नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशकमा पदपूर्ति गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवेदन खुलाएको छ। मंगलबार एक सूचनामार्फत खुलाएको विज्ञापनमा योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिने समयसीमा तोकिएको छ।
मन्त्रालयले पुरानै कार्यविधिअनुसार विज्ञापन खुलाएको हो। ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन पाउने व्यवस्था गरिएको छ। तर, यसपटक आवेदन माग गर्दा चार वर्षमा गर्न सक्ने कामहरूको ढाँचासमेत बुझाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ। यस्तो व्यवस्थाका कारण नयाँ कार्यकारी निर्देशकलाई चारवर्षे कार्यकाल तोकेर नियुक्ति दिन सक्ने मन्त्रालयले संकेत गरेको छ।
कार्यकारी निर्देशक नियुक्तिका लागि आवेदन दिने उम्मेदवारहरूले कार्ययोजना बनाउँदा पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्री-वितरण, मूल्य समायोजन तथा गुणस्तर, सम्पत्ति तथा जनशक्ति व्यवस्थापन, निजी क्षेत्रसँगको समन्वय र सहकार्य, निगमको पूर्वाधार निर्माण एवं विकास, प्रविधिको उपयोग र सुशासन तथा संस्थागत विकासका क्षेत्रमा चारवर्षे योजना पेस गर्नुपर्ने मापदण्ड तोकिएको छ।
त्यस्तै, इथानोललगायतका वैकल्पिक ऊर्जाका स्रोतको विकास र उपयोगसम्बन्धी स्पष्ट दृष्टिकोण र अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन सुधारका रणनीतिक योजनासमेत पेस गर्नुपर्ने सर्त तोकिएको छ। एआई प्रविधिको सहयोगमा व्यावसायिक कार्ययोजना निर्माण गरेको पुष्टि भए आवेदन रद्द हुने मन्त्रालयले जनाएको छ।
गत ३० वैशाखमा तत्कालीन कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले राजीनामा दिएपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढेको हो।