चिकित्सकलाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ, सहमतिविना बिरामीका कुनै पनि विवरण राख्न नपाइने

बुधबार, २७ जेठ, २०८३
डिजिटल संस्करण

नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूलाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेको छ । आठबुँदे आचारसंहिता प्रयोग गर्दै सामाजिक सञ्जालमार्फत स्वास्थ्यसम्बन्धी सूचना तथा परामर्श प्रवाह गर्ने चिकित्सकमाथि कडाइ गरेको छ । काउन्सिलले सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चारमाध्यमको प्रयोगसम्बन्धी  आचारसंहिता जारी गर्दै चिकित्सकको गतिविधि नियमन गर्न लागेको हो ।

हाल कतिपय चिकित्सकले आफ्नो चिकित्सकीय विशेषज्ञताभन्दा बाहिर गएर स्वास्थ्यसम्बन्धी सूचना प्रवाह गरेको, बिरामीमा त्रास पैदा गरेको, सामाजिक सञ्जालमा भ्युजलाई जथाभावी प्रस्तुत भएको भन्दै काउन्सिलले कडाइ गरेको हो । अब चिकित्सकले काउन्सिलको आचारसंहिता पूर्ण रूपमा पालना गर्नुपर्नेछ । काउन्सिलले जारी गरेको आठबुँदे आचारसंहितामा मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले सामाजिक सञ्जालमा आफ्नो परिचय दिँदा काउन्सिलको दर्ता प्रमाणपत्रमा उल्लेखित उपाधि मात्र प्रयोग गर्नुपर्नेछ । तर, विशेषताभन्दा बाहिर गएर परामर्श दिन पाउनेछैनन् । 

त्यस्तै, तथ्यपरक सामग्री मात्र राख्ने, स्वास्थ्यसम्बन्धी पोस्ट, लेख वा सामग्री तथ्य र प्रमाणमा आधारित हुनुपर्ने, वैज्ञानिक आधार भएका सूचना दिने, उपचारसम्बन्धी जानकारी वैज्ञानिक रूपमा प्रमाणित हुनुपर्ने र सम्भव भएसम्म सन्दर्भ स्रोत उल्लेख गर्नुपर्ने आचारसंहितामा उल्लेख छ । त्यस्तै, बिरामीको गोपनीयता कायम गर्नुपर्नेछ । बिरामीको सहमतिविना जानकारी सार्वजनिक गर्न पाइनेछैन । परामर्शको अभिलेख राख्ने, गालीगलौज वा अपमानजनक भाषा प्रयोग नगर्ने, पेसागत मर्यादा कायम राख्नुपर्ने, चिकित्सकको पद र पेसाको गरिमाविपरीत अभिव्यक्ति वा गतिविधि गर्न नपाइनेलगायत विषय आठ बुँदामा उल्लेख छन् । काउन्सिलले अनलाइन स्वास्थ्य परामर्श र टेलिमेडिसिन सेवाका विषयमा पनि स्पष्ट व्यवस्था पारेको छ । अनलाइनमार्फत दिइने सुझाव तथा परामर्शको लिखित अभिलेख राख्नुपर्नेछ । रोगको निदान तथा उपचार अनलाइन माध्यमबाट सहज नहुने देखिएमा बिरामीलाई प्रत्यक्ष स्वास्थ्य परीक्षणका लागि सिफारिस गर्नुपर्नेछ । 
 

सुझावित समाचार