बेलायतमा १६ वर्षमुनिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाइएको छ । प्रधानमन्त्री केअर स्टारमरले सोमबार उक्त घोषणा गरेका हुन् । सन् २०२७ को सुरुदेखि प्रतिबन्ध कार्यान्वयनमा ल्याइनेछ ।
स्न्यापच्याट, टिकटक, युट्युब, इन्स्टाग्राम, फेसबुक र एक्सजस्ता प्लाटफर्ममा प्रतिबन्ध लगाए पनि ह्वाट्सएप प्रभावित हुनेछैन । ‘पूर्ण प्रतिबन्ध सही विकल्प हो । म हाम्रा बालबालिकाको सुरक्षा र खुसीमा सम्झौता गर्न तयार छैन,’ स्टारमरले टेलिभिजनमा प्रसारित एक विज्ञप्तिमा भने । प्रतिबन्ध लगाउने घोषणाले मिश्रित प्रतिक्रिया ल्याएको छ । केहीले सरकारी कदमको स्वागत गरेका छन् भने कतिपय अभिभावक रुष्ट बनेका छन् । केही आलोचकले सरकारले सूचनाको हकमा अंकुश लगाएको प्रतिक्रिया दिएका छन् ।
प्रधानमन्त्रीले ‘देशका बालबालिकाको सुरक्षा र खुसी’मा सम्झौता नगर्ने बताएका छन् । उनले प्लेटफर्महरूलाई ‘लत लाग्ने गरी डिजाइन गरिएको’ र ‘त्यहाँ घन्टौँसम्म बन्दी बनाउने’ सुविधा रहेको आरोप लगाएका छन् ।
गत डिसेम्बरमा यस्तै प्रतिबन्ध लगाउने अस्ट्रेलिया विश्वको पहिलो देश बनेको थियो । सरकारले अस्ट्रेलियाबाट सिकेको छ र बेलायतको नयाँ कदमसँगै विश्वका अन्य देशले पनि अनुसरण गर्ने आशा व्यक्त गरे । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आफ्ना बेलायती समकक्षी स्टारमरलाई ‘महत्वपूर्ण कदम’ चालेकोमा बधाई दिए । तर, बिबिसीकी संवाददाता टिफनी टर्नबुलका अनुसार अस्ट्रेलियाली प्रतिबन्धको ६ महिना बितिसक्दा पनि यसलाई लागू गर्नु ‘अविश्वसनीय रूपमा गाह्रो’ छ, किनकि हालै गरिएको एक सर्वेक्षणमा ७० प्रतिशत अभिभावकले आफ्ना बच्चा अझै पनि प्रतिबन्धित प्लेटफर्ममा रहेको स्विकारेका छन् ।
युट्युब, मेटा र स्न्यापच्याट प्रतिबन्धले युवालाई ‘कम सुरक्षित’ प्लाटफर्मतिर धकेल्न सक्ने प्रतिक्रिया उनीहरूले दिएका छन् । मलेसिया र इन्डोनेसियाले पनि सामाजिक सञ्जालमा १६ वर्षमुनिका बालबालिकालाई प्रतिबन्ध लगाइसकेका छन् । त्यसैगरी फ्रान्स, क्यानेडा, डेनमार्कलगायत देशले बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानुन निर्माणको तयारी गरिरहेका छन् ।