कोशी प्रदेशले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको छ । सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले चालू आवको भन्दा १३ प्रतिशत ठुलो बजेट प्रस्तुत गरेका हुन् ।
त्यसमा पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख, चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख र वित्तीय व्यवस्थातर्फ १५ करोड बजेट विनियोजन गरिएको छ । वित्तीय हस्तान्तरणतर्फ भने पाँच अर्ब ५६ करोड १६ लाख बजेट छुट्याइएको छ । चालू आवमा कोशी प्रदेशको ३.१३ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान गरिएकोमा आगामी आवमा पाँच प्रतिशतको लक्ष्य राखेको छ ।
कोशीले आन्तरिक राजस्वबाट पाँच अर्ब ५० करोड र राजस्व बाँडफाँटबाट १२ अर्ब ८७ करोड स्रोत प्राप्ति हुने अनुमान गरेको छ । यसैगरी, संघीय अनुदानतर्फ वित्तीय समानीकरणबाट नौ अर्ब १२ करोड, ससर्तबाट पाँच अर्ब ९५ करोड, समपूरकबाट ६४ करोड, विशेषबाट ५५ करोड, रोयल्टीबाट ४१ करोड र सोझै भुक्तानीबाट २० करोड प्राप्ति हुने अनुमान गरिएको छ । चालू आवबाट पाँच अर्ब मौज्दात रहने अनुमान पनि गरिएको छ । कोशीले आफ्नामातहतका कर्मचारीलाई साताको दुई दिन अनिवार्य कोशी प्रदेशमै उत्पादन हुने अल्लो, ढाकालगायतका कपडाहरूको पोसाक लगाउन प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ ।