सर्वाधिक पाँचपटकको च्याम्पियन ब्राजिललाई नर्वेको डर

२८ वर्षपछि प्रिक्वार्टरफाइनलमा स्थान बनाएको नर्वे पाँचपटकको च्याम्पियन ब्राजिललाई स्तब्ध बनाउने दाउमा

आइतबार, २१ असार, २०८३
डिजिटल संस्करण

ब्राजिल फिफा विश्वकपको छैटौँ उपाधि जित्ने अभियानसहित यतिवेला अमेरिकामा रहेको छ । त्यही यात्रामा उसले अन्तिम ३२ मा जापानलाई हरायो । अन्तिम मिनेटमा गाब्रियल मार्टिनेलीको गोलमा ब्राजिलले जित निकालेको हो । अन्तिम ३२ मा जित निकालेपछि ब्राजिलले क्वार्टरफाइनल प्रवेशका लागि आज नर्वेसँग खेल्दै छ । खेल अमेरिकाको मेटलाइफ मैदानमा नेपाली समयअनुसार राति १:४५ बजे सुरु हुनेछ ।

विश्वकप सुरु भएयता लगातार २३औँ संस्करण सहभागी भएको ब्राजिलले सन् २००६ देखि लय गुमाउँदै आएको छ । पछिल्लो दुई संस्करणमा टोली अन्तिम आठबाट माथि बढ्न सकेको छैन । अन्तर्राष्ट्रिय फुटबलमा चुक्दै आएकोछ । २३औँ संस्करणको विश्वकपको पहिलो खेलमै मोरोक्कोसँग १–१ को बराबरी खेलेपछि टोलीको चर्को आलोचना भएको थियो । झन् जापानविरुद्ध २–१ को संघर्षपूर्ण जितपछि ब्राजिल कमजोर रहेको आकलन गर्न थालिएको छ ।

यस्तो अवस्थामा लयमा रहेको नर्वेले फाइदा लिने सक्ने अनुमान गरिएका छन् । यद्यपि, प्रशिक्षक कार्लो एन्सोलोटी टोलीको प्रदर्शन सुधार गर्दै क्वार्टरफाइनल पुग्न खेल्ने बताउँछन् । ‘प्रदर्शनको हिसाबले हामीले राम्रो नै गरिरहेका छौँ । तर, हामीले अझै राम्रो भने खेल्नुपर्नेछ,’ उनले भने, ‘नर्वेविरुद्ध स्तरीय खेलपछि मात्रै नजिता आउनेछ ।’

प्रशिक्षक एन्सोलोटीले चार खेलमा चार गोल गरिसकेका भिनिसियस जुनियर र चार खेलमा तीन गोल गरेको म्याथ्युस कुन्हालाई नै आफ्नो हतियार बनाउनछन् । त्यस्तै, रायन, कासेमेरो, ब्रुनो गुइमारेज, डानिलो सान्तोषले उनीहरूलाई साथ दिनेछन् ।

ऐतिहासिक नतिजा निकाल्ने नर्वेको दाउ
विश्वकपमा सर्वाधिक पाँचपटक उपाधि जितेको ब्राजिललाई रोक्ने दाउमा भने नर्वे छ । यसको केन्द्रमा २५ वर्षीय स्ट्राइकर एर्लिङ हाल्यान्ड छन् । उनले पहिलो विश्वकपमै पाँच गोल गरिसकेका छन् । नर्वेले पहिलोपटक अन्तिम १६ मा स्थान बनाएको हो । यदि टिम ब्राजिललाई हराउन सफल भयो भने पहिलोपटक क्वार्टरफाइनलमा पुग्नेछ । नर्वे यसअघि दुईपटक अन्तिम १६ भन्दा माथि बढ्न सकेको छैन । सन् २००२ यता ब्राजिल उपाधिविहीन छ । त्यसयता टोलीको प्रदर्शन राम्रो हुन सकेको छैन । त्यही फाइदा नर्वे उठाउने योजनामा छ ।

आफूभन्दा २५ स्थान माथि रहेको ब्राजिलविरुद्ध नर्वेले मुख्य हतियार स्ट्राइकर एर्लिङ हाल्यान्डलाई बनाएको छ । २८ वर्षपछि विश्वकपमा स्थान बनाएको नर्वेका लागि हाल्यान्डले इराकविरुद्ध ४–१ को जितमा र सेनेगलविरुद्ध ३–२ को जितमा समान २ गोल गरेका थिए । आइभरी कोस्टविरुद्ध २–१ को जितमा एक गोल गरेका हुन् । समूह चरणमा फ्रान्सविरुद्ध ४–१ ले पराजित हुँदा उनी खेलेनन् ।

