- सेयर बजारमा आएको गिरावट र बैंकको खस्किँदो ब्याजदरका कारण जीवन बिमालेख खरिदमा आकर्षण
- चालू आवको जेठ मसान्तसम्म ४३ अर्ब ६५ करोड बिमा संकलन, गत वर्ष उठेको थियो ३१ अर्ब ९८ करोड
- ठुला १४ कम्पनीको ३९ अर्ब ५९ करोड र तीन लघु बिमा कम्पनीको ९७ करोड ४७ लाख रुपैयाँ संकलन
- वैदेशिक रोजगार बिमामार्फत तीन अर्ब आठ करोड संकलन
चालू आर्थिक वर्ष ०८२/८३ को ११ महिनामा नयाँ जीवन बिमा व्यवसाय ३६.४८ प्रतिशतले बढेको छ । बिमा प्राधिकरणका कारण हाल १४ ठुला र तीन लघु गरेर १७ जीवन बिमा कम्पनी छन् । यी कम्पनीले चालू आवको ११ महिनामा ४३ अर्ब ६५ करोड १७ लाख रुपैयाँ बिमा संकलन गरेका हुन् । गत आवको ११ महिनामा भने ३१ अर्ब ९८ करोड २४ लाख रुपैयाँ प्रथम बिमा शुल्क संकलन भएको थियो ।
नयाँ बिमितले तिर्ने बिमाशुल्कको पहिलो वार्षिक किस्ता नै प्रथम बिमाशुलक हो । पछिल्लो समय नयाँ बिमितहरू थपिने क्रम बढ्दो छ । सेयर बजारमा आएको गिरावट र बैंकको खस्किँदो ब्याजदरका कारण त्यस क्षेत्रको लगानी जीवन बिमालेख खरिदमा आकर्षित भएको छ । समीक्षा अवधिमा ठुला कम्पनीले ३९ अर्ब ५९ करोड ४३ लाख रुपैयाँ र लघु बिमा कम्पनीले ९७ करोड ४७ लाख रुपैयाँबराबरको प्रथम बिमाशुल्क संकलन गरेका छन् । यसैगरी, वैदेशिक रोजगार बिमामार्फत पनि तीन अर्ब आठ करोड २८ लाख रुपैयाँ प्रथम बिमाशुल्क संकलन भएको प्राधिकरणले जनाएको छ ।
कुल व्यवसायमा साढे १४ प्रतिशतको वृद्धि, १ खर्ब ७७ अर्ब ६५ करोड संकलन
समीक्षा अवधिमा कुल जीवन बिमा व्यवसायमा भने साढे १४ प्रतिशतको वृद्धि देखिएको छ । गत आवको ११ महिनामा एक खर्ब ५५ अर्ब १५ करोड ७५ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन भएको थियो । चालू आवको ११ महिनामा एक खर्ब ७७ अर्ब ६५ करोड ५० लाख रुपैयाँ संकलन भएको छ । त्यसमा ठुला कम्पनीबाट मात्रै कुल एक खर्ब ७३ अर्ब ५० करोड ७६ लाख रुपैयाँ र लघुबिमा कम्पनीबाट एक अर्ब ६ करोड ४५ लाख रुपैयाँ संकलन भएको छ । वैदेशिक रोजगार बिमाबाट तीन अर्ब आठ करोड २८ लाख रुपैयाँ संकलन भएको छ ।
नयाँ व्यवसायमा नेपाल लाइफ अगाडि
नयाँ व्यवसाय गर्ने मामिलामा नेपाल लाइफ इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । ११ महिनामा उक्त कम्पनीले १० अर्ब १६ करोड ६८ लाख रुपैयाँबराबरको नयाँ व्यवसाय गरेको छ । यस्तै, दोस्रो स्थानमा नेसनल लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीले पाँच अर्ब ६३ करोड ६५ लाख रुपैयाँबराबरको नयाँ व्यवसाय गरेको छ । तेस्रो स्थानमा रहेको एलआइसी नेपालले दुई अर्ब ९८ करोड ८६ लाख रुपैयाँबराबरको प्रथम बिमाशुल्क संकलन गरेको छ ।
यस्तै, सूर्यज्योति लाइफले दुई अर्ब ८० करोड ५६ लाख रुपैयाँ, सिटिजन लाइफले दुई अर्ब ४५ करोड २० लाख रुपैयाँ, आइएमई लाइफले दुई अर्ब २६ करोड ५६ लाख रुपैयाँ र हिमालयन लाइफले दुई अर्ब २४ करोड ८३ लाख रुपैयाँ प्रथम बिमाशुल्क संकलन गरेको छ ।
यस्तै, एसियन लाइफले दुई अर्ब १२ करोड १५ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले एक अर्ब ८३ करोड ७० लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले एक अर्ब ८२ करोड तीन लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले एक अर्ब ६० करोड ९० लाख रुपैयाँ, मेट लाइफले एक अर्ब ४४ करोड ५६ लाख रुपैयाँ, राष्ट्रिय जीवन बिमा कम्पनीले एक अर्ब ११ करोड ७० लाख रुपैयाँ र सन नेपाल लाइफले एक अर्ब सात करोड ८७ लाख रुपैयाँ प्रथम बिमाशुल्क संकलन गरेका छन् ।
यस्तै, गार्डियन माइक्रो लाइफले ३६ करोड नौ लाख रुपैयाँ, क्रेस्ट माइक्रो लाइफले ३५ करोड १३ लाख रुपैयाँ र लिबर्टी माइक्रो लाइफले २६ करोड २४ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ ।
१४.२९ प्रतिशतले बढ्यो निर्जीवन बिमा व्यवसाय
चालू आर्थिक वर्ष ०८२/८३ को ११ महिनामा निर्जीवन बिमा व्यवसाय १४.२९ प्रतिशतले बढेको छ । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको जेठ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।
हाल नेपालमा १४ ठुला र चार लघु निर्जीवन बिमा कम्पनी छन् । उनीहरूले गत आवको ११ महिनामा ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका थिए । चालू आवको ११ महिनामा ४५ अर्ब ५८ करोड ३४ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् ।
समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै पाँच अर्ब ६२ करोड ६३ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ । दोस्रो स्थानमा रहेको सगरमाथा इन्स्योरेन्सले चार अर्ब ७७ करोडड ३९ लाख रुपैयाँ र तेस्रो स्थानमा रहेको हिमालयन एभरेस्टले चार अर्ब ७६ करोड आठ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ ।