कर्णाली राजमार्गमा काम नगर्ने ठेकेदारका १६ वटा ठेक्का डिभिजन कार्यालय जुम्लाले सम्झौता रद्द गरेको छ । सडक डिभिजन जुम्ला कार्यालयअन्तर्गतका कालीकोट, जुम्ला र मुगु जिल्लामा सञ्चालित १६ वटा ठेक्का सोमबार रद्द गरिएका हुन् ।
ठेक्का रद्द गरिएका आयोजनाहरू कर्णाली राजमार्गसँग सम्बन्धित रहेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । निर्माण व्यवसायी र सडक डिभिजन कार्यालय जुम्लाबिच ठेक्का सम्झौता भई सम्झौतामा उल्लिखित मितिमा निर्माण कार्य सम्पन्न नगर्ने ठेक्का रद्द गरिएका छन् ।
निर्माण व्यवसायीहरूले ठेक्का लिएर पटक–पटक म्याद थप गरिएको, थपिएको म्यादसमेत समाप्त भइसकेको, निर्माण व्यवसायीलाई लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न पटक–पटक अनुरोध गर्दा पनि ठेक्का सम्झौताका सर्तहरूबमोजिम काम नगरेकाले ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी इन्जिनियर प्रदीपनारायण चौधरीले जानकारी दिए ।
‘आफ्नो करारीय दायित्व पूरा नगरेको हुँदा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (२) अनुसार ठेक्का सम्झौतामा भएको व्यवस्था र सारभूत रूपमा उक्त निर्माण व्यवसायीहरूबाट ठेक्का सम्पन्न नहुने परिस्थिति निर्माण व्यवसायी स्वयंबाट सिर्जना भएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) समेतको आधारमा ठेक्का अन्त्य गरिएको छ,’ उनले भने, ‘ठेक्का सम्झौताबमोजिम निर्माण व्यवसायीलाई यथाशीघ्र कार्यस्थल छोड्न साथै सोही सम्झौताको आधारमा भुक्तानी हुन बाँकी स्वीकार्य रूपमा सम्पन्न भइसकेका कुनै कार्य भएमा यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्रमा निर्माण व्यवसायीलाई यस कार्यालयमा सम्पर्क राखी वित्तीय फरफारक गर्नसमेत अनुरोध गरेका छौँ ।’
ठेक्का सम्भौता गरिएका १६ वटा आयोजनाहरूमा कालीकोटको सेरी–पन्ताडीमा बेलिब्रिज निर्माण कालीकोट, कर्णाली राजमार्गको च्यानल १३२ देखि २०५ सम्मको सडक मर्मत कालीकोट, च्यानल नं. १८० देखि २०५ सम्मको सडक मर्मत कालीकोट, सिम्ले खोला पुल निर्माण कालीकोट, खल्लागाड पुल निर्माण कालीकोट, छिडाने खोला पुल निर्माण कालीकोट, कर्णाली राजमार्गको नाग्म–जुम्ला सडक ओभर ल्याब जुम्ला, दैखोला–मान्म–नाग्म सडक मर्मत कालीकोट र दैखोला–सेर्सीघाट सडक कालीकोटको ठेक्का सम्झौता रद्द गरिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
त्यस्तै, मुगु–थारमारे–चौरजहारी–जाजरकोट खलंगा–जुम्ला कुडारी–मुगु रारा सडक, दैखोला–खुलालु सडक कालीकोट, नाग्म–जुम्ला खलंगा सडक जुम्ला, कालीकोटको माल्कोट सडक, घट्टेगाड गेला, कुनी, राम्नी, हाउडी, पादमघाट सडक कालीकोट, खुलालु–मान्म–नाग्म सडक ट्राफिक सुरक्षा निर्माण कालीकोट र सुर्खेत–तल्लो डुंगेश्वर–सातखम्म–दुल्लु–पिपलकोट–खुलालु–मान्म–नाग्म–जुम्ला सडकको मर्मत कार्यको ठेक्का पनि रद्द गरिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।
कर्णाली राजमार्गका विभिन्न खण्डका पुल निर्माण, पुल संरक्षण, आवधिक मर्मत र कालोपत्रे गर्नुपर्ने काम समयमै नगरेका कारणले ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालय जुम्लाका निमित्त डिभिजन प्रमुख इन्जिनियर श्रवणकुमार महताराले बताए ।
‘नागरिकको सहज सेवाका लागि समयमै गुणस्तरीय पूर्वाधार निर्माण गर्न र पारदर्शी कार्यसम्पादन गर्न सदैव प्रतिबद्ध छ । कार्यालयले विकास निर्माणका कार्यहरू समयमै सम्पन्न गराउन हरसम्भव प्रयास गरिरहेको छ,’ उनले भने, ‘यस डिभिजनअन्तर्गतका विभिन्न सडक तथा पुल आयोजनाहरूमा तोकिएको र थपिएको समयमा समेत काम सम्पन्न नगरी करारीय दायित्व पूरा नगर्ने १६ वटा निर्माण व्यवसायीहरूसँगको ठेक्का सम्झौता सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ अनुसार अन्त्य गरिएको छ ।’