ब्राजिलियन मुख्य प्रशिक्षक कार्लोस एन्सेलोटीले जोखिम उठाएर चोटग्रस्त स्ट्राइकर नेमार जुनियरलाई विश्वकपको अन्तिम २६ टोलीमा समावेश गरेका थिए । एन्सेलोटीले नेमारलाई राख्दा ठुलो आलोचना सामना नगरेका होइनन् । फिट र युरोपियन लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई पाखा लगाएर नेमारलाई विश्वकप खेल्ने टोलीमा समावेश गरिएको हो ।
विश्वकपमा खेल्ने सपना पूरा गरेका नेमार मैदानमा उत्रन पाएका छैनन् । ब्राजिलले लगातार दुई खेल खेलिसक्दा उनी बेन्चमै छन् । अहिले ब्राजिलियन टोलीमा आबद्ध खेलाडीमध्ये सबैभन्दा ‘ट्रोल’ बनिएका पात्र नेमार हुन् । यसपटक उनको आलोचना गर्नेमा ब्राजिलकै राष्ट्रपति लुइज इनासियो छन् । ब्राजिलको रियोमा शनिबार स्कुलको कार्यक्रम आयोजना भएको थियो ।
राष्ट्रपति लुइसले खेलकुदको प्रसंग उठाउँदा नेमारप्रति लक्षित टिप्पणी गरे । सो कार्यक्रममा एक विद्यार्थीले ब्राजिलियन
पु्mटबलकै उत्कृष्ट खेलाडीका रूपमा नेमारको नाम लिएका थिए । त्यसपछि राष्ट्रपति लुइसले हाँस्दै ठट्टा गर्दै भने, ‘वर्क फ्रम होम खेलाडी नेमार’ हुन् । नेमार अहिले टोलीमा रहे पनि घरमै बसेर खेल्ने खेलाडीका रूपमा रहेको लुइसको भनाइ छ ।
‘पक्कै पनि नेमार हाम्रो ब्राजिलको टोलीमा छन् तर उसले खेलेका छैनन् । सधैँ बेन्चमै बसेका छन्,’ राष्ट्रपति लुइसले भने, ‘मैदानमै जान नपाउने र बेन्चमा बस्ने खेलाडीलाई घरमै फुटबल खेल्ने खेलाडी भन्नुपर्छ ।’ राष्ट्रपति लुइसले नेमार अब एआईको विश्वकप ११ बाट खेल्ने ठट्टा गरेका छन् । ब्राजिलियन टोलीबाट दुई वर्षपछि नेमारले स्थान बनाएका हुन् । पछिल्लो समयमा उनी शतप्रतिशत फिट छैनन् । साउदी प्रो लिगको अल हिलाल छाडेर उनी
आफ्नो घरेलु क्लब सान्तोसमा आबद्ध भएका थिए । यस सिजनमा उनको प्रदर्शन सन्तोषजनक छैन । तर, प्रशिक्षक एन्सोलोटीले अनुभवी खेलाडीका रूपमा उनलाई समावेश गरेका हुन् । अहिले पनि अभ्यास क्रममा उनको खुट्टा राम्रोसँग चलेको छैन । समूह ‘सी’मा ब्राजिलले मोरोक्को र हैटीसँगको खेल खेल्दा नेमार बेन्चमै थिए ।
ब्राजिलबाट सर्वाधिक ७९ गोल
नेमार ब्राजिलका लागि अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने फुटबलर हुन् । उनले राष्ट्रिय टोलीबाट सर्वाधिक ७९ गोल गरेका छन् । उनले सन् २०२३ मा बोलिभियाविरुद्ध गोल गर्दै पेलेको नाममा रहेको ७८ गोलको कीर्तिमान भंग गरेका थिए ।
सन् २०२२ फिफा विश्वकपमा उनले क्वार्टरफाइनलमा क्रोएसियाविरुद्ध गरेको गोल निकै चर्चित बनेको थियो । नेमारले सन् २०१० मा १८ वर्षको उमेरमा अमेरिकाविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए ।
फर्ममा नरहेका नेमारले बुधबार स्कटल्यान्डविरुद्ध हुने समूह चरणको अन्तिम खेल खेल्न सक्ने सम्भावना छ । ३४ वर्षीय नेमार पिँडुलाको चोटका कारण मैदानबाहिर छन् । उनले अन्तिमपटक १७ मेमा ब्राजिलको शीर्ष डिभिजन क्लब सान्तोसका लागि खेलेका थिए । प्रशिक्षक एन्सेलोटीले नेमारको पुनरागमन हु्न सक्ने बताए । ‘नेमारले अभ्यास गरिसकेका छन् । उनी टोलीका अन्य खेलाडीसँगै नियमित अभ्यासमा छन् । अब स्कटल्यान्डविरुद्धको खेलका लागि तयार छन्,’ एन्सोलोटीले भने ।