ जनाको निवेदन

सोमबार, २२ असार, २०८३
डिजिटल संस्करण

आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि खुलाइएको विज्ञापनमा ११ जनाले आवेदन दिएका छन्। २१ दिनको म्याद दिएर १ असारमा खुलेको विज्ञापनको अन्तिम दिन सोमबारसम्म ११ जनाले आवेदन दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

सोमबार एकैदिन ८ जना र त्यसअघि ३ जनाको आवेदन परेको थियो। आवेदन दिनेहरूमा निगमको निमित्त कार्यकारी प्रमुखबाट अवकाश लिएका नागेन्द्र साहसमेत छन्। उनीबाहेक अधिकांश आवेदक नयाँ अनुहार हुन्।

विगतको तुलनामा यसपटक आवेदन दिनेहरूको संख्यासमेत घटेको छ। अढाई वर्षअघि खुला प्रतिस्पर्धा आह्वान गर्दा १४ जनाले आवेदन दिएका थिए। त्यसमध्ये डा. चण्डिकाप्रसाद भट्ट छनोट भएर काम गरेका थिए। त्यसअघि, ०७८ मा खुलाइएको विज्ञापनमा १७ जनाले आवेदन दिएकोमा उमेशप्रसाद थानी छनोट भएका थिए भने ०७५ मा पहिलोपटक खुलाइएको विज्ञापनमा पनि १७ जनाको आवेदन परेकोमा सुरेन्द्र पौडेलले नियुक्ति पाएका थिए।

यसपटक आवेदन दिने ११ जनाको विस्तृत विवरण भने मंगलबार मात्रै सार्वजनिक गर्ने उद्योग मन्त्रालयले जनाएको छ। यसपटक कार्यकारी निर्देशक नियुक्तिका लागि आवेदन दिएका साह गत २५ जेठमा मात्रै अवकाश पाएका हुन्। चार्टर्ड एकाउन्टेन्ट रहेका साहले निगमलाई नियमित रूपमा लेखा परीक्षण गर्न योगदान गरेका थिए। उनी पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण गरेर दिगो ऊर्जा रणनीति कार्यान्वयन गर्ने पक्षधर हुन्।

सुझावित समाचार