अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले स्ट्रेट अफ हर्मुजनजिकै अमेरिकी सेनाको हेलिकोप्टर खसालेको आरोप लगाएको केही समयपछि अमेरिकाले बुधबार इरानमाथि हवाई आक्रमण गर्यो ।
जवाफमा इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी)ले कुवेत, बहराइन र जोर्डनमा रहेका २१ अमेरिकी सैन्य आधार क्षेत्रमा आक्रमण गरेको दाबी गरेको छ ।
यसले पुनः पश्चिम एसियामाको तनाव बढ्ने हो कि भन्ने डर बढाएको छ, जसले अप्रिल ८ देखि कार्यान्वयनमा रहेको नाजुक युद्धविरामलाई खतरामा पार्न सक्छ । अमेरिकी सेनाको ‘अपाचे युद्धक हेलिकोप्टर’ खसालिएको एक दिनअघि मात्र अप्रिल ८ पछि पहिलोपटक इरान र इजरायलबिच मिसाइल हानाहान भएको थियो ।
इजरायलले इरानमाथि आक्रमण नरोकेपछि सोमबार नै ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई चेतावनी दिँदै इजरायलले लेबनान र इरानमाथि आक्रमण जारी राख्यो भने उनले अमेरिकी समर्थन गुमाउन सक्ने बताए ।
इजरायली सेनाले आफ्नो भूमिमा तेहरानको मिसाइल आक्रमणको बदलामा इरानका पश्चिमी तथा मध्य भागमा रहेका सैन्य क्षेत्रमा आक्रमण गरेको थियो । ट्रम्पको हस्तक्षेपछि इजरायल र इरान दुवै सोमबार आक्रमण रोक्न सहमत भएका थिए ।
यसअघि अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण सुरु गरेका थिए । वासिंटनले इजरायलको सुरक्षाको ‘ग्यारेन्टर’ प्रदायकका रूपमा काम गर्छ । त्यसपछि इरानले इजरायली सहर र छिमेकी खाडी देशमा रहेका अमेरिकी सैन्य अड्डामा आक्रमण गरेर बदला लिएको थियो ।