कृषिमा यान्त्रिकीकरण बढेसँगै उदयपुरमा लोपोन्मुख बन्दै गएको हलगोरु पाल्ने परम्परा महँगो इन्धनले फेरि ब्युँताउने संकेत देखिएको छ । केही वर्षअघिसम्म ट्याक्टरको सहज पहुँचका कारण हलगोरु बेचेर खेती गर्ने किसान अहिले भने डिजेलको मूल्यवृद्धिसँगै पुनः गोरुको खोजीमा लागेका छन् ।
एक समय गाउँ–गाउँमा हलगोरुको घण्टी बज्ने र जोताइका लागि हली खोज्ने चलन थियो । तर, हाते तथा ठुला ट्याक्टर गाउँसम्म पुगेपछि किसानले गोरु पाल्न छाडे । अहिले भने अवस्था फेरिएको छ । ट्याक्टरबाट खेत जोत्न लाग्ने खर्च अत्यधिक बढेपछि किसान फेरि हलगोरुतर्फ फर्किन थालेका हुन् । तर, गाउँघरमा गोरु सहजै पाउन मुस्किल छ ।
रौतामाई गाउँपालिका– ७, पुँवारेका किसान बमबहादुर सार्कीले केही वर्षअघि गोरु बेचेर ट्याक्टर प्रयोग गर्न थालेका थिए । अहिले भने महँगो ट्याक्टरका कारण फेरि हलगोरु किन्न बाध्य भएको उनी बताउँछन् । ‘ट्याक्टरले जोत्न घण्टाकै तीन हजार रुपैयाँसम्म तिर्नुपर्छ । पहिले हलगोरु र हली दिनको १५ सय रुपैयाँमा पाइन्थ्यो । अहिले गोरु पनि पाइँदैन, पाइहाले हलीसहित दिनको दुई हजारभन्दा बढी लाग्छ,’ उनले भने, ‘यसपालि एक लाख रुपैयाँमा हलगोरु किनेँ । अहिले गोरु र ट्याक्टरको मूल्य लगभग उस्तै भए पनि खेती गर्न गोरु नै सस्तो लाग्यो ।’ उनले ट्याक्टरको सर्भिसिङ चार्जदेखि इन्धन पनि महँगो परेको गुनासो गरे ।
त्रियुगा नगरपालिका– १२ का किसान शिव दाहालका अनुसार ट्याक्टरले काम छिटो गरे पनि त्यसको लागत किसानले धान्न गाह्रो हुन थालेको छ । यता उदयपुरगढी गाउँपालिका– १ का किसान मनोज खत्रीले पहाडी भेगका साना गरामा ट्याक्टरभन्दा हलगोरु अझै उपयोगी हुने बताए । ‘हाम्रोतिर ट्याक्टरले जोत्न घण्टाको चार हजार रुपैयाँसम्म माग्छन् । साना गरामा ठुलो ट्याक्टर चल्दैन । त्यसैले यसपालि एक लाख १९ हजार रुपैयाँमा हलगोरु किनेर ल्याएँ,’ उनले भने । उदयपुरगढी गाउँपालिकाका कृषि शाखा प्रमुख पारसमणि फुयाँलका अनुसार जिल्लाको तराई क्षेत्रमा ट्याक्टरले हलगोरुलाई लगभग विस्थापित गरिसकेको छ । पहाडी क्षेत्रमा भने केही किसानले अझै हलगोरु प्रयोग गरिरहेका छन् ।