रोकिएन आयल निगमको कमाउधन्दा : पार्किङस्थलबाटै ट्यांकर गायब पारेर तेल चोरी

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण
  • अग्लो पर्खाल र सेनाको सुरक्षा घेराभित्र रहेको विराटनगर डिपोको पार्किङस्थलबाटै २० हजार लिटर पेट्रोल बोकेको ट्यांकर आइतबार राति हरायो, सोमबार बिहान करिब खाली अवस्थामा प्रहरीले सुनसरीको सडकमा भेट्टायो ट्यांकर

आयल निगमको कोशी प्रादेशिक कार्यालय, विराटनगरका कर्मचारी, चालक र ढुवानीकर्ताको मिलेमतोमा डिपोको पार्किङस्थलबाट २० हजार लिटर पेट्रोल बोकेको ट्यांकर गायब गरिएको छ । ट्यांकरमा रहेकोमध्ये १८ हजार आठ सय लिटर पेट्रोल अन्यत्र बेचेर सडक किनारामा छाडेको अवस्थामा प्रहरीले ट्यांकर फेला पारेको छ ।

आयल निगमको विराटनगर डिपोमा कार्यरत कर्मचारीको मिलेमतोमा ट्यांकर नै बेचेर ‘कमाउ धन्दा’ चलाउने गरेको यो पहिलो घटना भने होइन । विगतमा जस्तै यसपटक पनि कर्मचारी, चालक र ढुवानीकर्ताको मिलेमतोमा विराटनगर कञ्चनवारीस्थित चारैतिरबाट घेरिएको अग्लो पार्किङस्थलमा रहेको नवीन ढुवानी सेवाको को१ख ६१९० नम्बरको २० हजार लिटर पेट्रोल भरिएको ट्यांकर गायब गरिएको हो । सोमबार बिहान सुनसरीको भोक्राहानरसिँह गाउँपालिका– ८ स्थित हुलाकी सडकखण्डमा प्रहरीले ट्यांकर बरामद गरेपछि तेल चोरीको घटना बाहिरिएको हो ।

भारतको सिलगुढीबाट २० हजार लिटर पेट्रोल लिएर आएको ट्यांकर आइतबार राति ८ बजे निगमको पार्किङस्थलमा प्रवेश गरेको थियो । ट्यांकरधनी नवीन कर्णको पार्किङस्थलबाटै गायब भएको ट्यांकरमा २० हजार लिटर पेट्रोल थियो । ट्यांकर निगमको डिपोभित्र रहेको भण्डारणगृहमा तेल खन्याउन पालो कुरेर राखिएको थियो । तर, प्रहरीले सोमबार बिहान ट्यांकर सडक किनारामा फेला पारेको छ । प्रारम्भिक जाँच गर्दा ट्यांकरमा करिब १२ सय लिटर मात्र इन्धन बाँकी रहेको पाइएको छ ।

मोरङ–सुनसरी क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा निर्धारण भएको छ । यो दरअनुसार ट्यांकरबाट अन्यत्र बेचिएको १८ हजार ८ सय लिटर पेट्रोलको मूल्य ४० लाख ३२ हजार ६ सय रुपैयाँ हुन्छ । विगतमा हुने यस्ता चोरीको तेल पेट्रोलपम्पहरूलाई सस्तो भाउमा बिक्री गर्ने गरेको भेटिएको थियो । त्यसैले, यसपटक पनि हराएको ठुलो परिमाणको पेट्रोल अनधिकृत रूपमा कुनै पम्पलाई बेचेको आशंका छ । किनभने, यति ठुलो परिमाणको पेट्रोल सानातिना खुद्रा विक्रेताले खरिद गर्न सम्भव हुँदैन । डिपो प्रमुख पुष्कर कार्कीले पार्किङस्थलबाट हराएको ट्यांकर सुनसरी प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताए । उनका अनुसार हराएर फेला परेको ट्यांकर मंगलबार मात्र मुचुल्का तयार गरेर डिपोमा ल्याउने तयारी छ । ‘बारम्बार दोहोरिएकाले घटनालाई गम्भीर रूपमा लिएका छौँ । निगमले पनि छानबिन गर्छ,’ कार्कीले भने ।

निगमको विराटरनगरस्थित प्रादेशिक डिपोको पार्किङस्थलबाट यसअघि १३ भदौ ०७८ राति पनि तेल भरिएको ट्यांकर चोरी भएको थियो । सो घटनामा प्रहरीले विराटनगर महानगरपालिका– ४ का २६ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरेको थियो । ०७५ मा दुईपटक र ०७७ मा एकपटक पार्किङस्थलबाटै भरिएको ट्यांकर चोरी गरेर तेल गायब गरिएको थियो । तर, यस्ता घटनामा निगम कर्मचारीलाई उन्मुक्ति दिने गरिएको छ । जसकारण चोरीका घटना बारम्बार भइरहेका छन् ।

