पश्चिम बंगालमा हालै सम्पन्न विधानसभा चुनावमा बहुमत गुमाएको तृणमूल प्रमुख ममता बनर्जीको समस्या बढेकोबढ्यै छ । अहिले आएर लोकसभामा रहेका उनका २८ सांसदमध्ये २० जनाले भाजपा नेतृत्वमा रहेको ‘एनडिए (नेसनल डिभेलपमेन्ट डेमोक्रेटिक अलाइन्स)’मा सामेल हुन चाहेको बताएको छ ।
भर्खरै तृणमूल कंग्रेसकी लोकसभा सचेतकको पदबाट हटाइएपछि पार्टीसँग असन्तुष्ट रहेकी काकोली घोष दस्तिदारले असन्तुष्ट पक्षको नेतृत्व गरेकी छन् । उनले जनताको पछिल्लो फैसलालाई ध्यानमा राखेर ‘एनडिएसँग मिलेर अघि बढ्ने’ बताइन् । दस्तीदारसँग लगभग तृणमूल कंग्रेसका अन्य २० जना सांसद रहेको बताइएको छ । ‘लोकसभाका सभामुख ओम बिर्लालाई पत्र लेखेर औपचारिक रूपमा एनडिएको हिस्सा बन्ने इच्छा व्यक्त गर्ने निर्णय गरेका छौँ,’ घोष दस्तिदारले सोमबार पत्रकारलाई भनिन् । बनर्जीसँग असहन्तुष्ट विद्रोही तृणमूल सांसद शर्मिला सरकारले पनि आफूहरूसँग २० जना सांसदको साथ रहेको र यसको अलग समूह बनाई एनडिएमा सामेल हुने बताइन् । ‘काकोली घोष दस्तिदार हाम्रो (समूह)की प्रमुख सचेतक हुन् र शताब्दी रोय हाम्रा उपनेता हुनेछन्,’ शर्मिलाले भनिन् ।
लोकसभामा देखिएको पछिल्लो विवादअघि पश्चिम बंगाल राज्यको विधानसभामा पनि विद्रोही रिताव्रत बनर्जीको नेतृत्वमा ५८ जना तृणमूल पार्टीका विधायकले अलग समूह गठन गर्दै आफूहरू वास्तविक तृणमूल भएको दाबी गरे । राज्यका विधानसभा अध्यक्षले रिताव्रत बनर्जीकै दाबीलाई स्वीकार गरिदिएका छन् । बंगाल राज्य विधानसभा चुनाव नतिजा घोषणा भएको एक महिनापछि, तृणमूल कंग्रेस पार्टीले एकपछि अर्को समस्या झेलिरहेको छ ।
पहिले नेतृत्वको प्रशंसा गरेर नथाक्ने नेताहरू पार्टी नेतृत्वविरुद्ध खुलेआम बोल्न थालेका छन् । र, ठुलो संख्याका दोस्रो तहका नेता र झन्डै १०० जना स्थानीय निकायका सदस्य (काउन्सिलरहरू)ले पार्टीबाट राजीनामा दिएका छन् ।