मुक्तिनाथ विकास बैंकले शिक्षाको प्रवर्द्धन गर्न तथा बालबालिकाको शैक्षिक पहुँच विस्तार गर्ने उद्देश्यले विभिन्न प्रदेशका सरकारी विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले विद्यार्थीलाई पोसाक, स्कुल झोला, स्टेसनरी सामग्री, एक शैक्षिक वर्षको अध्ययन खर्च, विभिन्न शैक्षिक सामग्री र उपकरण तथा खेलकुद सामग्री हस्तान्तरण गरेको हो ।
बैंकका अनुसार सरकारी विद्यालयलाई प्राथमिकतामा राख्दै बैंकले मोरङको विराटनगरमा ७८ विद्यार्थीलाई शैक्षिक पोसाक, महोत्तरीको बर्दीबासमा १२८ जनालाई स्टेसनरी सामग्री, अर्घाखाँचीको सन्धिखर्कमा २५ जना अपांगता भएका बालबालिकालाई स्कुल ब्याग तथा स्टेसनरी सामग्री, डडेलधुराको खिन्नेभाडीमा १५० विद्यार्थीलाई स्टेसनरी सामग्री, रुपन्देहीको बुटवलमा २१ वटा स्कुल ब्याग, उदयपुरको बागचौरीमा ५० जनालाई स्कुल ब्याग, झापाको कचनकवलमा दुई सयजनालाई स्कुल ब्याग, नवलपरासीको बर्दघाटमा ८५ वटा स्कुल ब्याग तथा सर्लाहीको राजघाटमा दुई सयजना विद्यार्थीलाई स्कुल ब्याग र कञ्चनपुरको तिलकपुरमा ११० बालबालिकालाई स्कुल ब्याग तथा स्टेसनरी सामग्री प्रत्यक्ष रूपमा वितरण गरेको छ ।
यसै क्रममा बैंकले सामाजिक संस्था ‘अस्तित्व नेपाल’सँगको सहकार्यमा आगोबाट प्रभावित तथा कमजोर आर्थिक अवस्थाका ६ जना बालबालिकाको एक शैक्षिक वर्षको अध्ययन खर्चसमेत सहयोग गरेको छ ।
साथै बैंकले वीरेन्द्रनगर– ८, सुर्खेतस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खजुरामा एक थान डिजिटल स्मार्ट बोर्ड, देवदह– १०, चरंगे, रुपन्देहीमा चार थान सिलिङ पंखा तथा बर्दीबास– ३, महोत्तरीस्थित राष्ट्रिय आधारभूत विद्यालय एवं बुटवल– ७, रुपन्देहीस्थित सिद्धेश्वरलाल कुमारी माध्यमिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।
यस सहयोगले आर्थिक रूपमा कमजोर तथा आवश्यक शैक्षिक सामग्रीको अभाव झेलिरहेका विद्यार्थीको अध्ययनलाई सहज बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।
विद्यार्थीको शैक्षिक यात्रालाई सहज र उत्साहजनक बनाउन गरिएको उक्त सहयोगले स्थानीय विद्यालय तथा अभिभावकमा सकारात्मक प्रभाव पार्ने बैंकले विश्वास लिएको छ । बैंकले शिक्षा सामाजिक तथा आर्थिक रूपान्तरणको प्रमुख आधार भएको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।