जेठमा सवा ४३ करोड मात्रै पुँजीगत लाभकर
चालू आर्थिक वर्ष ०८२/८३ को ११ महिनामा सेयर कारोबारबाट सरकारलाई प्राप्त हुने पुँजीगत लाभकर ३५.५० प्रतिशतले घटेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)बाट प्राप्त जेठ मसान्तसम्मको तथ्यांकले सेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकर घटेको देखाएको हो ।
गत आव ०८१/८२ को ११ महिनामा १५ अर्ब २७ करोड २४ लाख ५५ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको थियो । चालू आवका सोही अवधिमा भने नौ अर्ब ५४ करोड ४७ लाख ५८ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको तथ्यांकमा उल्लेख छ । गत आवको पूरै वर्षमा भने १६ अर्ब ५४ करोड ३७ लाख पुँजीगत लाभकर संकलन भएको थियो । गत आवमा सेयर बजार बढ्दो क्रममा थियो । चालू आवमा भने सेयर बजार अस्थिर अवस्थामा छ । यो वर्षभरि नै सेयर बजारमा उतारचढाव आयो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक कहिले बढ्ने त, कहिले घट्ने भएको भयो ।
गत आवको असार मसान्तसम्म नेप्से परिसूचक २७९४.७८ विन्दुमा थियो । त्यसयता नेप्से परिसूचक थपघट हुँदै आएको छ । हाल नेप्से परिसुचक २७ सय विन्दुवरिपरि छ । नयाँ सरकार गठन र नयाँ सरकारको बजेटले पनि सेयर बजारमा उत्साहन आउन सकेको छैन । पछिल्लो समय सेयर बजार घट्दो क्रममा छ ।
कुन महिना कति उठ्यो पुँजीगत लाभकर ?
तथ्यांकअनुसार चालू आवको साउन महिनामा दुई अर्ब १५ करोड ७५ लाख ६९ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको थियो । त्यसैगरी, भदौमा ६० करोड १४ लाख ९९ हजार रुपैयाँ, असोजमा २४ करोड ३६ लाख ५६ हजार रुपैयाँ र कात्तिकमा ३८ करोड पाँच लाख ९९ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको थियो ।
यसैगरी, मंसिरमा ६२ करोड ९८ लाख २० हजार रुपैयाँ, पुसमा ५८ करोड ४३ लाख ५७ हजार रुपैयाँ र माघमा एक अर्ब २९ करोड १९ लाख २० हजार रुपैयाँ पुँजीगत लाभकर उठेको तथ्यांकमा उल्लेख छ ।
यस्तै, फागुनमा ५५ करोड १५ लाख ८१ हजार रुपैयाँ, चैतमा एक अर्ब ७३ करोड ५७ लाख ८२ हजार रुपैयाँ र वैशाखमा ९३ करोड ६१ लाख ६८ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको थियो ।
अहिले जेठमा ४३ करोड १८ लाख पुँजीगत लाभकर उठेको छ । गत चैतमा एक अर्ब ७३ करोड ५७ लाख ८२ हजार र वैशाखमा ९३ करोड ६१ लाख ६८ हजार यस्तो कर उठेको थियो ।
गत आवको जेठमा भने एक अर्ब १७ करोड ८२ लाख २४ हजार पुँजीगत लाभकर उठेको थियो । १५ जेठमा ल्याइएको बजेटले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर नै अन्तिम हुने व्यवस्था गरेको छ ।
यद्यपि, त्यसको दर बढाएर दीर्घकालीन कारोबारमा ७.५ प्रतिशत र अल्पकालीन कारोबारमा १० प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ । त्यसलाई सेयर लगानीकर्ताले स्वागत गरे पनि सेयर बजारमा सकारात्मक प्रभाव भने परेको छैन ।
पहिला सेयर कारोबारमा हुने खुद नाफामा दीर्घकालीनतर्फ पाँच प्रतिशत र अल्पकालीनतर्फ ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था थियो । सेयर कारोबार गर्दा घाटा भएमा कर तिर्नुपर्दैन । पछिल्लो समय लगानीकर्ताले धेरै नाफा कमाउन सकेका छैनन् ।