एमएडब्लू अर्थमुभर्स र एभरेस्ट बैंकबिच रणनीतिक सहकार्य

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

एमएडब्लू अर्थमुभर्स प्रालि र एभरेस्ट बैंक लिमिटेडबिच सम्झौता भएको छ । यो सम्झौता जेसिबीका ग्राहकलाई सहज, छिटो तथा प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउन गरिएको हो । समझदारीपत्रमा एमएडब्लूका तर्फबाट सञ्जयदेव यादव तथा एभरेस्ट बैंकका तर्फबाट विनय खनालले हस्ताक्षर गरेका हुन् । 

रणनीतिक सहकार्यअन्तर्गत जेसिबीलगायतका निर्माण उपकरण खरिद गर्न इच्छुक ग्राहकले उपकरण मूल्यको अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् । यो सुविधा एभरेस्ट बैंकका देशभरका शाखामार्फत उपलब्ध हुने बताइएको छ ।

ऋण स्वीकृति प्रक्रियालाई थप सरल, छरितो तथा ग्राहकमैत्री बनाउने उद्देश्यले आवश्यक सम्पूर्ण कागजात पेस गरी प्रक्रिया पूरा भएको अवस्थामा सात कार्यदिनभित्र डेलिभरी अर्डर जारी गरिने व्यवस्था गरिएको बताइएको छ । यसले ग्राहकलाई समयमै उपकरण प्राप्त गर्न तथा व्यवसाय सञ्चालनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा दुवै पक्षले गरेका छन् । 

द्विपक्षीय सहकार्यले व्यावसायिक सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै निर्माण व्यवसायी, ठेकेदार तथा उद्यमीलाई आवश्यक उपकरण खरिदका लागि सहज वित्तीय पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ । 

See More On

सुझावित समाचार