- अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन अभियान, प्रमुख स्रोत बजारमा गरिएको प्रचारप्रसार तथा नेपालको सुरक्षित र आकर्षक गन्तव्यको छविका कारण विदेशी पर्यटक आगमनमा निरन्तर सुधार
नेपालमा विदेशी पर्यटकको आगमन सन् २०२६ को पहिलो ६ महिनामा उल्लेख्य रूपमा वृद्धि भएको छ । नेपाल पर्यटन बोर्ड (एनटिबी)का अनुसार जनवरीदेखि जुनसम्मको अवधिमा कुल ६ लाख २० हजार चार सय ५३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या गत वर्षको सोही अवधिको पाँच लाख ७७ हजार ६ सय ८९ पर्यटकको तुलनामा करिब ७.४ प्रतिशतले बढी हो । बोर्डका अनुसार अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन अभियान तथा नेपालप्रतिको बढ्दो आकर्षणका कारण आगमनमा निरन्तर सुधार देखिएको हो ।
जुनमा ९१ हजार पर्यटक भित्रिए
सन् २०२६ को जुन महिनामा नेपालमा ९१ हजार तीन सय ६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटिबी)ले अध्यागमन विभागको तथ्यांकका आधारमा सार्वजनिक गरेको विवरणअनुसार हवाईमार्गबाट नेपाल आउने विदेशी पर्यटकको संख्या गत वर्षको सोही अवधिको तुलनामा १९.५ प्रतिशतले वृद्धि भएको हो । सन् २०२५ को जुन महिनामा ७६ हजार चार सय २५ विदेशी पर्यटक नेपाल आएका थिए ।
कोभिड–१९ महामारीअघि पर्यटनका हिसाबले उत्कृष्ट मानिएको सन् २०१९ को जुन महिनामा ७४ हजार आठ सय ८३ पर्यटक नेपाल आएका थिए । त्यसको तुलनामा यस वर्षको जुनमा पर्यटक आगमन २२.०१ प्रतिशतले बढेको बोर्डले जनाएको छ । तथ्यांकअनुसार जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी ४८ हजार दुई सय ५४ जना दक्षिण एसियाली (सार्क) मुलुकका छन्, जुन कुल आगमनको ५२.८ प्रतिशत हो । भारतबाट मात्रै ४१ हजार आठ सय नौ पर्यटक नेपाल आएको तथ्यांक छ ।
सार्क देशबाट आधाभन्दा बढी आगमन
जुन महिनामा सबैभन्दा धेरै पर्यटक दक्षिण एसियाली (सार्क) मुलुकबाट आएका छन् । कुल ४८ हजार दुई सय ५४ पर्यटकमध्ये भारतबाट मात्रै ४१ हजार आठ सय नौ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ५२.८ प्रतिशत हो । अन्य एसियाली मुलुकबाट १६ हजार एक सय ५२ पर्यटक आएका छन् । यसअन्तर्गत चीन, जापान, दक्षिण कोरिया र थाइल्यान्ड प्रमुख स्रोत बजारका रूपमा रहेका छन् ।
यस्तै, अन्य एसियाली मुलुकबाट १६ हजार एक सय ५२ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १७.६८ प्रतिशत हो । यस अवधिमा चीनबाट आठ हजार आठ सय ७५, जापानबाट दुई हजार चार सय ९७, दक्षिण कोरियाबाट एक हजार सात सय ६५ तथा थाइल्यान्डबाट नौ सय ८४ पर्यटक नेपाल भ्रमणमा आएका छन् । युरोपबाट १३ हजार एक सय १९ पर्यटकको नेपाल आवागमन भएको छ । युरोपेली मुलुकमध्ये बेलायतबाट तीन हजार दुई सय ६६, जर्मनीबाट एक हजार आठ सय ९२ र फ्रान्सबाट एक हजार दुई सय ६७ पर्यटकले नेपाल भ्रमण गरेको विभागले जनाएको छ ।
यता, अमेरिकी महादेशबाट कुल ६ हजार नौ सय ५४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ७.६१ प्रतिशत हो । यसमध्ये अमेरिकाबाट पाँच हजार दुई सय ३७, क्यानडाबाट एक हजार दुई सय ९८ तथा ब्राजिलबाट दुई सय १९ पर्यटक नेपाल आएका छन् । त्यस्तै, ओसियानिया क्षेत्रबाट तीन हजार ९० पर्यटक नेपाल आएका छन् । यो संख्या गत वर्षको तुलनामा ५६.३५ प्रतिशत तथा सन् २०१९ को तुलनामा ५७.१७ प्रतिशतले बढी रहेको बोर्डले जनाएको छ । यस क्षेत्रमा अस्ट्रेलियाबाट दुई हजार ६ सय ९४ र न्युजिल्यान्डबाट तीन सय ९० पर्यटक नेपाल आएका छन् । त्यस्तै, अफ्रिकाबाट ६ सय ७४ तथा मध्यपूर्वबाट दुई सय ९२ पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनील शर्माले पछिल्ला महिनामा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन अभियान, प्रमुख स्रोत बजारमा गरिएको प्रचारप्रसार तथा नेपालको सुरक्षित र आकर्षक गन्तव्यको छविका कारण विदेशी पर्यटक आगमनमा निरन्तर सुधार देखिएको बताए । ‘पछिल्लो समय मानिसमा घुम्ने बानीको विकास भएको छ,’ उनले भने, ‘कोभिडपछि एकान्त गन्तव्यस्थल खोजी गर्ने प्रवृत्ति बढ्दो क्रममा छ । त्यसैले पनि प्राकृतिक गन्तव्यका रूपमा नेपाल बाह्य पर्यटकको रोजाइमा परेको छ, जसले गर्दा विदेशी पर्यटक आगमन बढेको देखिन्छ ।’ साथै, नेपालमा दुईदिने सार्वजनिक बिदाले पनि नेपालीलाई नयाँ गन्तव्य खोज्न र ती ठाउँमा पुग्न प्रेरित गरेको उनको भनाइ छ ।
बोर्डले आगामी पर्यटन सिजनलाई लक्षित गर्दै भारत, चीन, अमेरिका, युरोपलगायत प्रमुख स्रोत बजारमा थप प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।