विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गर्नुपर्ने माग गर्दै लामो समयदेखि सरकारलाई दबाब दिँदै आएका महावीर पुन अन्ततः सोही मन्त्रालयको मन्त्री बनेका छन् । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पुनले निरन्तर उठाउँदै आएको मागअनुसार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गर्दै यसको नेतृत्व पनि उनैलाई सुम्पिएको छ ।
मंगलबार पद तथा गोपनीयताको शपथ लिएपछि पुनले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् । आफूले परिकल्पना गरेको मन्त्रालयको जिम्मेवारी पाएको भन्दै उनले अब आफ्नो सोच, अनुभव र दृष्टिलाई विज्ञान, प्रविधि र नवप्रवर्तनको विकासमा केन्द्रित गर्ने बताएका छन् ।
पदभार ग्रहण गर्दै उनले मन्त्रालयको प्रारम्भिक संगठनात्मक संरचना (ओएनएम)सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् । मन्त्रालयको कानुनी, प्रशासनिक तथा संस्थागत आधार शून्यबाट निर्माण गर्नुपर्ने भएकाले पहिलो प्राथमिकता त्यसैमा केन्द्रित हुने उनले बताए ।
‘यो नयाँ मन्त्रालय हो । यसको ऐन, नियम र संरचना सबै नयाँ बनाउनुपर्छ । ओएनएम तयार गरेर शून्यबाट मन्त्रालय सञ्चालन गर्ने हो,’ पुनले भने, ‘मन्त्रालय कसरी चलाउने, कस्तो टिम बनाउने र कुन–कुन क्षेत्रमा काम गर्ने भन्ने विषयमा भोलिदेखि नै टोली बनाएर काम सुरु गर्छौँ ।’
विज्ञान र प्रविधिको विकासका लागि परम्परागत शैलीले मात्र नपुग्ने भन्दै उनले द्रुत गतिमा काम गर्नुपर्ने आवश्यकता औँल्याए । ‘विज्ञान–प्रविधिको विकासका लागि ढिलो–ढिलो हिँडेर गन्तव्यमा पुगिँदैन । दिनरात खटेर तीव्र गतिमा काम गर्नुपर्छ,’ उनले भने ।
आफू लामो समय मन्त्रालयमा बस्ने पक्षमा नरहेको पनि पुनले स्पष्ट पारे । ‘सरकारको कार्यकाल पाँच वर्षको भए पनि म तीन वर्षभन्दा बढी पदमा बस्ने सोचमा छैन । नयाँ पुस्ताका युवा नेतृत्वलाई अवसर दिनुपर्छ । अहिलेको प्राथमिकता भनेको मन्त्रालयको जग बलियो बनाउनु हो,’ उनले भने ।
यसअघि सुशीला कार्की सरकारमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका उनी मन्त्रालय छाडेर चुनावमा होमिएका थिए । पुन स्वतन्त्र उम्मेदवारको रूपमा म्याग्दीबाट निर्वाचित भएका थिए । निर्वाचित भएपछि उनले आफ्नो क्षेत्र र अनुभवअनुसारको मन्त्रालय हुनुपर्ने माग गर्दै आइरहेका थिए ।
यसअघि शिक्षा मन्त्रालयअन्तर्गत विज्ञान प्रविधिलाई राखिएको थियो । तर, विज्ञान प्रविधि क्षेत्र ओझेलमा पारिएको भन्दै पुनले गुनासो पोख्दै आइरहेका थिए । मन्त्रालय पुनर्गठनका क्रममा सरकारले केही मन्त्रालयलाई मर्ज गर्नुका साथै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय बनाएको हो ।
नेपाल सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयअन्तर्गत करिब चार अर्ब रुपैयाँ बजेट विनियोजन पनि गरेको छ ।