अछाममा वडासदस्य मृत्यु प्रकरण : वडाध्यक्षसहित दुईजना पक्राउ

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

जबर्जस्ती करणी र आत्महत्या दुरुत्साहनको आरोपमा अछाम ढकारी गाउँपालिका– ४, बलाताका वडाध्यक्षसहित दुईजना पक्राउ परेका छन् । बलाताकी वडासदस्य मनीषा साउद मृत भेटिएको घटनामा वडाध्यक्ष पहलवान थापालाई मंगलबार र स्थानीय धर्मराज साउदलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । उनका अनुसार वडाध्यक्ष थापा आत्महत्या दुरुत्साहन र साउद जबर्जस्ती करणीको कसुरमा अनुसन्धानका लागि पक्राउ परेका हुन् ।

मृतक साउदका छोराले धर्मराजले जबर्जस्ती करणी र आत्महत्या गर्न बाध्य बनाएको आरोपमा मंगलबार नै किटानी जाहेरी दर्ता गराएका थिए । गत २८ जेठमा धर्मराज र मृतक मनीषालाई स्थानीयले मनीषाकै घरबाट नियन्त्रणमा लिएका थिए । त्यो राति वडाध्यक्ष थापा, निवर्तमान वडाध्यक्ष भक्तबहादुर बुढासहितकाले छलफल गरेर प्रहरीमा उजुरी नदिने र भारतमा रहेका मनीषाका श्रीमान् नआउन्जेल दुवैको जिम्मा वडा कार्यालयले लिने सहमति भएको थियो । त्यसको भोलिपल्टै मनीषा बेपत्ता भइन् ।

उनी हराएकोबारे वडाध्यक्ष थापा र मृतकका ससुराले ढकारी प्रहरी चौकीमा खोजतलास गरिदिन निवेदन दिएका थिए । तर, गत आइतबार मनीषा रुखमा झुन्डिएको अवस्थामा भेटिइन् । त्यसपछि धर्मराजलाई त्यही दिन र वडाध्यक्षलाई पीडित पक्षले जाहेरी दर्ता गराएपछि मंगलबार पक्राउ गरिएको हो । मृतक मनीषाको शव पोस्टमार्टमपछि उनका श्रीमान्को जिम्मा लगाइएको छ । पक्राउ परेका साउदको पनि मेडिकल जाँचलगायत अन्य स्वास्थ्य परीक्षण भइरहेको प्रहरीले जनाएको छ ।

See More On

सुझावित समाचार