सिटिजन्स बैंक इन्टरनेसनलले म्याग्दीको रघुगंगा गाउँपालिका– २ स्थित राखु भगवती स्वास्थ्यचौकीलाई आवश्यक स्वास्थ्य सामग्री तथा स्वच्छ खानेपानी व्यवस्थापनका लागि पाइप सहयोग गरेको छ । उक्त सहयोग बैंकको बेनी शाखामार्फत गरिएको हो । बैंकले स्वास्थ्यचौकीलाई अस्पताल बेड, बेबी वार्मर, औषधि ट्रली तथा स्वच्छ खानेपानी आपूर्तिका लागि आवश्यक एचडिपिई पाइपसमेत हस्तान्तरण गरेको जनाएको छ ।
स्वास्थ्यचौकीको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा स्थानीय समुदाय, विशेषगरी विपन्न र सीमान्तकृत परिवारको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो । उक्त स्वास्थ्य चौकीले वडा नं १ र २ का ४३ सयभन्दा बढी स्थानीयलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । साथै, स्वास्थ्यचौकीमा सञ्चालन भइरहेको २४ घण्टे प्रसूति सेवा केन्द्रले ग्रामीण क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।
यो सहयोगले स्वास्थ्य संस्थाको भौतिक तथा सेवा पूर्वाधार सुदृढ भई मातृ तथा शिशु स्वास्थ्य सेवासहित समग्र स्वास्थ्य सेवाको गुणस्तरमा सकारात्मक योगदान पुग्ने विश्वास बैंकले लिएको छ । साथै, बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकलगायतका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने कार्यक्रम सञ्चालन गर्ने पनि जनाएको छ । बैंकले ६१ जिल्लाका दुई सय शाखा, एक सय ६९ एटिएम, तीन विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ एकाइबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।