उदयपुरका आठ पालिकाको बजेट ६ अर्ब ६० करोड

सबैभन्दा ठूलो बजेट त्रियुगाको

बिहिबार, ११ असार, २०८३
डिजिटल संस्करण

उदयपुरका आठ स्थानीय तहले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि कुल ६ अर्ब ६० करोड ८७ लाख ३३ हजार ४९९ रुपैयाँबराबरको बजेट ल्याएका छन् । जिल्लाका चार नगरपालिका र चार गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, रोजगार सिर्जना, पर्यटन प्रवर्द्धन तथा सुशासनलाई प्राथमिकतामा राख्दै बजेट ल्याएका हुन् ।

आठवटै पालिकामा सबैभन्दा ठुलो बजेट त्रियुगा नगरपालिकाको रहेको छ भने सबैभन्दा कम बजेट ताप्ली गाउँपालिकाले प्रस्तुत गरेको छ। त्रियुगा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३८ करोड ७७ लाख ७४ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले आन्तरिक आय, राजस्व बाँडफाँट तथा संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलाई प्रमुख आयस्रोतका रूपमा उल्लेख गर्दै पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य तथा सेवा प्रवाह सुधारलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ ।

त्यसैगरी चौदण्डीगढी नगरपालिकाले एक अर्ब ३७ करोड नाै लाख पाँच हजार २१२ रुपैयाँबराबरको बजेट ल्याएको छ। नगरपालिकाले कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार, शिक्षा सुधार, पर्यटन प्रवर्द्धन, सामाजिक सुरक्षा तथा पूर्वाधार विकासलाई बजेटको केन्द्रमा राखेको जनाएको छ ।

कटारी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९७ करोड ४६ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । बेलका नगरपालिकाले ७५ करोड ३१ लाख १० हजार १२४ रुपैयाँबराबरको बजेट स्रोत प्रस्तुत गरेको छ । नगरपालिकाका अनुसार बजेटमाथिको विस्तृत छलफल र अन्तिम स्वीकृतिको प्रक्रिया जारी छ ।

गाउँपालिकामध्ये उदयपुरगढी गाउँपालिकाले ६४ करोड ७७ लाख १९ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले चालूतर्फ ४४ करोड ८७ लाख ६३ हजार रुपैयाँ र पुँजीगततर्फ १९ करोड ८९ लाख ५६ हजार रुपैयाँ विनियोजन गरेको जनाएको छ । शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ ।

रौतामाई गाउँपालिकाले ६३ करोड ८७ लाख ४६ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ । संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँट र आन्तरिक आयलाई प्रमुख स्रोतका रूपमा उल्लेख गर्दै गाउँपालिकाले भौतिक पूर्वाधार, सामाजिक तथा आर्थिक विकास, विपत् व्यवस्थापन र सुशासनका क्षेत्रमा बजेट केन्द्रित गरेको जनाएको छ।

लिम्चुङबुङ गाउँपालिकाले ४२ करोड ४१ लाख ५१ हजार १६३ रुपैयाँबराबरको बजेट ल्याएको छ। त्यस्तै ताप्ली गाउँपालिकाले ४१ करोड १७ लाख २८ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ ।
 

सुझावित समाचार