अग्लो पर्खाल र सेनाको सुरक्षा व्यवस्थाभित्र रहेको ठुलो पार्किङस्थलबाट तेल भरिएको ट्यांकर राति हराउनु र बिहान फेला पर्नुले घटना नियोजित रहेको हुन सक्ने प्रहरीको आशंका छ । पहिले भएका ट्यांकर चोरीका घटना अनुसन्धानमा संलग्न प्रहरीका अनुसार डिपोबाट इन्धन भरिएको ट्यांकर पार्किङस्थलबाटै निकालेर तेल चोरी गरिरहनुले मिलेमतोमा अकुत कमाउनेहरू अझै निरुत्साहित हुन नसकेको र उनीहरूले भरिया प्रयोग गरेर अझै संगठित चोरी जारी राखेको प्रस्ट हुन्छ । प्रहरीका अनुसार निगमको सुरक्षा व्यवस्था छली भरिएको ट्यांकर निकालेर तेल चोरी गर्ने काम भरियाका रूपमा प्रयोग गरिएको व्यक्तिले मात्र गर्न सक्दैन ।

आयल निगमको सुरक्षित मानिएको डिपोपरिसरबाटै ट्यांकर बाहिर निकालेर बारम्बर तेल चोरी हुने गरे पनि अझैसम्म घटनाको गहन अनुसन्धान गरेर वास्तविक दोषीलाई निगमले कारबाही गरेको छैन । निगमका कर्मचारीहरू बारम्बर सुरक्षित पार्किङस्थलबाटै तेल लोड भएका ट्यांकरहरू निकालेर तेल चोरी हुने गरेपछि डिपोको सुरक्षा व्यवस्थामाथि नै गम्भीर प्रश्न उठेको बताउँछन् । विराटनगर डिपोमा यसअघि भारतको बिहारस्थित बरौनी रिफाइनरीबाट इन्धन ढुवानी गर्दा पटक–पटक भारतमै तेल बेचेर खाली ट्यांकर मात्रै ल्याउने गरेका घटना थिए । अहिले बरौनीबाट तेल आयात रोकिएपछि कर्मचारीको मिलेमतोमा डिपोभित्रबाटै ट्यांकर चोरेर तेल बेच्ने गिरोह सक्रिय भएका हुन् । 

विराटनगर सबैभन्दा बदनाम डिपो : यसअघि पनि भएको छ पटक पटक चोरी
बिराटनगर डिपोका लागि २० हजार लिटर डिजेल लिएर निस्केको ट्यांकर ११ माघ, ०७९ मा सप्तरीको रुपनीमा वेवारिसे अवस्थामा प्रहरीले फेला पारेको थियो । उक्त ट्यांकरबाट १५ हजार लिटर डिजेल स्थानीय पम्पलाई बिक्री गरेपछिको अवस्थामा प्रहरीले फेला पारेको थियो । सो घटनामा हराएको डिजेल पम्पबाट फेला परेको भन्दै आयल निगमले कसैलाई पनि कारबाही नगरी उन्मुक्ती दिएको थियो । जबकी, निगमको बिनियमावलीमा यस्तो कसुरमा लाइसेन्स निलम्बन गर्नेसम्मको व्यवस्था छ ।

०७५ मंसिरमा भारतको बरौनीस्थित इण्डियन आयल कर्पोरेसनको रिफाइनरीबाट डिजेल लिएर आएको ट्यांकरबाट करिब २५ सय लिटर भारततर्फ नै बेचेर आएको पाएपछि निगमले छानबिन समिति बनाएर ढवानीकर्ता र चालकलाई सामान्य कारबाही गरेको थियो । तर, कर्मचारीको संलग्नताबारे अनुन्धान नै गरेन ।

१३ भदौ, ०७८ राती १ बजे बिराटनगर डिपोकै पार्किङस्थलबाट २० हजार लिटर डिजेल बोेको ट्यांकर चोरी भएको थियो । तर, प्रहरीको समन्वयमा सोही रात सुनसरीको बुढीगंगा गाउँपालिका–३ बाँसबारीबाट समातिएको थियो । उक्त ट्यांकर निगमकै पूर्व सवारी चालकले चोरेर लैजादै गरेको अवस्थामा समातिएको थियो ।

दशकअघि बिराटनगर डिपोमा बरौनीबाट ल्याइएको एक ट्यांकर तेल भारतीय भूमीमै बेचेर खाली ट्यांक्र मात्रै भन्सार पास गराइएको थियो । तत्कालिन् मुल्यअनुसार २० लाखको तेल भारतमै बिक्री गरेर बिराटनगर भन्सारमा ४ लाख कर बुझाइएको थियो । त्यसरी, भारतमै तेल बेचेर बिराटनगर डिपोका कर्मचारीले १६ लाख लाभ लिएका थिए ।
 

सुझावित समाचार