नर्वेका प्रशिक्षक स्टल सोल्बाकेनले आफूहरूले ब्राजिलविरुद्ध रमाइलोका लागि नखेल्ने र क्वार्टरफाइनल पुग्न खेल्ने प्रतिक्रिया दिएका छन् । ‘ब्राजिल निकै राम्रो टिम हो । यसमा दुईमत छैन । हामी खेलमा शतप्रतिशन दिनछौँ,’ उनले खेलअघि भने, ‘हामी यहाँ रमाइलो गर्न आएका हैनौँ । त्यसैले ब्राजिललाई हराएर क्वार्टरफाइनलमा स्थान बनाउन खेल्छौँ ।’

प्रशिक्षक सोल्बाकेनले म्यानचेस्टर सिटीका  हाल्यान्डसँगै इंग्लिस प्रिमियर लिग विजेता आर्सनलका मार्टिन ओडेगार्ड, आरबी लाइपजिगका एन्टोनिओ नुसा, एट्लेटिको म्याड्रिडका एलेक्जान्डर सार्लोथलाई अग्रपंक्तिको जिम्मेवारी दिनेछन् ।

हेड टु हेडमा नर्वे नै अगाडि
दुई टिमबिचको हेड टु हेडमा नर्वे नै अगाडि देखिएको छ । दुई टिमबिच चार भेटमा नर्वे दुईमा विजयी भएको छ । दुई खेल भने बराबरीमा सकिएको हो । सन् १९९८ मा भएको पहिलो भेट १–१ को बराबरीमा सकियो । सन् १९९७ मा भएको अर्को मैत्रीपूर्ण खेलमा नर्वे ४–२ ले विजयी भएको थियो । सन् १९९८ को विश्वकपको समूह चरणमा भने नर्वेले ब्राजिललाई २–१ ले हराएको हो । सन् २००६ को अन्तिम मैत्रीपूर्ण भेट १–१ को बराबरीमा सकिएको थियो ।

प्लेयर्स टु वाच

भिनिसियस जुनियर (ब्राजिल)
ब्राजिलको लगातार उत्कृष्ट प्रदर्शनमा युवा स्ट्राइकर भिनिसियस जुनियरले सानदार प्रदर्शन गरिरहेका छन् । रियल मड्रिडका २५ वर्षीय युवा खेलाडीले चार गोल गर्दै गोल्डेन बुटको दौडमा रहेका छन् । उनले पहिलो खेलमा मोरोक्को र दोस्रो खेलमा हाइटीविरुद्ध समान एक गोल गर्दा समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्ध दुई गोल गरेका थिए । तर, नकआउटमा जापानविरुद्ध भने गोल गर्न सकेनन् । नर्वेविरुद्ध जित्नैपर्ने खेलमा जुनियर चल्ने विश्वास लिइएको छ । प्रशिक्षक कार्लो एन्सोलोटीले अग्रपंक्तिमा भिनिसियससँगै तीन गोल गरेका माथ्युस कुन्हालाई मौका दिनेछन् ।

एर्लिङ हाल्यान्ड (नर्वे)
नर्वेले फिफा विश्वकपमा अर्को कीर्तिमान रच्ने हो भने ब्राजिलविरुद्ध एर्लिङ हाल्यान्ड नै चल्नुपर्छ र उनलाई विकल्प पनि छैन । यी खेलाडीले पछिल्लो तीन खेलमा पाँच गोल गरिसकेका छन् । पहिलोपटक विश्वकप खेलिरहँदा हल्यान्ड उच्च गोलकर्ताको दौडमा रहेका छन् । पहिलो खेलमा इराक र दोस्रो खेलमा सेनेगललाई हराउँदा उनले समान दुई गोल गरेका थिए । फ्रान्सविरुद्धको खेलमा विश्राम पाएका उनले आइभोरीकोस्टविरुद्ध २–१ को जितमा निर्णायक गोल गरेका थिए । म्यानचेस्टर सिटीबाट खेलिरहेका २५ वर्षीय स्ट्राइकर पछिल्लो खेलमा जस्तै ब्राजिलविरुद्ध पनि प्रदर्शन गर्नेमा आशावादी छन् । ब्राजिललाई हराए नर्वे पहिलोपटक विश्वकपको क्वार्टरफाइनलमा पुग्नेछ । उनले ब्राजिललाई हराए विश्वकपमा बोनस प्राप्त हुने प्रतिक्रिया दिएका छन् । 
 

सुझावित समाचार