- इबोला भाइरस प्रभावित अफ्रिकी राष्ट्र कंगोका खेलाडी र समर्थकबाट रोग सर्न सक्ने अमेरिकी अनुमान
३२ वर्षपछि विश्वकप फुटबल आयोजना गर्ने अवसर पाएको अमेरिकाले प्रतियोगिता भव्य बनाउन प्रयास गरिरहेको छ । राष्ट्रलाई सुरक्षित बनाउन भिसामा कडाइ, आर्थिक रूपमा सबल बनाउन भौतिक संरचनामा लगानी गरेको छ । अमेरिकाले सन् १९९४ को भन्दा अहिलेको विश्वकप आयोजना उत्कृष्ट हुने दाबी गरेको छ । यति हुँदाहुँदै अमेरिकालाई एउटा पक्षमा डर लागेको छ । ५२ वर्षपछि विश्वकपमा स्थान बनाएको अफ्रिकी राष्ट्र कंगोबाट उसलाई सबैभन्दा ठुलो डर उत्पन्न भएको छ । कंगोबाट अप्रत्याशित नतिजा व्यहोर्ने डर अमेरिकालाई छैन । खेलाडी, अफिसियल तथा समर्थकबाट ‘इबोला’ भाइरस सर्ने अनुमान गरेको छ ।
पछिल्लो समय कंगोमा इबोला भाइरस फैलिएको छ । भाइरसले केहीको ज्यान पनि गएको छ । कंगोमा भाइरस फैलिरहँदा खेलाडीले त्यहीँ नै अभ्यास गरेका थिए । विश्वकप सुरु हुनुभन्दा एक साताअघि मात्र कंगो टोली अमेरिका प्रवेश गरेको थियो । अहिलेसम्म इबोला भाइरसको कुनै संकेत देखिएको छैन ।
विश्वकपकै प्रमुख आयोजक अमेरिकाले इबोला भाइरसविरुद्ध लड्न सबै तयारी गरेको छ । विश्वकप आयोजना हुने सहरमा हेल्प डेक्स स्थापना गरिएको छ । ‘कंगोमा इबोला भाइरस फैलिरहेको छ । उनीहरूका खेलाडी विश्वकपमा छन् । हामीलाई भाइरस सर्ने हो कि भन्ने डर छ,’ अमेरिकी एजेन्सीहरूले जनाएका छन्, ‘यद्यपि, यसको तयारी अमेरिकाले गरेको छ, तर भाइरस फैलिँदा यसको प्रभाव विश्वकपमा पर्न सक्छ ।’ सन् २०१४ मा पश्चिम अफ्रिकाबाट इबोला भाइरस सुरु भएको हो । त्यसवेला थोमस एरिक डुनक्यान इबोला भाइरसबाट संक्रमित हुँदा डालास अस्पतालमा उपचार गर्न पुगेका थिए । तर, उनलाई अस्पताल प्रशासनले भर्ना लिएन । उनलाई त्यत्तिकै घर फर्काइएको थियो । उनी अस्पतालमा रहँदा प्रारम्भिक उपचार भएको थियो । सामान्य उपचार गर्ने दुई नर्स इबोला भाइरसबाट संक्रमित भएका थिए । उनीहरू पनि केही साताको ‘आइसोलेसन’पछि निको भए ।
‘हामीले शतप्रतिशत इबोला रोकथाम तयार सक्दैनौँ, तर संक्रमणविरुद्ध लड्न तयार छौँ,’ एटलान्टा एमोरी विश्वविद्यालयका सरुवारोग विशेषज्ञ तथा डा. गाबिन ह्यारिसले भने, ‘विश्वकपमा यस भाइरस फैलन नदिन तयारी अवस्थामा छौँ ।’ सन् २०१४ पछि अमेरिकाले इबोला भाइरस नियन्त्रण गर्न २६० मिलियन पाउन्ड जम्मा गरेको छ । उसले १३ वटा विशेष किसिमका उपचार केन्द्र स्थापना गरेको छ । इबोलालाई निको पार्न आइसोलेसन र विभिन्न सुरक्षित स्थान बनाइएको ह्यारिसले बताए ।
तीनवटै आयोजक राष्ट्रमा तयारी
इतिहासमै पहिलोपटक तीन राष्ट्रले विश्वकप आयोजना गरिरहेका छन् । अमेरिका, मेक्सिको र क्यानडाका विभिन्न १६ सहरका १६ रंगशालामा विश्वकप चलिरहेको छ । यसपटक ४८ राष्ट्रको सहभागिता रहँदा १०४ खेल हुनेछन् । अझ अमेरिकाका ११ रंगशालामा विश्वकप भइरहेको छ । तीमध्ये एटलान्टा पनि एक हो । यस रंगशालामा कंगोको खेल छ । कंगोका खेलाडीले प्रतिस्पर्धा गर्दा भाइरसको त्रास रंगशालामा फैलिन सक्छ । कंगोका समर्थक रंगशालामा अवश्य पुग्नेछन् । खेलाडीलाई विशेष सुरक्षा घेरामा राखिँदा कंगोका समर्थक भने स्वतन्त्र छन् । यद्यपि, अमेरिकाले समर्थकको पनि स्वास्थ्य परीक्षणपछि रंगशालामा प्रवेश दिइने जनाएको छ । तत्काल भाइरसको प्रभाव नदेखिए पनि केही सातापछि रोग सर्न सक्ने डा. ह्यारिसले बताए । ‘रंगशालामा कंगोका समर्थक पनि हुनेछन् । उनीहरूबाट भाइरस सर्न सक्ने अनुमान छ,’ उनले भने, ‘यसकारण सचेत हुनुपर्ने अवस्था आएको छ ।’ ३९ दिनसम्म चल्ने विश्वकपमा ६.५ मिलियन दर्शक उपस्थित हुने फिफाले जनाएको छ । विश्वकपका समर्थकबाट सर्न सक्ने इबोला भाइरसविरुद्ध लड्न जनस्वास्थ्य अधिकारी र अस्पतालले विभिन्न संक्रामण रोगको सम्भावित तयारी गरिरहेका छन् । अमेरिकाको सिडिसी संस्थानले विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा इबोला भाइरस रोकथामका लागि विशेष रणनीति बनाएको जनाएको छ ।
कंगोमा इबोलाबाट ६७५ को मृत्यु
इबोला भाइरसबाट कंगोमा अहिलेसम्म ६७५ जना व्यक्तिले ज्यान गुमाएका छन् । विश्व स्वास्थ्य संगठनले १३५ जना संक्रमित भएको जनाएको छ । ‘कंगोमा यो भाइरस आक्रामक रूपमा विस्तार भइरहेको छ ।
भाइरसका कारण ज्यान गुमाउने संख्या पनि बढेको पाइएको छ,’ सिडिसीको विज्ञप्तिमा भनिएको छ, ‘हामीले कंगोका खेलाडी र समर्थकलाई सामान्य रूपमा लिन मिल्दैन । विश्वकपमा यो भाइरस सर्न सक्ने सम्भावना छ । भाइरस लागेका व्यक्तिसँगै रहँदा पनि सर्न सक्छ ।’ सिडिसीका प्रमुख डा. टोम फ्रेन्डेनले अमेरिकाले शून्य अवस्थाबाट यसको रोकथाम गर्नुपर्ने सुझाव दिएका छन् ।