हवाई भाडा घट्यो

काठमाडौं–धनगढी उडानमा सबैभन्दा बढी एक हजार ७६५ रुपैयाँ भाडा घट्यो

बिहिबार, १८ असार, २०८३
डिजिटल संस्करण

हवाई इन्धनको मूल्य घटेपछि नेपालमा चल्ने आन्तरिक हवाई उडानको फ्युल सरचार्ज (इन्धन शुल्क) घटाइएको छ । यससँगै यात्रुले हवाई टिकटमा केही राहत पाउने भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै आन्तरिक वायुसेवा कम्पनीलाई नयाँ दरअनुसार इन्धन शुल्क लिन निर्देशन दिएको छ । यो नयाँ व्यवस्था बुधबारदेखि लागू भएको हो । निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँ घटाएपछि प्राधिकरणले पनि यात्रुबाट उठाउने इन्धन शुल्क घटाएको हो । इन्धनको मूल्य करिब १५ प्रतिशत घटेको प्राधिकरणले जनाएको छ । यसअघि हवाई इन्धनको मूल्य प्रतिलिटर २६९ रुपैयाँ थियो । अब घटेर २ सय २९ रुपैयाँ कायम भएको छ । 

काठमाडौं–धनगढी उडानमा सबैभन्दा बढी एक हजार ७६५ रुपैयाँसम्म इन्धन शुल्क घटेको छ । काठमाडौं–माउन्टेन रुटमा १ हजार ३७५, काठमाडौं–नेपालगन्जमा १ हजार ३०५, काठमाडौं–भद्रपुरमा एक हजार २०५ र पोखरा–भद्रपुरमा १ हजार ६२० रुपैयाँसम्म शुल्क घटाइएको छ ।

त्यस्तै, काठमाडौं–विराटनगरमा ९६०, काठमाडौं–पोखरामा ६३५, काठमाडौं–भैरहवामा ८२५, काठमाडौं–सिमरामा ३६० रुपैयाँसम्म इन्धन शुल्क घटेको छ । पोखरा, भरतपुर, जनकपुर, भैरहवा, नेपालगन्ज, धनगढी, विराटनगर लगायतका रुटमा पनि फ्युल सरचार्ज घटाइएको छ । फ्युल सरचार्ज गणनाअनुसार ट्रंक रुट (मुख्य आन्तरिक गन्तव्य) का लागि प्रतियात्रु प्रतिमिनेट इन्धन लागत १२१ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । प्राधिकरणको गणनामा जेटस्ट्रिम र एटिआर–४२ विमानको इन्धन खपत, सिट क्षमता र औसत भारका आधारमा नयाँ सरचार्ज निर्धारण गरिएको हो ।

प्राधिकरणले यो शुल्क हवाई इन्धनको मूल्य, विमानले गर्ने इन्धन खपत र यात्रु बोक्ने क्षमताका आधारमा गणना गर्ने गर्छ । प्राधिकरणले मुख्य आन्तरिक गन्तव्यमा चल्ने विमानका आधारमा यो हिसाब गरेको छ । गणनामा जेटस्ट्रिम र एटिआर–४२/३२० विमानलाई आधार मानिएको छ । जेटस्ट्रिम विमानले प्रतिघण्टा ८०० लिटर इन्धन खपत गर्छ । यस्ता विमान सातवटा रहेको र एउटा विमानमा ३० सिट हुने आधार लिइएको छ ।

यातायात व्यवसायी आफैँले गरे भाडादर घटाउन माग
इन्धनको मूल्य घटेसँगै यातायात व्यवसायी आफैँले भाडादर घटाउन माग गरेका छन् । नेपाल आयल निगमले बुधबार प्रतिलिटर पेट्रोलमा २० रुपैयाँ र डिजेलमा ३० रुपैयाँले मूल्य घटाएसँगै यातायात व्यवसायीले सार्वजनिक यातायातको भाडादर घटाउन सरकारसँग माग गरेका हुन् । 

इरान युद्धका कारण इन्धनको मूल्य उच्च दरमा बढेपछि २५ चैत र १६ वैशाखमा भाडादर बढाइको थियो । २५ चैतमा १६.७१ र १६ वैशाखमा पाँच प्रतिशतले भाडादर बढाइएको थियो । अहिले इरान युद्ध साम्य हुने देखिएपछि विश्व बजारमा इन्धनको मूल्य स्वाट्टै घटेको छ । इन्धनको मूल्य पाँच प्रतिशतले थपघट भएपछि भाडादर समायोजन गर्नुपर्ने व्यवस्था छ । बुधबार पेट्रोलको ९.३२ प्रतिशत र डिलेजको १३.४८ प्रतिशतले मूल्य घटेको छ । त्यसकारण, भाडादर घटाउनुपर्ने दबाब पनि स्वतः बढेको छ । 

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले भाडादर घटाउनुपर्ने बताए । भाडादरमा स्वचालित प्रणाली नै लागू गर्नुपर्ने उनको भनाइ छ । ‘पेट्रोलियम पदार्थको मूल्यमा हुने उतारचढावसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि पारदर्शी, वैज्ञानिक र वस्तुगत आधारमा समायोजन हुनु आवश्यक छ । इन्धनको मूल्यवृद्धि हुँदा भाडा बढाउने निर्णय हुने र मूल्य घट्दा समयमै भाडा समायोजन नहुने प्रवृत्तिले यात्रु र व्यवसायी दुवै पक्षमा अन्योल सिर्जना गर्ने गरेको छ,’ उनले भने, ‘सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्य मात्र होइन । सवारीसाधनको सञ्चालन खर्च, मर्मतसम्भार, बिमा, श्रमिकको पारिश्रमिक, स्पेयर पार्टस्को मूल्य, बैंकिङ लागत तथा समग्र आर्थिक सूचकलाई समेत वैज्ञानिक आधारमा मूल्यांकन गरिनुपर्छ । यातायात क्षेत्रलाई दिगो, व्यवस्थित र विश्वसनीय बनाउन सरकार, नियामक निकाय, व्यवसायी तथा उपभोक्ताबिच आपसी विश्वास कायम हुनु जरुरी छ ।’

प्रस्ट मापदण्डका आधारमा समयानुकूल भाडा समायोजन गर्ने प्रणाली लागू गरिनुपर्ने उनले बताए । ‘हामी सम्बन्धित निकायलाई वैज्ञानिक, पारदर्शी र न्यायोचित भाडा समायोजन प्रणाली कार्यान्वयन गर्न आग्रह गर्दछौँ, जसले यात्रुको हित, व्यवसायीको दिगोपना र समग्र सार्वजनिक यातायात प्रणालीको सन्तुलित विकासमा योगदान पुर्याउनेछ,’ उनले भने । 

सुझावित समाचार