संखुवासभाका १० वटै स्थानीय तहले असार १० अर्थात् हिजाे (बुधबार) नीति तथा कार्यक्रमसहित बजेट ल्याएका छन्। जिल्लाको सदरमुकाम खाँदबारीमा रहेको खाँदबारी नगरपालिकाले ७७ करोड ९८ लाख ६९ हजार रुपैयाँको परिधिभित्र रहेर बजेट ल्याएको छ । हिजाे बुधबार खाँदबारी नगरपालिकाको २०औँ नगरसभा बैठकमा उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्यले उक्त बजेट विनियोजन गरेकी हुन् ।
उक्त नगरसभामा आगामी आर्थिक वर्ष ०८३/८४ का लागि नीति तथा कार्यक्रम खाँदबारी नगरपालिकाका नगरप्रमुख महेश थपलियाले प्रस्तुत गरेका थिए। खाँदबारी नगरपालिकाले सुविधासम्पन्न सभागृह निर्माण, स्विमिङ पुल निर्माण, खाँदबारी संग्रहालय निर्माण, खाँदबारी क्रिकेट रंगशाला निर्माण, मनकामना मन्दिर, खाँदबारी नगरभित्र सपिङ कम्प्लेक्स निर्माण र खाँदबारी टुँडिखेल बजार व्यवस्थापनलाई मुख्य प्राथमिकताका साथ नीति तथा कार्यक्रममा सामावेश गरिएको मेयर थपलियाले बताए । खाँदबारी नगरपालिकालाई उपमहानगरपालिका बनाउनसमेत योजना राखेको उनले बताए ।
नगरभित्रका विभिन्न समस्या समाधान गर्ने, कृषि तथा सहकारी, उद्योग तथा वाणिज्य, पर्यटन, जलस्रोत तथा सिँचाइ, पशुपन्छी विकास, भूमि व्यवस्था, शिक्षा, स्वास्थ्य, भाषा तथा संस्कृति, लैंगिक समानता, युवा तथा खेलकुद, पूर्वाधार विकास, यातायात, विद्युत् तथा वैकल्पिक ऊर्जा, भवन आवास र सहरी विकास, सूचना प्रविधि, वन, वातावरण, जलवायु, फोहोरमैला व्यवस्थापन र मानव संसाधन विकासलगायतलाई समृद्ध खाँदबारी नगर बनाउन थुप्रै राम्रा–राम्रा विषयहरू नीति तथा कार्यक्रममा समावेश गरेको मेयर थपलियाले जनाए ।
१० वटा स्थानीय तह रहेको संखुवासभामा पाँचवटा नगरपालिका र पाँचवटा गाउँपालिका रहेका छन् । नगरपालिकातर्फ खाँदबारी नगरपालिकाको ७७ करोड ९८ लाख ६९ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ भने चैनपुर नगरपालिकाले ७४ करोड दुई लाख २८ हजार ७२८ रुपैयाँको बजेट ल्याएको छ । त्यसैगरी, पाँचखपन नगरपालिकाले ५३ करोड ४६ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ भने मादी नगरपालिकाले ५१ करोड ८१ लाख ८२ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । त्यसैगरी धर्मदेवी नगरपालिकाले ५४ करोड ७९ लाख २२ हजार ८९३ रुपैयाँको बजेट नगरसभा बैठकमा पेस गरेको छ ।
त्यसैगरी गाउँपालिकाका तर्फबाट जिल्लाका सभापोखरी गाउँपालिकाले ५१ करोड २६ लाख ८६ हजार ४१६ रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ। सभापोखरी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ को वार्षिक, नीति तथा कार्यक्रममा खाँदबारी–बाह्रबिसे सडक र बाह्रबिसे–चैनपुर सडकखण्डलाई मुख्य प्राथमिकतामा राखेको प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यले जानकारी दिए ।
गाउँपालिकाको प्रशासकीय भवन निर्माण, प्रत्येक वडा जोड्ने सडक निर्माण र कृषि, भेटेरेनरी र स्वास्थ्य शिक्षालाई प्राथमिकतामा राखेको आचार्यले बताए । त्यसैगरी, चिचिला गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ भने मकालु गाउँपालिकाले ६१ करोड ८८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। त्यसैगरी, सिलिचोङ गाउँपालिकाले ४८ करोड ६९ लाख ९१ हजार ४१ रुपैयाँको बजेट ल्याएको छ भने भोटखोला गाउँपालिकाले ४० करोड ८८ लाख आठ हजार ८२६ रुपैयाँको बजेट विनियोजन गरेको छ ।
हिमाली तथा पहाडी जिल्लाको रूपमा रहेको संखुवासभाका अधिकांश स्थानीय तहले पूर्वाधार विकास, यातायात, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन् ।