साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। सोमबार नेप्से २६.२९ अंकले घटेर दुई हजार ६२७.११ विन्दुमा कायम भएको हो।
आज कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो दिन चार अर्ब ४१ करोडभन्दा बढीको सेयर खरिद–बिक्री भएकोमा आज तीन अर्ब ५५ करोडमा झरेको हो। सोमबार ३५६ कम्पनीका ७५ लाख ४० हजार कित्ता सेयर खरिद–बिक्री भए।
आज नेप्सेका १३ वटै समूहको सूचक घटेका छन्। व्यापार समूह तीन प्रतिशतभन्दा धेरैले ओरालो लाग्दा उत्पादन तथा प्रशोधन, वित्त र बैंक एक प्रतिशतभन्दा धेरैले घटे।
बजार घटे पनि स्नो रिभर्स र सानिगाढ हाइड्रो १४.९९ तथा कलंगा हाइड्रो १४.९८ प्रतिशतले वृद्धि भएका छन्। सर्वाधिक गुमाउनेमध्ये शीर्ष स्थानका थ्री स्टार हाइड्रो र नेपाल फाइनान्सका लगानीकर्ताले क्रमशः १३ र ११ प्रतिशतभन्दा धेरै गुमाए।
कारोबार रकम र सेयर संख्याका आधारमा सोमबार नेपाल इन्भेस्टमेन्ट बैंक डिबेन्चर शीर्ष स्थानमा छ। सो धितोपत्रको चार लाख ८६ हजार इकाइ ५३ करोड ९४ लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको हो।