संसदमा पनि अर्थमन्त्रीको प्रस्टीकरण

शुक्रबार, २९ जेठ, २०८३
डिजिटल संस्करण
  • विपक्षीले लगाएको आर्थिक विधेयक संशोधन आरोपको प्रतिवाद गर्दै अर्थमन्त्रीले भने– स्वर्णिम वाग्लेले करको दर चलाएर व्यापारी पोस्यो भन्नेजस्ता आरोप सुनिए । सुशासनलाई मूल एजेन्डा बनाएको सरकारले जनताको विश्वासमाथि धोका दिन सक्दैन

आगामी आर्थिक वर्ष ०८३/८४ को बजेटमाथि बिहीबारको संसद् बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले रक्षात्मक देखिएका छन् । आफूमाथि आर्थिक विधेयक संशोधन र सूचना चुहाएर व्यवसायीलाई लाभ दिएको भन्दै सांसदहरूले गरेका प्रश्नको उनले आत्मविश्वासका साथ खण्डन गरेका छन् । 

बजेटमार्फत व्यापारीलाई फाइदा पुर्याइएको भन्ने आरोपको प्रतिवाद गर्दै उनले भने, ‘स्वर्णिम वाग्लेले करको दर चलाएर व्यापारी पोस्यो भन्नेजस्ता आरोप सुनिए । सुशासनलाई मूल एजेन्डा बनाएर अगाडि बढेको सरकारले दुई महिनामै जनताको विश्वासमाथि धोका दिन सक्दैन ।’ बिहीबार बिहान बसेको सार्वजनिक लेखा समितिमा पनि सोही कुरा राखेको जानकारी गराउँदै उनले भ्रष्टाचारको कुनै प्रमाण भेटिए राजनीतिक र सार्वजनिक जीवन नै त्याग्न तयार रहेको चुनौती दिए । ‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्र पनि बदमासी वा बेइमानी मबाट भएको प्रमाणित हुन्छ भने म मन्त्री पद त्यागिदिन्छु, सार्वजनिक जीवन नै त्याग्न पनि तयार छु,’ उनले भने ।

आफूमाथि उठाइएका आरोपहरूको यथार्थ संसद् र जनतासामु राख्न चाहेको बताउँदै अर्थमन्त्री वाग्लेले केही समयअघि नै यस विषयमा संसद्मा बोल्न चाहेको भए पनि अवसर नपाएको बताए । शिक्षा क्षेत्रमा यस वर्षको सबैभन्दा महत्वपूर्ण र दीर्घकालीन सुधारको आधार तयार गरेको उनले बताए ।

आर्थिक विधेयकमा मनलाग्दी हेरफेर भएको कांग्रेसको आरोप
कांग्रेस सचेतक निष्कल राईले विज्ञ अर्थमन्त्री भए पनि करका दरहरूमा मनलाग्दी हेरफेर गरेर संसद्को अवमूल्यन गरेको बताए । उनले संसद्को अधिकारमाथि नै कैँची चलाउने प्रयत्न भएको आरोप लगाए । ‘अर्थमन्त्रीले करका दरहरूमा बारम्बार हेरफेर गर्नुभयो । के उहाँले संसद्को अधिकारमा कैँची चलाउनुभएको हो ?’ उनले प्रश्न गर्दै भने ।

सुझावित समाचार