अढाई महिनामा २१७.३६ अंकले घट्यो नेप्से

धितोपत्र कसुरसम्बन्धी ठुला मुद्दा बाहिरिएसँगै बजार परिसूचक निरन्तर ओरालो

आइतबार, १४ असार, २०८३
डिजिटल संस्करण
अढाई महिनामा २१७.३६ अंकले घट्यो नेप्से

तस्बिर : एआई जेनेरेटेड

करिब अढाई महिनायता सेयर बजारमापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१७.३६ अंकले घटेको छ । गत २ वैशाखमा नेप्से परिसूचक २८६६.८७ विन्दुमा पुगेको थियो । त्यसयता बजार उतारचढावबिच ओरालो लागेर शुक्रबारसम्म (१२ असार) आइपुग्दा २६४९.५१ विन्दुमा कायम छ ।

धितोपत्र कसुरसम्बन्धी ठुलो मुद्दा बाहिरिएसँगै बजार परिसूचक निरन्तर ओरालो लागिरहेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बोल्दै पुँजी बजारमा ठुलो विचलन आएको बताएका थिए । उनले पछिल्लो समय बिमा र सेयर बजारमा भएको अनियमितताका विरुद्ध एक खर्बको बिगो माग गर्दै मुद्दा चलिरहेको उल्लेख गरेका थिए । ‘यस्तो अवस्थामा सुधारको काम अघि बढाइएको अवस्था छ,’ मन्त्री वाग्लेले भनेका थिए, ‘यो अवस्थामा सेयर लगानीकर्तालाई आफू पनि अनुसन्धानमा तानिन सक्छु भन्ने त्रास भएको हुन सक्छ ।’ मन्त्री वाग्लेले तत्कालको प्रभाव हेर्ने भन्दा पनि दीर्घकालीन नीतिहरूमा काम गरिरहेको बताएका थिए । वाग्लेले भनेजस्तै हिमालयन रिइन्स्योरेन्स र नेपाल रिइन्स्योरेन्सका सञ्चालक तथा लगानीकर्तामाथि सरकारी निकायले अनुसन्धान गरी मुद्दा दायर भएयता लगातार बजार ओरालो लागिरहेको छ ।

बजार ओरालो लागेसँगै कारोबार पनि खुम्चिँदै गइरहेको छ । २ वैशाखमा १० अर्ब २८ करोड रुपैयाँसम्म पुगेको कुल सेयर कारोबार १२ असारसम्म आइपुग्दा दुई अर्ब ७७ करोड रुपैयाँमा सीमित छ । शुक्रबार बजार पुँजीकरण ४५ खर्ब ३४ अर्ब ६९ करोड रुपैयाँमा सीमित छ । २ वैशाखमा ४८ खर्ब ८९ अर्ब ६० करोड थियो । 

सेयर लगानीकर्ता छोटेलाल रौनियारले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा आएपछि सकारात्मक परिवर्तनको अपेक्षा गरिए पनि पुँजी बजारमा त्यसको प्रभाव नदेखिएको बताए । उनले भने, ‘पछिल्लो समयमा राजनीतिक व्यक्ति र उद्योगी, व्यापारीहरूको धरपकडले गर्दा लगानीकर्ता अलिकति सशंकित भए ।’ उनका अनुसार अर्थमन्त्रीले बजेट ल्याउँदा धेरै परिवर्तनको विषय उठाए पनि त्यसले लगानीकर्तामा राम्रो सन्देश दिएन । ‘लगानीकर्तामा सकारात्मक सन्देश गएन । उहाँले बजेटमा पुँजीगत लाभकरलाई फाइनल त भन्नुभयो, तर त्यसको कार्यान्वयन कसरी हुन्छ र अवस्था कस्तो रहन्छ ? त्यो हेर्न बाँकी नै छ,’ उनले भने ।

सेयर लगानीकर्ता रौनियारले अर्थमन्त्रीले क्यापिटल गेन ट्याक्सलाई ५ प्रतिशत र ७.५ प्रतिशतबाट बढाएर क्रमशः ७.५ प्रतिशत र १० प्रतिशत पुर्‍याइदिएको विषयमा असन्तुष्टि व्यक्त गरे । सेयर लगानीकर्ता रौनियारले एनआरएनहरूलाई पुँजी बजारमा भिœयाउने कुरा पनि अहिलेसम्म नारामा मात्र सीमित भएको बताए ।

सेयर लगानीकर्ता छोटेलाल रौनियार भन्छन्—बजारमा लामो समयदेखि सेयरको आपूर्ति मात्र आइरहेको छ, तर माग बढेको छैन

वास्तवमा पुँजी बजारलाई माया गरेर यसलाई अझै एक प्रतिशत घटाइदिनुपर्ने थियो । तर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई त लाग्ला, हाम्रो क्यापिटल गेन ट्याक्स अन्य देशको तुलनामा धेरै कम छ । तर, विगतका सरकारहरूले पुँजी बजारलाई ध्वस्त पारेको पृष्ठभूमि र अहिलेको बजारको वस्तुस्थिति पनि हेर्नुपर्छ ।

बजारमा लामो समयदेखि सेयरको आपूर्ति मात्र आइरहेको छ, तर माग बढाउने वातावरण बनेको छैन । लगानीकर्ता डर र त्रासमा बाँचिरहेका छन् र आफ्नो अगाडि सम्पत्ति गुमेको देखिरहेका छन् । हामी गुनासो लिएर कसकोमा जाने ? धितोपत्र बोर्ड (सेबोन)मा हेर्नुहोस्, कहिले नेतृत्व खाली हुन्छ त कहिले राजनीतिक खिचातानी हुन्छ । गोपाल भट्ट सरले अहिलेसम्म शपथ लिइसक्नुभएको छैन । उनीहरू आएर पनि के नै गर्लान् र ? मुख्य काम त बजारमा माग बढाउने हुनुपर्थ्यो, जसले आपूर्तिलाई सम्बोधन गर्न सकोस् ।

See More On

सुझावित समाचार